दश उपाध्यायहरू भन्दा एक आचार्य, सय जना आचार्यहरूमा एक पिता, हजार पिताहरूमा एक आमा महान् छिन् भनेर हाम्रा धर्मशास्त्रहरूले भन्दै र मान्दै आएका छन्।
बैदिक कालका ‘आमा’ हरूको सन्दर्भ विस्तृत प्रकाश पार्न छुट्टै लेखको आवश्यकता पर्दछ। तर यो लेखमा ‘आमा’ को गरिमामय उच्च स्थानको संकेत मात्र गर्न खोजिएको छ।
सर्वप्रथम ‘आमा’ शव्दको छोटो परिचय दिनु असान्दर्भिक हुने छैन। ‘आमा’ भन्ने वित्तिकै आमाको अर्थ नबुझ्ने नेपाली पाउन गाह्रो छ। तर पनि ‘आमा’ लाई संस्कृत भाषामा ‘माता’ भने जस्तै हाम्रा नेपाली विभिन्न भाषाभाषीले फरक फरक नामबाट पहिचान पनि गर्दछन्। तथापि ‘आमा’ भनेपछि हामी नेपालीको साझा सम्पर्क भाषा नै नेपाली भएकोले ‘आमा’ शब्द नबुझ्ने नेपाली छैनन् भन्न सकिन्छ।
आमाको सर्न्दर्भमा भन्नुपर्दा ‘माता’ भनेर संस्कृत भाषामा ‘म’ बाट सुरु भए जस्तै अंग्रेजीमा पनि मदर भनेर ‘म’ बाटै सुरु हुन्छ। त्यस्तै ‘मम्मी’ भनेर पनि ‘म’ बाटै हुन्छ। अन्य धेरै भाषामा ‘म’ कै अक्षरबाट जस्तै हिन्दीमा ‘मा’ नै भन्ने प्रशस्त चलन चल्ती छ। यसरी ‘आमा’ भन्ने शव्द ज्यादै उच्च एवं गरिमामय तथा आदरणीय सम्माननीय छ। गरिमा भनेको गौरव तथा महत्त्व हो।