बगर खेती गर्ने भारतीय नागरिक माथि शुक्लाफाँटा नगरपालिकाले निगरानी बढाउन थालेको छ।
नगरपालिका क्षेत्र भएर बग्ने सुनवरा र स्याली नदीको बगरमा तरकारी खेती गर्ने भारतीय समुदायका व्यक्तिमाथि नगरपालिकाले निगरानी बढाएको नगरप्रमुख दिलबहादुर ऐरले जानकारी दिए।
भारतीय नागरिकको भारत नेपाल ओहोरदोहर भएको अवस्थाका बारे जानकारी लिने कार्य नगरपालिको शुरु गरेको उनले बताए।
'नगरपालिकाका कुन ठाउँमा कति जना भारतीय नागरिकले बगर खेती गरेका छन् भनेर उनीहरुको तथ्याङ्क सङ्कलन गर्नका लागि जनप्रतिनिधि खटाएका छौं' उनले भने, 'भारतीय नागरिक लकडाउन पश्चात भारततर्फ गए नगएको हेर्ने कार्य भइरहेको छ।'
बगर खेती गर्ने भारतीय नागरिक सबै जनाको अभिलेख राख्ने कार्यलाई प्राथमिकतामा राखे पनि अन्य भारतीय नागरिकको अभिलेख राख्नका लागि नगरपालिकाले कार्य अगाडि बढाएको उनको भनाइ छ।
बगर खेती गर्ने भारतीय नागरिक कात्तिक महिनादेखि यहाँका नदीका बगरमा परिवारसहित आएर बस्ने गरेका छन्। भारतीय नागरिकले बगरमा उत्पादित तरकारी स्थानीय बजारदेखि नेपालगञ्ज र काठमाडौँसम्म निर्यात गर्दै आएका छन्।
भारतीय नागरिक बिरामी परेको वा शंकास्पद देखिएमा तत्कालै क्वारेण्टाइनमा राख्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए। 'नगरपालिकाका नदीका बगरमा तरकारी खेती गर्ने भारतीय ३० बढी परिवार रहेका छन्' उनले भने, 'यसैगरी, नगरपालिकाले इसायी धर्माबलम्बीमाथि निगरानी राख्ने कार्य शुरु गरेको छ।' सामाजिक दूरीको पालना नगरी चर्चमा प्रार्थना तथा सभा हुन थालेपछि नगरपालिकाले निगरानी बढाएको उनको भनाइ छ।