२०६२ साल चैतको अन्तिम साता राजाविरुद्द माओवादीसहित सात दलको जनआन्दोलन सुरु भएको थियो। आन्दोलनको केही दिन मै तत्कालीन अञ्चल प्रशाषकको कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट ६ सय मिटरको दूरीमा तथा २३ नं बाहिनीको गेटबाट झण्डै १५ सय मिटरको दूरीमा रहेकाे वाग्लुङस्थित महेन्द्र चोकमा राजाकाे सालिक ढालियाे।
त्यति बेला प्रहरी निरीक्षकको कमान्ड कार्की थरका एक अफिसरकाे जिम्मामा थियो। आन्दाेलनकारीकाे भीडलाई तित्तरबित्तर पार्ने क्रममा उनको हातमा चोट लाग्यो। २३ नं बाहिनीका प्रवक्ता तत्कालीन मेजर हेमजंग थापाले बाहिनीपति नरबहादुर कँडेल र अञ्चल प्रशासक रामजी बिष्टलाई यताउताकाे सूचना आदानप्रदान गर्थे। केहीबेरमा सालिक ढलेको खबर जतात्यतै फैलियाे। तर सैनिक नेतृत्वलाई निर्देशन के थियाे भने, सालिक ढलोस् तर कसैको ज्यान नढ्लोस्। सालिक त पछि पनि बनाउन सकिन्छ तर मरेपछि मानिसलाई बचाउन सकिन्न।
सालिक ढलाउनेकाे नेतृत्वकर्ता थिए, महेन्द्र बहुमुखी क्याम्पसका सदाबहार विधार्थी नेता। जो स्ववियू चुनाव लड्नको लागि सधैभरि आईएमा भर्ना हुन्थे। काठमाडाैंमा गगन ‘दाई’ थापाले गरेको नारा र भाषण ट्याप्प टिप्थे र भिडिहाल्थे।
सालिकमा ढुङ्गा हानेर फुटाउने मध्येका एक थिए नरे नाम गरेका अर्का मजदुर नेता। जाे आफ्नाे घर धादिङ गोगन पानी बताउँथे। माओवादी बिद्राेहताका उनी होटल मजदुरको भेषमा पर्वत वाग्लुङमा काम गर्थे। पर्वतमा मेजर रविसिंह गर्तौला र चौधरी इन्सपेक्टरलाई एम्बुसमा पारेपछि पक्का भएकाे थियाे, उनी माओवादी नै हुन् भनेर। यस अघिसम्म उनी सबैका हितेषी, दाजुभाई र साथी। उसकाे गतिविधि शंकास्पद लाग्न थालेपछि एकदिन मैले पनि नरेलाई सोधेकाे थिए–‘तिमी माओवादी हौ।’
मलाई उसले जहिले पनि हाेइन भन्थ्याे। राजनीतिकभन्दा पनि उसँग उमेरकाे हिसाबले म निकै नजिक थिए। उसकाे उमेर २४ थियाे र मेराे २२। बाहिरबाट आएकाे हुनाले म उसलाई भन्ने गर्दथे– केही पर्याे भने मलाई सम्झनु। उसकाे कार्य क्षेत्र रहेछ, पर्वतको दक्षिणी भेग। जहाँ राजा र दलप्रति बितृष्णा राख्ने जनतालाई उ उकास्थ्याे। वर्तमान सरकारविरुद्ध राेष पाेख्न माहिर थियाे उ। उसकाे कला जसरी हिजाेआज पास्टर केशवले ‘कोरोना भागी जा, साकालाकावाका भनेर’ साेझासाझा नेपालीलाई लठ्याउँछन्, त्याेभन्दा कम थिएन।
उ भन्थ्याे– म मेरो लागि होइन, तिमीहरुका लागि लडिरहेको छु। जुन दिन माओवादीको उदय हुन्छ, हाम्राे नेतृत्व सत्तामा जानेछ, त्यो दिन यी मजदुर अनि यहाँको सामन्ती साहुको हैसियत समान हुनेछ। उ कालीगन्डकीको तिरमा गिट्टी कुट्ने मजदुरदेखी कुस्माको निर्मल गहना गृहमा सुन कुद्ने कालीगढ अनि वाग्लङ तीनतारेको जेरी पसलमा जेरी हाल्नेदेखि लिएर पर्वतको वनौमा आलु लगाउने सबैलाई राजा र राजसंस्थाविरुद्ध नकरात्मक सन्देश दिन्थ्याे। संस्कृत किताब च्यात्नु पर्छ भन्नेकाे अगुवाई गर्थ्याे। जसरी पास्टर केशवले कोरोना हटिजा भन्छन्, त्यसरी नै उ माओवादी आएपछि आपसेआप देश विकाश हुन्छ भन्दै साेझा नेपालीलाई लठ्ठ पार्थ्याे।
वाग्लुङमा सालिक फोड्ने क्रममा उसकाे हातमा चोट लाग्यो। हामी वाग्लुङकाे सालिक चाेक अगाडीकै गार्डेन होटलमा बसिरहेका थियाैं। त्यही आएर भन्याे, ‘मेरो हात भाँचियो कि क्या हो? मलाई सहयाेग गर्नुपर्याे, नभए बर्बाद हुन्छ।’
राजाको सालिक ढाल्दा मेरो मन अमिलो नभएकाे हाेइन। तर पनि मित्रताका कारण उसलाई कुस्मा लाने विचार गरे। किनभने त्यति बेला हामी कुस्मा बस्थ्याैं। मानव जीवन बाद र सिद्दान्तभन्दा ठूलो कुरा हुन्छ भन्ने मैले बुझेकाे छु।
२३ नं बाहिनीका तत्कालीन सेनानी हेमजंग थापा र अञ्चल प्रशासकसँग कुरा गरे– मेरो साथी बिरामी भयो बजार छाड्नु पर्याे भनेर। रमाइलाे कुरा,पहिलाे पल्ट सालिक ढलाउनेलाई सालिक रक्षा गर्नेले गाडीमा हालेर बजार कटाउनु पर्याे।
हामी कुस्मा पुग्याैं। पछि थाहा भयाे, मेरो साथीको हात भाँचिएकाे रहेनछ। उ कुस्मामा अर्काे सालिक ढाल्न आएको रहेछ। कुस्मामा त्यति बेला विष्णुहरि डिएसपी थिए। सिडियो पनि निकै भलाद्मी। त्यहाँ पनि उसले सालिक फाेड्याे। हात भाँचेकाे बहाना बनाएर उ सालिक फाेड्न आएकाे रहेछ। मलाई नरमाइलाे लाग्याे। मैले त्याे दिनदेखि उसँगकाे मित्रता परित्याग गरेँ।
उसले मसँग थुप्रै पल्ट अनुनय गर्याे। तर, उसकाे मित्रता प्रयाेगका लागि भएकाे थाहा पाएपछि मलाई उसँग खासै लगाव रहेन। यसपछि उ मलाई ‘मण्डले’ भन्न थाल्याे। म ‘आतंके’ भन्थे।
आन्दोलन समाप्त भयाे। गिरिजाप्रसाद काेइरालाकाे एजेण्डाअन्तर्गत प्रतिनीधि सभा पुनर्स्थापना भयो। सबै दलका साथै माओवादीले पनि सभासद् पद पाउने भए। विस्तृत शान्ती–सम्झाैतामा हस्ताक्षर भयो। पहिलो पटक प्रचण्ड र बाबुराम एउटै पोशाकमा टिभीमा झुल्किए।
यति बेला राजा र राजतन्त्रको कुरा गर्नेलाई विदेशबाट अहिले नेपाल जाँदा कोरोना संक्रमित भनेर हेला गरे जस्तै दूरी बनाउने चलन छ। उति बेला माओवादीकाे कुरा सुन्दा लाग्थ्याे, २०६३ सालपछि देश स्वर्णीम युगमा प्रवेश गर्याे।
उनीहरु भन्ने गर्थे– देश विकाशकाे बाधक दरवार हाे। नेपालमा भोक, गरिबी, अशिक्षा र बेराेजगारी बढ्नुमा दरवारकाे ठूलाे हात छ। दरवार ढलेपछि देशमा गुणात्मक विकाश हुनेछ। अब देश स्विट्जरल्याण्ड र सिङ्गापुर बन्ने अभियानमा अगाडी बढिसकेकाे छ।
उता मेराे ‘आतंके साथी’ पनि चोक र गल्लीमा बसेर आफ्नाे नेताले दिएकाे गफ फलाक्दै बस्थ्याे–हेर्दै गर्नु देश त दश बर्षमा के–के न हुन्छ।
यतिकैमा माओवादीले आफ्ना कार्यकता साेरेर सबैलाई लडाकु शिविरमा लग्याे। उ पनि त्यसैमा पर्याे। यसपछि त उसँग मेराे देखादेख पनि समाप्त भयाे। राजनीतिक आस्थालाई एकछिन बिर्सिदा, उ मिहिनेती र इमान्दार थियाे। ७ कक्षा पढ्दा पढ्दै उ माओवादी भएकाे कसैले पत्तै पाएनन्। लडाकु शिविरमा गएपछि मलाई लाग्याे, अब याे ठूलै नेता बन्ने भयाे। पार्टीप्रति उसकाे सम्पर्ण देखेर मलाई लाग्थ्याे, मन्त्री त कसाे नहाेला।
धेरै वर्ष उसलाई मैले देखिन। सानैदेखिकाे साथी भएकाे हुनाले भित्री मनमा भने माया लाग्थ्याे र टिभीकाे स्क्रिनमा उसलाई कहिले काहीँ खाेज्ने गर्थे। त्यति बेला अहिले जस्ताे फेसबुककाे जमाना थिएन। न माेबाइलमै उसँग सम्पर्क भयाे। केही दिन अगाडी मात्र एउटा फोटो नभएको आईडीबाट मलाई म्यासेज आयो–तपाईको फोन नम्बर पाउन् भनेर
चिन्नुन न जान्नु किन फाेन नम्बर दिने? मैले दिन मानिन्। उत्तैबाट फेरी रिप्लाई आयाे, ‘म गाेरखा दरबुङकाे आले हुँ। तपाई कै साथी नरेले नम्बर मागेकाे छ।’
म झसंग भए। लौ यसले कहाँबाट सम्झियाे भनेर। उसकाे नाम सुन्ने वित्तिकै मैले उल्टो नम्बर मागे। र फोन गरेँ। केही बेर कुरा भएपछि मैले साेधे– माओवादी आयाे भने प्रचण्ड र बाबुराम सत्तामा गए भने देशकाे कायापलट हुन्छ भन्थ्याे। के भयाे? अनि उनीहरुकाे कुरा सुनेर सालिक फाेड्दै हिँड्ने तिमी कहाँ छाैं साथी।’
क्रान्तिकारी भएकाे हुनाले उसले चड्किएर मेराे कुराकाे प्रतिकार गर्ला भन्ने साेचेकाे थिए। तर, उ त ललाकलुलुक गलिसकेकाे रहेछ। उसले पातलाे स्वरमा भन्याे–‘बाटाेमा।’
यसपछि उ भक्कानियाे। सविस्तार सबै बतायाे। भन्यो– ‘माओवादी जनयुद्ध लड्दा याेग्य म शिविरमा अयोग्य प्रमाणित भए।पार्टीभित्र पनि खासै ठाउँ पाइन्। कसैले नहेरेपछि चिनजानका नेताको सहयोगमा कतार पुगे। त्यहाँ ४ वर्ष काम गरेपछि नेपाल फर्किएकाे छु। मभन्दा जुनियर मन्त्री भए। केही याेगदान नगरेका सरकारी नियुक्ती खाएर बसेका छन्। मैले त आफन्त पनि गुमाए, तिमीहरु जस्ता सच्चा दाेस्त पनि।’
उ काठमाडाैंमा काम परेर आएकाे रहेछ। ‘लकडाउन’ ले अर्काे पीडा थपेछ। मलाई भन्याे–‘राजाले विकाश गर्न दिएन भनेर फ्याकेकाे भन्थे। आफूले भ्रष्टाचार गर्न नपाएर पाे फ्याकेका रहेछन्। हामीलाई व्यवस्थाकाे नाममा गर्नु प्रयाेग गरे। अहिले आफ्नाे परिवार पाेसेर बसेका छन्। अहिले काेराेनाका नाममा गरिबलाई नै सास्ती छ। केही दिनअगाडी घर जान लाग्दा पुलमा अवरोध रहेछ। मैले चिनेका हाम्रो धादिङका होमबहादुरकाे पुल तर्न खोज्दा मृत्यु भयो। अहिले त आफ्नो घर पनि बिरानो भयाे।कहिले मरिने थाहा छैन।’
२०६२ सालतिर त्यति उमंगकाे कुरा गर्ने उसकाे निरस गफले मेराे चिन्ता बढायाे। भने–‘मैले केही सहयोग गर्नुपरे भन है।’ मलाई लाग्याे उसलाई आर्थिक कमजाेरीले सतायाे हाेला। तर, निकै स्वाभिमान मेराे साथीले भन्याे, ‘मलाई निर्मल निवासकाे नम्बर देउन्।’
उसकाे कुरा सुनेर मलाई हाँस उठ्याे। साेधे– किन चाहियाे तिमीलाई दरवारको नम्बर। अनि मसँग कसरी हु्न्छ त?
उ मान्नेवाला थिएन।
भन्याे–‘ तसँग हुँदा म सबै कमरेडसँग गफ गर्थे। सबै कमरेडको सम्पर्क थियो। त राजावादीसँग राजाको नम्बर छैन भनेर म कसरी पत्ताउनु?’
उसले निकै जिद्धी गर्याे। भन्न थाल्याे– अर्काको लहलहमा लागेर राजा र राजसंस्थाको खाेइराे खनियाे। गाउँगाउँ पुगेर देश विकासकाे विरोधी राजा हुन् भनेर सबैलाई भड्काइयाे। नासाले स्पेशमा मानवबस्ती बसाउन साेध गरिरहेकाे संस्कृत शिक्षालाई अवैज्ञानिक भनेर जलाउँदै हिँडियाे।सबै गलत रहेछ। अहिले कोरोनाको महामारी छ। न घरकाे भइयाे न घाटको। मर्नुभन्दा अगाडी कमसे कम राजालाई भेटेर माफी माग्ने इच्छा छ। राजा भएकाे भए आज जनताकाे अवस्था यति बिजोग त हुँदैन्थ्याे। यही कारण एक पटक गुनासोसहित आत्मालोचना गर्न मन छ।
यतिकैमा मेरो मोबाइलकाे ब्यालेन्स सकियो। फोन पनि काटियो। साथीकाे याे कुराले मेराे मन अझै छटपटियाे। व्यवस्था परिवर्तनका लागि आफ्नाे ज्यान हत्केलामा राखेर हिँडेकाे मेराे साथीकाे अवस्था त यस्ताे छ भने सर्वसाधारण नेपालीकाे हालत के हाेला? मेराे मन झन् उद्धेलित भयाे। आफैलाई प्रश्न गरेँ– के देश यस्तै क्रान्तिकारी नाराले मात्र चलिरहन्छ?