मैले जीवनमा प्रेम पनि गरेँ। हृदय चिराचिरा हुन्जेल धोकाको अनुभव पनि गरेँ। बाँच्ने कला अनि खुशी हुने कलासम्बन्धी केही किताब पनि पढेँ। प्रजातन्त्र, समाजवाद, साम्यवाद, भूगोल, इतिहासको सामान्य जानकारी राख्नलाई पनि केही किताब पढेँ।जिन्दगी जिउँने अनेक खेलमा जानी नजानी सहभागिता पनि जनाएँ। तर, मृत्युबारेमा भने कहिल्यै चिन्तन मनन गरेको रहेनछु।सायद मैले आफूलाई अत्यन्तै जवान र बलवान ठानेर पनि यस विषयमा चिन्तन मनन नगरेको हुनसक्छ।
म यतिबेला कोभिड–१९को इपिसेन्टरमा छु र दैनिक हजारौँ मानिसको मृत्यु भइरहेको यथार्थ मेरै आँखा अगाडि छ। यतिबेला जिन्दगीका सारा पक्षलाई थाती राखेर ज्यान कसरी जोगाउने भन्ने बेलामा म त्यही महामारीको कारकतत्व कोरोनासँग पौठेजोरी खेलिरहेकी छु। दैनिक आँखा अगाडि मृत्यु मात्र देख्ने भएपछि अब मृत्युबारे चिन्तन मनन् गर्ने सही समय यहीँ रहेछ भन्ने लागेको छ।
तर, मृत्युबारे पढ्न र चिन्तन गर्न भन्नेबित्तिकै त्यति धेरै पुस्तक रहेनछन्। संस्कृतमा त धेरै पुस्तक रहेछन्। तर भाषाको समस्याले बुझ्न कठिन पर्यो। गुगल गर्दा पनि कित, बकम्फुसे प्रेम,कि सेक्स (पोर्नोग्राफी) कित, राजनीतिक विषयमा बढी कुरा छन्। तर, आफूलाई कसरी चिन्ने र सबैभन्दा अप्ठेरो अवस्थामा ‘एक्सनप्लान’ कसरी बनाउने भन्ने विषयमा आधिकारिक जानकारी छैन।
किनकि, मृत्यु चिन्तन नगरेसम्म ज़िन्दगीको महत्व पनि कम हुनेरै’छ। बाँच्न त दु:ख–सुख गरेर सबैले बाँचेकै छन्। तर, कसरी मर्ने भन्ने पनि एकदमै चिन्तन गर्नुपर्ने विषय रहेको मैले महसुस गरेँ। अब मर्ने बेला भो ‘हरेराम‘ जप्छु भनेर मात्रै नहुने रहेछ। आफूलाई त्यसका लागि कसरी तयार पार्ने भन्ने पनि ठूलै अभ्यासको जरूरी रहेछ।
म पत्रपत्रिका पढ्छु र मान्छेका कुरा पनि सुन्छु। मैले यसरी मृत्युलाई जितेर आएको उसरी जितेर आएको, झण्डैले मरेको भन्छन्। अनि अहिले कोभिड–१९ सँग यसरी लडेँ, उसरी जितेँ भनेर पनि भन्छन्। यसले के देखाउँछ भने मृत्युको भय नै सबैभन्दा बलवान रहेछ। अहिले मानिस डरले थरथर काँपिरहेका छन्। मानिसका सम्पूर्ण कार्यक्षमता र क्रियाकलापलाई भयले अवरूद्ध पारिरहेको छ।
बाँच्न त दुःख–सुख गरेर सबैले बाँचेकै छन् तर, कसरी मर्ने भन्ने पनि एकदमै चिन्तन गर्नुपर्ने बिषय रहेछ भन्ने कुरा मैले महसुस गरें।अब मर्ने बेला भो‘हरेराम‘जप्छु मात्रै भनेर पनि नहुने रहेछ। आफूलाई त्यसका लागि कसरी तयार पार्ने भन्ने पनि ठूलै अभ्यासको जरुरी रहेछ।
मृत्यु अत्यान्त संवेदनशील भएकाले मानिस यसबारेमा छलफल गर्न रूचाउँदैनन् र कुरा गरेको मन पराउँदैनन्। आ–आफ्नो धार्मिक विश्वास, ब्यक्तित्व, संस्कारले यसलाई प्रभाव पारेको हुन्छ।
मलाई लाग्छ, मृत्यु जिते भन्नु मानिसको भ्रम मात्रै हो। वास्तवमा उनीहरूले केही समयलाई आयु लम्ब्याएका मात्रै हुन्। जे भने पनि मृत्यु भनेको साश्वत सत्य हो। यो अकाट्य छ र जन्मेपछि मृत्यु अवस्य हुन्छ।
जसरी जन्म हुन्छ त्यसैगरी मरण पनि प्रकृतिले तालमेल मिलाउनकै लागि आफैं जुटाईदिएको हुन्छ। एक सेकेण्ड तलमाथि हुँदैन। मलाई लाग्छ, यो यमराजको प्रयोगशाला हो र उसले जसलाई चाहन्छ, त्यसैलाई टपक्क टिपेर लान्छ।
साधारणतः वृद्धावस्थामा पुगपछि अथवा शरीर बूढो भपछि आफैं जीर्ण भएर नष्ट हुनुलाई प्राकृतिक नियम मानिन्छ। तर, अरू आकस्मिक कारण आइलागेमा अल्पायुमै पनि मृत्यु हुनसक्छ।
जुनसुकै बेला मरण भए पनि शरीर सिथिल भएर कष्ट त व्यहोर्नैपर्छ। कष्टले शरीर अचेत भएपछि मात्रै प्राण बाहिर निस्कने रहेछ। जब प्राण बाहिर निस्कन्छ। अनि जीवनभरको कठोर परिश्रम र संघर्षलेसमेत विश्राम पाउँछ। त्यसपछि मृत्युशैय्यामा शरीर थकाई मार्नपुग्छ।
मरिसकेपछि के हुन्छ? मरेका मानिस कहाँ जान्छन्, मलाई यो बारे पटक्कै ज्ञान छैन। अलिक अगाडिसम्म यस्तो चाहियो, उस्तो चाहियो भन्ने मानिस आफैं शान्त हुन्छन्। वास्तवमा मलाई अचेल जिउँदा मान्छेको छट्पटाहटभन्दा मृत्युशैय्यामा आनन्द लिइरहेका मान्छेसँग बढी सजिलो महसुस हुन थालेको छ। जर्मन संगीतकार लुडविग भानबिथोवेन (सन् १७७०–१८२७) का अन्तिम शव्द सम्झन्छु, ‘ताली बजाउनुस्, साथीहरू! प्रहसन सक्कियो।’ आखिरमा मलाई पनि प्रहसन सकिएपछिको शान्त स्टेजमा आनन्दको महसुस हुन्छ।
जीव संरचनाका लागि प्रजनन र परिवर्तन चलिरहन्छ। ब्याक्टेरिया, अमिवा, भाइरसजस्ता अदृश्य जीवधारीको त जन्मने र मर्ने जीवनचक्र चलिरहन्छ भने मानिसको नचल्ने कुरै भएन। तर, मैले कतै पढे/सुनेअनुसार मृत्यु पनि अर्को जन्म हो रे!
भौतिक गतिविधि समाप्त भइसकेपछि जीवन अर्को चरणमा प्रवेश गर्छ। र आज गरेको कर्म भोलि पुनर्जन्मको वा अर्को चरणको जन्मको लागि तयार हुन्छ। गीतामा भगवान श्रीकृष्णले भने अनुसार, आत्मा अजर, अमर र अविनाशी छ। जीवनमा कर्म गरेको आधारमा फललाई समीक्षा गरिन्छ र अधुरा रहेका बाकी इच्छा पूरा गर्न अर्को शरीर खोजी गरेर आत्मा नयाँ शरीरमा प्रवेश लिन्छ।
पृथ्वीमा भौतिक शरीरको बोझबाट मुक्तिपछि आत्मा स्वतन्त्र हुन्छ। भनिन्छ, आफ्ना दिवंगत नातेदार, प्रियजन र साथीसंगीसँग पनि आत्माको भेट हुन्छ। बाँचेका मानिससँग मृत्यु अनुभव नहुने र मरेका मानिसले फेरि व्युझेर नभन्ने हुनाले आफैं नमरेसम्म थाहै नपाइने रहेछ। ‘म झण्डै झण्डैले मरेको’ भन्ने त मैले धेरै भेटेकी छु। तर, उनीहरुको अनुभव सपनाजस्तै मात्रै हुन्। पत्याउनै गाह्रो।
सानी हुँदा कतै पल्लो गाउँमा मान्छे मरेर एकोहोरो शंख बजेको सुन्दा पनि डरले साँझमा लघुशंका जान पनि साथी चाहिने मान्छे म जब अमेरिका आएर समुदायमा काम गर्न थालेँ, अनि मात्र मृत्युलाई राम्रोसँग नियालेर हेर्ने मौका पाएँ। अहिले त झनै कोभिड-१९ को महामारीको बेलामा मृत्यु नियालेर ओल्टाइपल्टाई गर्ने नै अवसर पाइरहेको छु।
वास्तवमा सकारात्मक सोच भन्ने कुरा जीवनमा सफलता हात पार्न मात्र होइन रहेछ, यो एउटा स्वस्थ्य मस्तिष्कको निरन्तर अभ्यास र अभियान रहेछ। सकारात्मक सोचले जस्तोसुकै जटिल परिस्थितिमा पनि सुखी र खुशी राख्न सक्दोरहेछ। जीवनको उत्तरार्द्धमा सबैभन्दा बढी काम लाग्दोरहेछ-सकारात्मक सोच। आफ्नो मस्तिष्कले नै आफ्नो भविष्य निर्माण गर्दोरहेछ।
मलाई थाहा छैन, पुनर्जन्मको बारेमा। तर असल कार्य गर्ने, नैतिक आचरण भएको र आफूलाई एकाग्रता गरी ज्ञानको विकास गरेका खुला मन र मस्तिष्क भएका मानिस मृत्युका बारेमा सोचेर बस्दा रहेनछन्। यस विषयमा धेरै छटपटाहट नहुँदोरहेछ।धेरैजसो मानिस करिब ६ महिना अघिदेखि एकाग्रता रुचाउँदा रहेछन्। कोही आक्रमक भएर आउने, कोही धार्मिक हुने हुँदारहेछन्।
एकाग्रतामा आफ्नो वौद्धिक लेबल र क्षमता अनुसारको मोक्ष अनि मुक्तिको बारेमा सोचविचार गर्ने,केही गल्ती भए प्रायश्चित गर्ने मौकाको रुपमा पनि लिँदारहेछन्। जीवनमा कुनै ठूलो गल्ती नै गरेको भए पनि पटक पटक गरेको प्रायश्चितले मनको मैलो पखाल्ने मौका मिल्दोरहेछ। ईर्ष्या, लोभ, डाह, क्रोध, प्रतिशोध, मोह, वासना, आलस्य, शत्रुताले भने अरूलाई होइन, आफ्नै जिन्दगीलाई कष्टकर बनाउनेरहेछ।
मृत्यु ब्यक्तिपिच्छे फरक हुन्छ। एउटै कोठामा बर्षौदेखि सँगै बस्ने दुईजनामा पनि फरक फरक हुन्छ।कोही आफू मर्ने कुरालाई स्वीकार गर्न नै रुचाउँदैनन्।
मर्ने जानकारी गराईसक्दा पनि यो सबै गल्तीले भएको र ल्यावटेष्ट रिपिट गर्न भन्छन् र भविष्यका अनेक तानाबाना बुनिरहन्छन्।
कोही असाध्यै रिसाएर खाना र वरपर रहेका बस्तु फाल्न खोज्छन् अनि आफू जवान नै रहेको अथवा समय नपुग्दै काल आएको भन्ठानेर रोष प्रकट गर्छन्।
कोही भगवानसँग मलाई यो सुन्दर संसारबाट नलैजाऊ बरू अरूलाई लैजाऊ भन्दै रूँदै-कराउँदै जीवनको भीख मागिरहेका हुन्छन्। कोही मानिस मर्ने कुरालाई लिएर डिप्रेशनमा जान्छन्। आफूले गरिरहेका काम गर्न नसक्दा, कान नसुन्दा वा आफ्नो शारीरिक अवस्था अत्यन्तै कमजोर बन्दै जाँदा गहिरो डिप्रेशनमा जान्छन्।
तर, धेरै मानिसले भने मृत्यु स्वीकार गरेर अन्तिम दिनको तयारीमा जुटेका हुन्छन्। मेरो भाइटल साइन कस्तो छ? मर्नलाई कति दिन जति लाग्छ होला? अन्तिम दिनलाई सकेसम्म पीडारहित र सहज गराईदिन माग पनि गर्छन्। मेरो अन्तिम संस्कारको लागि वकिलसँग कुरा गर्छु, मेरा प्रियजनलाई म मर्ने कुरा बताउँछु भनेर उत्साहित पनि हुन्छन्। उनीहरु भावनात्मक रूपमा छुट्टि सकेर त्यो दिनका लागि सबै कुराबाट बिदा हुन तम्तयार हुन्छन्। तर, अकस्मात् हुने मृत्युमा भने यो लागू हुँदैन।
कोभिड–१९ को केसमा पनि जो मानिस अरूको ईर्ष्या गर्ने, क्रोधी, अरूको अपमान गर्ने, ब्यंग्य गर्ने र अनावश्यक भोजनको आदत भएकाले त्यति सहज मृत्यु स्वीकार गरेको देखिएन।
जो जीवनप्रति सकारात्मक सोच राख्ने, चिन्तन/मनन गर्ने, सफल मानिसको जिवनी पढ्ने मानिस ‘अब दिन आएको रहेछ वा माथिबाटै लिन आएको भए पनि ठीकै छ, मेरो जिन्दगी त बाँचिहालेँ नि’ भनेर सहजै स्वीकार गर्दारहेछन्। यस्तो सकारात्मक सोचाईले पनि मृत्यु वातावरणलाई सहज बनाईदिँदो रहेछ।
जीवनमा मृत्यु सूचनाबिना नै अकस्मात् अथवा कुनै दीर्घरोग लागेपछि वा बुढेसकाल लागेपछि यसको अपेक्षा गरेको लामो समयपछि पनि आउनसक्छ।
‘जिन्दगी कति बाँचिन्छ भन्दा पनि कस्तो बाँचिन्छ’ भन्ने कुरा महत्वपूर्ण हुनेरहेछ। जिन्दगीको मज्जा लिने क्रमसँगै मृत्युचिन्तन गर्नु पनि जीवनमा अत्यन्तै जरूरी रहेछ।
यद्यपी ‘जतिबेलै मरिहालिन्छ’ भनेर कामै गर्न छोडेर बस्ने भन्ने होइन। तर, मृत्यु कुनै पनि बेला आउने हुनाले यसको बारेमा सोच विचार गरिराख्यो भने आफैलाई सहज हुनेरहेछ।
घर, गाडी, सम्पत्ति, पैसा, छोराछोरीलगायत भविष्यका लम्बेतान योजनाले मानिसलाई न वर्तमानमा नै खुशी दिन्छ, न त भविष्यमा नै। मानिस कि त लोभमा फसेका छन्। कि त भयमा जिन्दगीका हरेक पलको मज्जा लिँदै र सकेसम्म सत्कर्म गर्दै वर्तमानमा मात्रै बाँचियो भने खासै मृत्यु–पश्चाताप पनि नहुनेरहेछ।
अथवा, भागवत गीताको सार अनुसार ‘कर्म गर, फलको आशा नगर’ भने अनुसार गर्यो भने पनि धेरै मानसिक पीडाबाट मुक्ति मिल्नेरहेछ।