बर्दियाका बुद्धिराम थारु चिउरा, दालमोठ र केही प्याकेट चाउचाउको भरमा परिवारसहित दोलखाको तामाकोसी गाउँपालिका, जफेबाट पैदल हिँडेका थिए । ‘भोकले मर्नुभन्दा रोगले लगेको जाति‘भनेर उनी श्रीमती, १७ वर्षका छोरा मिलन र १२ वर्षकी छोरी शिलासहित हिँडेका थिए ।
लकडाउनको सुरुवाती दिनमा उनी मजदुरी गरिरहेकै थिए । तर, बिस्तारै काम रोकियो । ठेकदारसँग सम्पर्क टुट्यो । त्यसपछि उनीहरूलाई दोलखामा टिक्न गाह्रो भयो ।
‘नगरपालिकाले सहयोग गर्ने भनेको सुनेर गयौँ । तर, नागरिकता नहुँदा राहत पाएनौँ’, थारुले मसिनो स्वरमा अनलाइनखबरसँग भने, ‘एक्लै भए जसोतसो काटिन्थ्यो श्रीमती र छोराछोरी पनि थिए । उनीहरूकै पिरले पनि सधैँ पोलिरहृयो ।’
श्रीमती र छोराछोरीले पनि जे पर्लापर्ला हिँडेर भएपनि गाउँ नै जाऔं भन्न थाले । आफू र श्रीमती त हिँडिएला, छोराछोरी कसरी हप्तौंसम्म हिँड्लान् भन्ने चिन्ता थियो । परिवारमा सबैभन्दा कान्छो छोरी शिलाले पनि भनिन्, ‘नखाइ बस्नुभन्दा अरु हिँडौँ ।’
छोरीको कुरा सुनेपछि उनलाई हौसला मिल्यो । गाउँमा आफ्नै खेती थियो । त्यसैले घर पुग्नसके जसरी पनि बाँचिन्छ भन्ने लागेपछि उनीहरूको यात्रा सुरु भयो ।
परिवार लिएर १ वैशाखमा दोलखाबाट हिँडेका उनी मुख्य सडकबाट हिँड्दा प्रहरीले नियन्त्रणमा लिने सक्नेमा जानकार थिए । त्यसैले स्थानीयसँग सोध्दै जंगलको बाटो हिँडे । बाटोमा अरु पनि हिँडिरहेका भेटिए । तर, उनीहरूको जस्तो गतिमा थारु परिवार अघि बढ्न सकेन । ‘बच्चा भएकाले अरुसँगै हिँड्न सक्ने कुरै भएन । बिस्तारै आयौँ’, बुद्धिरामले अत्यासलाग्दो यात्रा वृत्तान्त सुनाए, ‘राति पनि सुत्नलाई केही थिएन । कतै खाली ठाउँ भेट्दा एकछिन ढल्किँदै हिँड्यौँ ।’