प्रधानमन्त्रीले पद छाड्नुपर्छ भन्नेबारे सचिवालय र स्थायी कमिटीमा छलफल हुनुपर्छ : भीम रावल 

नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पार्टीको सचिवालय र स्थायी कमिटीको बैठक बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले पद छाड्नेबारे छलफल हुनुपर्ने बताएका छन् । उनले आफूहरूले मन्त्री र मुख्य मन्त्री नमागेको बताउँदै त्यस्तो प्रस्ताव प्रधानमन्त्रीका तर्फबाट आउँदा पनि नआएको प्रष्ट पारे । 

बिएल नेपाली सेवासँगको कुराकानीमा नेकपा स्थायी कमिटी सदस्य रावलले भने, ‘हामीले पावर शेयरिङको केही पनि माग गरेका छैनौँ । अहिले सचिवालय र स्थायी कमिटीका अधिकांश सदस्यहरु सबैको अब उहाँ (केपी शर्मा ओली) ले मार्ग प्रशस्त गर्नुपर्छ, उहाँ पछि हट्नुपर्छ, उहाँले पद छाड्नुपर्छ भन्ने जुन धारणा छ, यसबारे समीक्षा गरौँ भनेका छौँ ।’

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा सोमबार भएको अनौपचारिक छलफलमा प्रधानमन्त्री ओलीका प्रतिनिधिका रूपमा आएका नेताहरूबाट ‘पावर शेयरिङ’ कुनै प्रस्ताव नआएको पनि उनले बताए । ‘उहाँहरुले कुनै ठोस प्रस्ताव ल्याउनुभएको छैन, यो कुनै वार्ता टोली पनि होइन’, रावलले भने, ‘उहाँहरू वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न आउनुभो । उहाँ (नेपाल) ले आउनुस् न त भनेर छलफल गरेको हो । हामीले मन्त्री पद र केहीको माग गरेका पनि छैनौँ । त्यो गलत हो ।’

‘सचिवालयको बैठक तुरुन्त बोलाइयोस् । यो गम्भीर कुरा अध्यक्षबाट किन आयो ? त्यसमा समीक्षा गर्नुपर्छ । स्थायी कमिटीको बैठक बोलाउनुपर्छ भन्ने हाम्रो माग हो’, उनले भने, ‘हामीले पावर शेयरिङको केही पनि माग गरेका छैनौँ ।’

आफूहरुले कुनै मन्त्री पद, मुख्यमन्त्री या केहीको लागि माग नगरेको बताउँदै रावले भने, ‘त्यो आवश्यक पनि होइन । हामी त पार्टीलाई बचाउन चाहन्छौँ किनभने पार्टी धेरै विकृतिको जञ्जालमा फस्यो । पार्टी जनताको बीचमा अलोकप्रिय हुँदै जान थाल्यो । हामीलाई त्यो कुराको चिन्ता भएर पार्टीको बैठकको माग गरेका छौँ । त्यसमा मन्त्रीसन्त्रीको कुराको कुनै अर्थ पनि छैन ।’

प्रधानमन्त्रीका प्रतिनिधिका रुपमा आएका नेताहरुले त्यस्तो प्रस्ताव नराखेको बताउँदै भने, ‘ वार्ता टोली भनेर वार्ता गरेको पनि होइन ।’

वरिष्ठ नेता नेपालको निवास, कोटेश्वरमामा प्रधानमन्त्रीका तर्फबाट सोमबार उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली छलफलका लागि पुगेका थिए । नेपालले स्थायी कमिटी सदस्यहरु रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई पनि छलफलका लागि डाकेकाले निकासबारे अनौपचारिक छलफल मात्र गरेको उनले जानकारी दिए ।  

प्रकाशित मिति: : 2020-04-28 08:17:02

प्रतिकृया दिनुहोस्