प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुस्, बालकोट गएर आराम गर्नुस् : वामदेव

शुरोजङ्ग पाण्डे

दुई विवादास्पद अध्यादेशबाट सुरु भएको आन्तरिक विवाद अब नेकपा र सरकारको नेतृत्व परिवर्तनको बहससम्म पुगेको छ । उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी दुवै पदबाट राजीनामा दिन सुझाब दिएका छन् । तर, ओलीले राजीनामा नगर्ने र सम्भावित सबै चुनौती सामना गर्ने जवाफ दिएका छन् । 

स्थायी समितिका २० सदस्यले लिखित माग गरे पनि अध्यक्ष ओलीले तत्काल बैठक बोलाउन स्वीकार गरेका छैनन् । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठक बोलाउनुपर्ने पक्षमा छन् । यही विषयमा छलफल गर्न ओलीले प्रचण्ड, नेपाल र गौतमलाई शनिबार बालुवाटार बोलाएका थिए । 

मन्त्रिपरिषद्ले अध्यादेश पारित गरेर राष्ट्रपतिबाट जारी भएको दिन बसेको सचिवालय बैठकमा खरो आलोचना गरेका वरिष्ठ नेता खनाल र प्रवक्ता श्रेष्ठलाई भने ओलीले शनिबार बालुवाटार बोलाएका थिएनन् । तर, अध्यादेश जारी हुने दिन नरम देखिएका गौतमले शनिबार भने ओलीको खरो आलोचना मात्र गरेनन्, ओलीको नेतृत्व असफल भएको भन्दै दुवै पदबाट राजीनामा पनि मागे । 

प्रकाशित मिति: : 2020-04-26 07:42:38

प्रतिकृया दिनुहोस्