आपत्तिजनक ‘कमेन्ट’ गरेको आरोपमा बलिउड अभिनेता एजाज खान पक्राउ

बलिउड अभिनेता एजाज खानलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ। फेसबुक लाइभका क्रममा आपत्तिजनक ‘कमेन्ट’ गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

उनी यसअघि पनि कयौँ पटक घृणा फैलाउने खालका अभिव्यक्ति तथा पार्टीहरुमा झैझगडा गरेको आरोपमा पक्राउ परिसकेका छन्।

उनले फेसबुक लाइभमा भारतमा मुसलमानहरुमाथि अन्याय भइरहेको बताएका थिए।

उनले भनेका थिए, ‘यदि एक कमिलो मर्‍यो भने मुसलमान जिम्मेवार हुन्छ, यदि एक हात्ति मर्छ भने मुसलमान जिम्मेवार हुन्छ। यदि दिल्लीमा भुकम्प आयो भने एक मुसलमान जिम्मेवार हुन्छ, यसको मतलब कुनै पनि घटनाका लागि मुसलमान जिम्मेवार हुन्छ। तर के तपाईले कहिल्यै सोच्नु भयो, यस षड्यन्त्रको लागि को जिम्मेवार छ’’

उनी मुम्बईको भायखलाबाट विधानसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव समेत लडिसकेका छन्। यद्यपि उनी पराजित भएका थिए।

उनले फेसबुक लाइभको क्रममा मुम्बईको बान्द्रा स्टेशनमा केहीदिनअघि जम्मा भएको मानिसहरुको भीडको जिम्मेवार राजनीतिक पार्टीहरु भएको समेत आरोप लगाएका थिए।

एजाज खान चर्चित टेलिभिजन रियालिटी शो बिग बोसमा पनि प्रतियोगिका रुपमा सहभागि भइसकेका छन्।

उनी गत वर्षको जुलाईमा पनि आफ्नो अभिव्यक्तिका कारण पक्राउ गरेका थिए।

प्रकाशित मिति: : 2020-04-20 06:13:31

प्रतिकृया दिनुहोस्