तनहुँको म्याग्दे गाउँपालिकाले प्रत्येक टोलमा ज्वरो क्लिनिक सञ्चालन गरेको छ।
कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले सबै वडाका टोलहरुमा शुक्रबारदेखि ज्वरो क्लिनिक सञ्चालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए।
उनका अनुसार सातवटै वडाका अध्यक्ष, टोल विकास संस्थाका पदाधिकारीसँग आवश्यक समन्वय गरी ज्वरो क्लिनिक सञ्चालन गरिएको हो। ज्वरो क्लिनिक सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई टोल–टोलमा खटाइएको उनले बताए।
'कोभिड–१९ को लक्षणसँग मिल्ने ज्वरो, रुघाखोकी, शरीर दुख्नेलगायतका बिरामीको पहिचानका लागि ८२ वटै टोलमा ज्वरो क्लिनिक सञ्चालन गरिने र सर्वसाधारणको तथ्याङ्क सङ्कलन गर्नेछौँ', प्रमुख प्रशासकीय अधिकृत नागिलाले भने।
यस अगाडि गाउँपालिकाले विदेशबाट फर्किएका नागरिकको विवरण सङ्कलनका लागि टोल विकास समितिलाई परिचालन गरेको थियो। टोल विकासमार्फत कोभिड–१९ का शङ्कास्पद व्यक्तिको तथ्याङ्क लिने, सङ्क्रमणको जोखिम, लक्षण र आवश्यकता पहिचान गर्ने काम गरेको थियो। गाउँपालिकामा चैत १ गतेदेखि विदेशबाट फर्किनेको सङ्ख्या ४३ जना रहेको छ।
गाउँपालिकावासीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीलाई टोल–टोलमा पठाएर सबैको ज्वरो नाप्न शुरु गरेको बताउदैं गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले भनिन्, 'यसले कोभिड–१९ रोकथामका लागि सहयोग पुग्ने विश्वास गरिएको छ।' रानाका अनुसार विभिन्न देशबाट गाउँपालिकामा आएका व्यक्तिको विवरण लिई उनीहरूको स्वास्थ अवस्थाको निगरानी भइरहेको छ।
ज्वरो क्लिनिकमा स्वास्थ्यको पहुँचबाट टाढा रहेका नागरिकलाई स्वास्थ्य परीक्षण गराउनका लागि सम्पूर्ण नागरिक, राजनीतिक दल, जनप्रतिनिधि, टोल विकास संस्थाका अध्यक्षलाई समन्वयका लागि अनुरोध गरिएको छ। यस्तै गाउँपालिकाले पहिलो चरणमा एक हजार ५६० परिवारलाई राहत वितरण गरेको जनाएको छ।