बद्रीविनोद प्रतिक
बिहान उठनेबित्तिकै कोठाको पर्दा हटाएर हिमाल हेर्ने बानी थियो। अहिले त्यो दृश्य मबाट खोसिएको छ। दुई महिना भयो सुन्दर हिमालहरूबाट टाढा भएको। म यतिबेला नभएको चिसो भूमिमा हिटरले तताएको घरमा छु। कृत्रिम न्यानोमा नाकमुख सुकाएर, सुक्खा आँखाले झ्यालबाहिरको दृश्य हेर्छु। केही दिन यता बोटविरुवाहरू हरिया देखिन थालेका छन्। फूलहरू फुल्न थालेका छन्। प्रकृति क्रमशः सुन्दर हुँदै गएको छ। तर मानवबस्तीहरू उजाडिँदै छन्।
घरघरमा रुवावासी छ। पूरा मर्ने र आधा मर्नेहरू छुट्याउनै सकिँदैन। गुराँसे वन पाखा खोज्छु यहाँ भेट्दिनँ। हिमाली जन जीवनका जीवन्त कथा यहाँ भेटिँदैनन्। यहाँ त सेतो कात्रोमा फनफनी बेरेर ट्रकका ट्रक लादिएका मानिसका लासहरू मात्र देखिन्छन्। आफन्तको लास खोजेर साँझ बिहान रुदै कराउदै विरानो शहरमा भौतारिई रहेका मानिसहरूका दुखद दृष्यहरू मात्र देखिन्छन। टेलिभिजनका स्क्रिनहरूमा आधा मरेका मानिसहरू मात्र देख्छु र आफैलाई छाम्छु र आफै संग भन्छु “ म पनि त काहाँ पुरा वाँचेको छु र ?”