स्कुल खुल्ने निश्चित नभएपछि जुम्लामा एसईई लक्षित रेडियो कक्षा सुरु

जुम्लाका दुई रेडियोले एसईई लक्षित रेडियो कार्यक्रम संचालन गरिरहेका छन्। रेडियो खुला आकाश र रेडियो कर्णालीले कक्षा संचालन गरेका हुन्। एक महिनादेखि दुबै रेडियोले कक्षा संचालन गरिरहेका छन्।

संसारभर फैलिएको कोरोना भाइसर (कोभिड –१९) को माहामारीको त्रास बढेपछि चैत पाँच गते अन्तिम समयमा सरकारले एसईई परीझा स्थगित गर्ने निर्णय गरेको थियो। त्यसपछिका दिन नेपालमा कोरोना संक्रमित फेला पर्न थालेपछि परीक्षा र पढाई अनिश्चित बन्दै गएको छ। 

परीक्षाको अन्यौलता बढेसँगै विद्यार्थीको ज्ञान घट्दै जाने र पढेको कुरा पनि बिर्सिने भएको हुनाले विद्यार्थीको पढाईलाई ख्याल गरि कक्षा संचालन गरिएको दुबै रेडियोले बताएका छन्। 

रेडियो खुला आकाशले अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयको कक्षा संचालन गरिएको स्टेशन म्यानेजर रतन नेपालीले जानकारी दिए।

‘हामीले नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघसँगको सहकार्यमा रेडियो कक्षा संचालन गरेका हौं। शिक्षकहरु सबैको व्यवस्था उहाँहरुले नै गर्नुभएको छ,’ उनले बिएल नेपाली सेवासँगको कुराकानीमा भने, ‘कक्षा एकदमै प्रभावकारी भएको छ। पाँच सय वाट क्षमतामा रेडियो प्रसारण गरिएको हुनाले धेरै विद्यार्थी लाभान्वित भएका छन्। फोन तथा म्यासेजबाट जिज्ञासा लिने र समाधान गर्ने भइरहेको छ।’

एउटा सर्वेक्षण अनुसार अहिले सबैभन्दा बढी मानिसले रेडियो सुन्ने गरेको पाइएको छ। करिब ७६ प्रतिशतले रेडियोलाई आफ्नो मुख्य सञ्चार माध्यमको रुपमा अपनाएका छन्। त्यसैले पनि रेडियोका कक्षा प्रभावकारी भइरहेका छन्। 

रेडियो कर्णाली एफएम जुम्लाले पनि अंग्रेजी र गणित विषयमा कक्षा संचालन गरिरहेको छ। जिल्ला शिक्षा विकास तथा समन्वय एकाइसँग समन्वय गरि कक्षा सञ्चालन गरिरहेको रेडियोका निमित्त स्टेशन म्यानेजर नौरते नेपालीले जानकारी दिए।

‘एसईई परीक्षा अनिश्चित भएपछि हामीले रेडियो कक्षा संचालन गर्ने निधो गरेका हौं, एसईईका विद्याथीको पढाइमा बाधा नहोस् भनी,’ उनले भने, ‘कक्षा एकदमै प्रभावकारी भएको छ। धेरै विद्यार्थी लाभान्वित भएको हामीले महसुस गरेका छौं। कक्षा संचालन भइरहेको अवधि र त्यस अघिपछि आएका प्रतिक्रियाबाट विद्यार्थीले लाभ लिइरहेको देखिन्छ।’

विद्यार्थीले फोन र एसएमएसमार्फत आफूलाई अप्ठेरो लागेको विषयवस्तुसँग सम्बन्धित प्रश्न सोध्ने गरेकाे र तिनै प्रश्नहरु बारे छलफल गर्न प्रवचन विधिको प्रयोग गरिएको गणित विषयका शिक्षक कृष्णबहादुर रोकायाले जानकारी दिए। 

‘सकेसम्म उहाँहरुको जिज्ञासा मेटाउने प्रयत्न गरेको छौं। सबै गाउँपालिकाका विद्यार्थीहरुले एसएमएसबाट प्रश्न गर्नुहन्छ भने केही विद्यार्थीले फोनमार्फत अन्य समयमा पनि प्रश्न गर्ने र जिज्ञाशा राख्ने गर्नु भएको छ,’ उनले भने, ‘हामीले मेटाएका जिजासा र पढाएको विषयलाई रेकर्ड गरेर अन्य समयमा पनि सुन्ने गरेको केहि विद्यार्थीले फोनमार्फत प्रतिक्रिया दिइरहनु भएको छ।’

साँझ पाँचदेखि छ बजेसम्म रेडियो खुला आकाशबाट एकदेखि तीन कक्षाका विद्यार्थीलाई लक्षित गरि कक्षा संचालन गर्न थालिएको स्टेशन म्यानेजर नेपालीले जानकारी दिए। 

जुम्लाको अशोक नमुना आधारभूत विद्यालयले रेडियो खुला आकाशसँगको सहकार्यमा ‘सुनापडी’ नामक कार्यक्रम संचालन गरिहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र कार्कीले जानकारी दिए।

‘हामीले विद्यार्थीको पढाई तथा सृजनात्मक क्षमतालाई ध्यानमा राखी खुला आकाशसँग सहकार्य गरेका हौं,’ उनले भने, ‘विद्यार्थीको फोन कल लिने र कोर्सका केही मिनिङ्बारे छलफल गर्ने तथा कथाहरु सुनाउने गरेका छौं। म र हाम्रो शिक्षक अमरनाथ योगी हरेक दिनसँगै कार्यक्रम सञ्चालन गर्छौं।’
 

प्रकाशित मिति: : 2020-04-27 12:37:00

प्रतिकृया दिनुहोस्