कोरोना संक्रमणको कारण मुलुक लकडाउनमा रहेको बेला सडकपेटीमा अलपत्र मानिस र जनावरलाईसमेत खाना बाडिँरहेका भेटिन्छन् दुर्गानाथ दाहाल।
सडकपेटीमा भेटिएका अनाथ र अशक्त मानिस तथा जनावरलाई सडकमै प्राथमिक उपचार गरी उनिहरूलाई आश्रममा लगेर राख्ने दुर्गानाथको हिजोआजको दैनिकी फेरिएको छ।
यतिबेला उनलाई आश्रमका मानिसको दैनिक सेवासँगै लकडाउनको चपेटामा सडकमै अलपत्र परेका मजदुर, अनाथ अपाङ्ग मानिसलाई खाना पकाएर ठाँउठाँउमा लगेर खुवाउने गरेका छन्।
उनी दैनिक बिहान ४ बजे उठ्छन् हतारिदै भान्सामा पस्छन्। अनि हतार हतार आश्रममा बसेका मानिसको विहानी कर्मकोलाई बिहानको चिया, नास्ता पकाउन व्यस्त हुन्छन्।
आश्रमका मानिसको सेवामा एक्लै जुट्ने दुर्गानाथलाई सडकपेटीका मानिसलाई खाना बनाएर प्याकिङ गर्ने बिहान भरिको समय जान्छ। दुर्गानाथ भन्छन्, ‘हाम्रो सेवा देखेर हामीलाई धेरैले देश विदेशबाट सहयोग त गर्नुभाको छ। तर, यतिबेला सडकको कुनाकुनासम्म खानेकुरा पुर्याउन चाहीँ चुनौतिपूर्णनै छ।
दिनमा झण्डै ३ सय मानिसलाई खाना तयार गर्नु सजिलो पक्कै छैन। तर पनि उनी सधै हँसिलो अनुहार लिएर सडकमा खाना बाँडिरहेका हुन्छन्।
‘काठमाडौंको चावहिल, बौद्ध, जोरपाटी, गोंगवु, बालाजु बनस्थली,स्वयम्भु, रत्नपार्क वरिपरीको क्षेत्रमा मानिसहरू भोकभोकै अलपत्र परेर बसेका छन्। सरकारले सडकपेटीमा बस्न नदिएपछि उनीहरू लुकेर बसेका हुन्छन् हामीले खान लैजाने बित्तिकै हारालुछ गर्न आउँछन्’, दुर्गानाथले सडकको वास्तविकता बताए।
यतिबेला आफूहरू सडकका मानिसलाई आवश्यकता अनुसार खाना पुर्याउन नसकेको उनको गुनासो छ। ‘यतिबेला दैनिक ज्यालादारी गरेर कमाउने मानिसहरू घास खाउँ कि, माटो चपाउँ जस्तो अवस्थामा बसेका छन्। सरकारले दिने राहत एकचिम्टि पनि उनीहरूको पोल्टामा परेको छैन। सडकका मानिसलाई सरकार भनेको सिहंदरबार हो भन्ने मात्र थाहा छ। एकछाक खानको लागि उनीहरू झम्टिन आएको देख्दा लाग्छ साच्चै संघीय सरकार भनेको पनि आखिर हुने खानेकै पेट भर्नको लागि मात्र रै’छ’, उनले भने।
नवजीवन परोपकार नामक संस्थाका अध्यक्षसमेत रहेका दुर्गानाथ दाहाल काभ्रेका स्थायीबासी हुन्। सानैदेखि व्यापार व्यवसायमा संलग्न उनी महाबौद्धमा कपडाको व्यापार गर्थे। काभ्रेमै फूल उत्पादन गरी वर्षेनी लाखौं कमाउँथे। तर एकदिन उनले सडकमा अलपत्र मानिस र सडकमै मुर्छा परेको चरालाई देखेपछि आफूलाई सम्हाल्न सकेनन्। त्यो मानिस अनि चरालाई समातेर घरमा ल्याएर राखे। त्यसपछि उनको मोह पैसा कमाउने भन्दा पनि समाजसेवा तर्फ मोडियो।
‘सडकमा घाईते अवस्थामा रहेका जनावर चराचुरूङ्गीलाई घरमा ल्याएर उपचार गर्छु जब निको भएपछि आफ्नो अनुहारमा हेरेर आँखाको भाकामा उनीहरू हाँस्दा व्यापारबाट कमाएको पैसा भन्दा करौडौं गुणा सन्तुष्टी मिल्छ,’ उनले भने, ‘सायद त्यहीँ ऊर्जाले अहिलेसम्म निरन्तर यही सेवामा लागेको छु।’
दुर्गानाथ यतिबेला सडक पेटीमा भोकै रहेका मानिसलाई मात्र नभएर जनावर चराचुरूङ्गीलाईसमेत खान खुवाउन व्यस्त छन्।
‘समाजसेवामा म जुन हिसावले अगाडि बढेको छु त्यसमा मेरी श्रीमतीको हात छ। सधै कमाएर ल्याउने श्रीमान एक्कासी सडकका जनावर बोकेर घर आउँदा उनले देखि नसकेको भए म आज यो ठाँउमा हुने थिईनँ’, उनले विगत सुनाए।
यतिबेला दुर्गानाथको व्यापारलाई उनकी श्रीमतिले सम्हालेकी छन्। दुर्गानाथ भन्छन्, ‘श्रीमती कमाउँछिन् म समाजसेवा गर्छु।’