पसल अनुगमन, अखाद्य वस्तु नष्ट 

ताराखोला गाउँपालिकाले लकडाउनबीच पसल अनुगमन गर्दा भेटिएका अखाद्य वस्तु नष्ट गरेको छ। गाउँपालिकाको टोलीले पाँचै वटा वडाका करिब १०० पसलको अनुगमन गरेको थियो।

लकडाउनका बेला हुन सक्ने अखाद्य वस्तुको बिक्री र उपभोगलाई रोक्न पसल अनुगमन गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए। कालो बजारी हुने, म्याद नाघेको सामान बेच्नेजस्ता कार्य हुन नदिने उनले बताए।

पसलमा दैनिक उपभोग्य वस्तुको आपूर्तिको अवस्था बुझ्न पनि अनुगमनले सघाएको उनको भनाइ छ। 'बरामद गरिएका अखाद्य वस्तुलाई सोमबार नष्ट गरिएको हो' उनले भने, 'अनुगमनका क्रममा ८० वटा पसलमा मिति गुज्रेका वस्तु भेटिएका थिए।'

चामल, चिउरा, पेय पदार्थ, चाउचाउ, बिस्कुट, भुजालगायतका वस्तुमा म्याद नाघेको पाइएको उनले बताए। 'अखाद्य सामग्री राख्ने र बेच्ने व्यवसायीलाई आइन्दा त्यसो नगर्न लिखित रुपमै निर्देशन दिइएको' उनले भने।

पसलबाट खरिद गरिने खाद्य वस्तुको म्याद र गुुणस्तरीयता यकिन गरेर मात्र उपभोग गर्न गाउँपालिकाले सर्वसाधारणलाई सचेत बनाएको छ। सकभर पसलमा पाइने तयारी खानाको प्रयोगलाई घटाउन अनुरोध गरिएको उनले बताए।

प्रकाशित मिति: : 2020-04-21 13:18:01

प्रतिकृया दिनुहोस्