लकडाउनका कारण काठमाडौंमा अलपत्र परेर रहेका आफ्ना नगरका नागरिकलाई मोरङको पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा हसन्दह-काठमाडौं समाज, पथरी-शनिश्चरे- काठमाडौं समाजले गाउँ फर्काएको छ।
पथरी-शनिश्चरे नगरपालिका भित्रका काठमाडौंमा आइ बसोबास गर्ने नागरिकलाई उद्धार गरी घर पठाएको हसन्दह समाज काठमाडौंका अध्यक्ष जीवन थापाले जानकारी दिए।
लकडाउनको महिनौसम्म पनि नगरले आफ्ना नागरिकलाई ल्याउन कदम नचालेपछि काठमाडौंमा रहेर गाउँका विभिन्न सामाजिक काममा सक्रिय हुँदै आएको समाजको पहलमा आफ्ना नगरका साथीभाइलाई घर पठाइएको थापाले जानकारी दिए।
आज आइतबार नगरभरिका १ सय जनाभन्दा बढी नागरिकलाई गृह नगर पठाइएको पथरी समाज काठमाडौंका लक्ष्मी कोइरालाले जानकारी दिए। थापा र कोइरालासँगै नगरभित्रका नागरिक घर फर्काउन टिका गौतम र महेन्द्र पोखरेलको विशेष सक्रियता थियो।
यस्तै शिब श्रेष्ठ, प्रमोद फुयाँल, विकास घिमिरे र अशोक खनालले पनि अलपत्र परेका नागरिकको खोजी र उद्धारमा सक्रियता देखाएका थिए।
यसअघि पनि लक्ष्मी कोइरालाको नेतृत्वमा १०० जनाभन्दा बढीलाई घर पठाइएको थापाले जानकारी दिए।
वडा नम्बर ६ का वडाध्यक्ष जय तामाङले उतैबाट आफ्ना नागरिक फिर्ताका लागि विशेष पहल गरेका थिए।
काठ्माडौंबाट पथरीशनिश्चरे पुगेका सबैलाई स्वास्थ्य कर्मीहरुले ज्वरो नापेपछि मात्र घर जान दिइने वडाध्यक्ष तामाङले जानकारी दिए।
पथरीको रंगशालामा सामाजिक दुरी कायम गर्दै सेनिटाइजसर लगाएर ज्वरो नापिने उनले जानकारी दिए।
घर जाने सम्पूर्णलाई होम क्वारेन्टाइनमा बस्न स्वास्थ्यकर्मीले अनुरोध समेत गरेका छन्।
काठमाडौंमा अलपत्र परेकालाई घर फर्काउन नगरप्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्टलगायतले विशेष पहल गरेका थिए।
यसअघि काठमाडौंमा रहेका नगरका अधिकांश नागरिकलाई सम्बन्धित वडाध्यक्ष र संघसंस्थाले घर फर्काइसकेका छन्।