एउटा पुरानो साइकलको पछाडि एउटा पोको बाँधिएको छ । पोकोमाथि दुई वर्षको बच्चालाई राखेर धकेल्दै आशिष र सुस्मिता झण्डै चार सय किलोमिटर हिँडे ।
कैलालीको घोडाघोडी नगरपालिका-७ कृतिपुरका आशिष चौधरी बुटवलमा घर बनाउने काम गर्छन् । श्रीमती सुस्मिता पनि उनीसँगै मजदुरी गर्छिन्। उनीहरुका दुई सन्तान छन्, छोरी खुशी र छोरा सौरभ ।
लकडाउनले गर्दा आशिष र सुस्मिताको रोजिरोटी खोसियो । तीन साता पूरा भइसक्दा पनि लकडाउन नखुलेपछि उनीहरु छोराछोरी च्यापेर घर निस्किन बाध्य भए ।
८ वर्षकी छोरी र २ वर्षका छोरालाई साथमा लिएर यतिका किलोमिटर हिँड्न उनीहरुका लागि सहज पक्कै थिएन । ‘हिड्दा हिड्दै छोरीको चप्पलमा प्वाल परेको छ,’ सुश्मिताले छोरीको खुट्टा देखाउँदै भनिन् ।
२ वर्षको बालक त हिँड्न सक्ने कुरै भएन । त्यसैले उनीहरु पालैपाले बोक्थे । वैशाख २ गते बुटवलबाट हिँडेका उनीहरु ६ गते गन्तब्यमा पुगे । यो उनीहरुको लागि जीवनकै कष्टप्रद यात्रा रह्यो ।
३ हजार रूपैयाँ गोजीमा बोकेर ४ जनाको परिवार ४ दिनसम्म पैदल हिँडेका थिए । साथमा भाँडा, चामल र दाल पनि थियो । बुटबलबाट हिँड्दा आशिषले साइकल डोर्याए । भाँडा, चामल र दाल पोको पारेर साइकलमा बाँधे । छोरीलाई आमाले डोर्याइन् । छोरालाई साइकल पछाडी पोकोमाथि राखियो ।