कोरोनाभाइरसको संक्रमणको त्रास बढिरहेका बेला सरकारले पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णयको चौतर्फी आलोचना भएको छ । कोरोनाभाइरसको रोकथाम नियन्त्रण र उपचारमा जुट्नुपर्ने सरकारले विवादास्पद अध्यादेश ल्याउने निर्णयलाई ‘बेमौसमको बाँसुरी’भनिएको छ ।
मन्त्रिपरिषद्बाट पारित गरेको दुई अध्यादेश सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको छ ।
सरकारले लकडाउन घोषणा गरेसँगै दुवै सदनको चालु अधिवेशन अन्त्य गर्ने यसअघि मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सदन सञ्चालन नभएको र देश संकटमा रहेको बेलाआफ्नै पार्टीभित्र समेत कुनै परामर्शबिना प्रधानमन्त्री ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनुलाई निकै अर्थपूर्णरूपमा लिइएको छ । पार्टीभित्र नै विवाद चुलिएका बेला सरकारले पार्टी विभाजन गर्न सकिने व्यवस्थालाई खुकुलो बनाउने निर्णय गर्नु अर्थपूर्ण भएको छ ।