अपहरण शैलीमा सांसद काठमाडौं ल्याउनेलाई कारबाही गर्न ओलीसँग देउवाको आग्रह

'दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको भन्दै ओलीलाई धन्यवाद '

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजवादी पार्टीका सांसद एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनेहरुलाई कारबाही गर्न माग गरेका छन्।

शुक्रबार अपराह्न बालुवाटारमा भएको भेटमा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निष्पक्ष अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न माग गरेका हुन्।

समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले प्रधानमन्त्रीकै निर्देशनमा सांसद यादवलाई जनकपुरबाट अपहरण गरी काठमाडौं ल्याइएको सामाजिक सन्जालमा लेखेका थिए।

‘एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ। मेरो माग यही छ। देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कार्वाही हुनुपर्छ’,कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस नोटमा देउवाको भनाइ उद्धृत गर्दै लेखिएको छ।

पार्टी फुटाउने उद्देश्यले काठमाडौंको म्यारियट होटलमा आफ्ना नेताहरुलाई बन्धक बनाएको र आफूहरुले उद्दार गरेको समाजवादीका नेताहरुले बताउने गरेका छन्। समाजवादीका नेताहरुले सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनालले यादवलाई जबर्जस्ती काठमाडौं ल्याएर होटलमा बन्दी बनाएको बताउने गरेका छन्।

देउवाले दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको भन्दै ओलीलाई धन्यवादसमेत दिएको कांग्रेसले जनाएको छ। सभापति देउवाले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन पनि भनेका थिए। समुदायस्तरमा व्यापक परीक्षण गर्न ढिलो गर्न नहुने उनको भनाइ थियो।

यसैगरी स्वास्थ्यकर्मीहरुलाई पीपीई लगायतका सामग्री अझै पर्याप्त पुगेको छैन। यथाशीघ्र पुर्‍याउन, स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्ने काम रोक्न, श्रमिकलाई कि खान दिन, कि गाउँ जान दिन पनि देउवाले भनेको कांग्रेसले जनाएको छ।

यता सभापति देउवाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट समस्यामा परेकाहरुलाई सरकारले घोषणा गरेको राहत अधुरो भएको र लक्षित वर्गसम्म नपुगेको भन्दै ओलीको ध्यानाकर्षण गराएका छन्। 

‘श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस्। राहत घोषणा अधुरो भएको छ। पुग्नु पर्नेकोमा अझै पुगेको छैन,’उनले भने,‘श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठुला सबै ब्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनुपर्ने देखियो।’

सभापति देउवाले विदेशमा रहेका नेपालीलाई उद्दार गर्ने योजना सार्वजनिक गरी कार्यान्वयन गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिएको नेपाली कांग्रेसको प्रेस नोटमा उल्लेख छ।

‘बिदेशमा रहेका नेपालीले हिजो देशलाई रेमिटेन्स पठाएर योगदान गरे, आज उनीहरु अप्ठ्यारोमा परेका छन्,’ प्रेस नोटमा लेखिएको छ,‘त्यस्तो स्थितिमा रहेका नेपालीलाई उद्दार गर्ने बारे तत्काल योजना सार्वजनिक गर्नुस् र कार्यान्वयन थाल्नोस्।’

प्रकाशित मिति: : 2020-04-24 18:13:55

प्रतिकृया दिनुहोस्