लकडाउनका थप कडाई गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
लकडाउन खुकुलो भएको भन्दै कोरोना भाइरसको संक्रमण फैलिन नदिन मन्त्रालयले थप कडाइ गर्न निर्देशन दिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता सह-सचिव केदारनाथ शर्माले बिना पास र अत्यावश्यक कामबाहेकका कुनै पनि सवाधी साधनमा कडाई गर्न परिपत्र जारी गरिएको जानकारी गराए।
‘पछिल्लो समय लकडाउन खुकुलो भएको हो कि भन्ने पाइयो। त्यसैले लकडाउनको पूर्ण पालना गराउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र पठाएका हौं,’ उनले भने।
पछिल्लो एक सातायता देशका विभिन्न क्षेत्रबाट आफ्नो घरतर्फ जाने मजदुरलगायतका लागि अघोषित रुपमा बसहरु सञ्चालन गर्न दिइएको थियो।
बीचबाटोमा पुगेका र विचल्लीमा परेका मजदूर र सर्वसाधारणलाई उद्धारका लागि साँझको समयमा केही दिन सवारी सञ्चालनमा अनौपचारिकरुपमा खुकुलो गराइएकाले अधिकांशको उद्धार भइसकेको गृह मन्त्रालयको ठहर छ। त्यसैले मन्त्रालयले आजदेखि पासविनाका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउन दिएको हो।
हुलमूलका साथ सवारी साधनमा यात्रा गर्दा कोभिड– १९ सङ्क्रमण भएर थप जटिलता निम्त्याउनसक्ने खतरालाई ध्यानमा राखेर उक्त निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
यसअघि महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले बाहिरबाट आएका कुनै पनि नागरिकलाई उपत्यका प्रवेश गर्न नदिने बताइसकेका छन्।
अत्यावश्यक काम पर्दा र काठमाडौंमा बस्न असहज भएका केही बाहिर गए पनि भित्रिन नदिने राज्यको नीति भएको भन्दै डीआईजी पोखरेलले बाहिरबाट आएकालाई ‘इन्ट्री’ नभएको बिएल नेपाली सेवासँग बताए। ‘अत्यावश्यक काम परेका नागरिक भित्रनु परेमा हामीले त्यस्ताको पहिचान गरेर स्वास्थ्य परीक्षण पश्चात क्यारेनटाइनमा राख्ने गरेका छौ, बाँकीलाई इन्ट्री छैन,’ उनले भने।
काठमाडौं भित्रने नाका थानकोट, भक्तपुर, बल्खुलगायतका क्षेत्रमा प्रहरीले कडाई गरेको उनले जानकारी दिए।
पछिल्लो समय काठमाडौंसहित मुलुकका विभिन्न सहरमा रहेका मानिसहरू लकडाउन बढेसँगै समस्यामा परेको भन्दै विभिन्न निकाय र पालिकहरूले फिर्ता लान थालेका छन्।
यसबाट जोखिमको सम्भावना थप बढ्ने भन्दै सबै ७७ वटै जिल्लालाई गृह मन्त्रालयले कडाई गर्न निर्देशन दिएको हो।
चैत ११ गतेदेखि मुलुक लकडाउनमा छ। आइतबार बसेकोम मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि २५ वैशाखसम्म थप्ने निर्णय गरेको छ।नेपालमा हालसम्म ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिए पनि १६ जना निको भएर घर फर्किसकेका छन्।