कर्मरेखा

कथा

विनता भट्टराई

म्यान्मार, हाल थाइल्यान्ड

हिजै जस्तै लाग्छ थाइल्यान्ड टेकेको आज १७ वर्ष पुगेछ। थाहा छैन! घडीको सुईले दिनलाई आफैंपट्टि तान्दै कसरी बेर्दोरहेछ कुन्नि? समयले कतिपय स्वतन्त्रताको मौका चुम्यो होला, कति चोटि उचाल्दै पछार्दै गर्‍यो होला कुनै लेखाजोखा छैन।

थाइल्यान्ड - साह्रै  छक्कपर्दो ठाउँ। धुलो, मैलो, हिलो कतै नभाको! बाटामाथि पनि बाटा, घरमाथि पनि घर, आकाशमाथि रेल गुड्ने, घरहरू पनि कति अग्ला-अग्ला, एउटै मकानमा हाम्रा गाउँका भन्दा ठूला-ठूला घरहरू  सय, सय अटाएका रहेछन्।

जुनसुकै बेला पनि सडकमा मानिसको मेला झैं भीड देखिने, बाह्रैमास जे खोज्यो त्यही तुलफूल पाइने, अझ अरू सरसामानको त कुरै नगरौं। कस्ता-कस्ता अचम्म लाग्दा सामान!

मेरो काम ४० तले एक मकान भित्र १२ (ए) मा बस्ने भारतीय  परिवारमा थियो। भारतीय भाषा मलाई बोल्न कुनै दुःख थिएन। त्यसैले मालिकसँगको संवादमा कुनै कष्ट भएन। फुर्सदको बेला मकानको छानासम्म गएर बहिरबाट थाइल्यान्डको प्रकृति निहाल्ने गर्थ्येँ। जहाँबाट पूरा थाइल्यान्डको दृश्य समेटेर आफू सानामा हुर्केका गाउँका दृश्यसँग दाँज्ने गर्थ्येँ।

आफ्नो गाउँका बाटाघाटा घर र यहाँको परिवेशलाई पटक-पटक जाँच्थेँ। हाम्रो गाउँको धुलो, मैलो हटाएर यहाँको जस्तै सडक छपाउन कति लाग्छ होला भनेर मनमनै सोच्ने गर्थेँ।

मलाई थाइल्यान्ड खुब मनपर्थ्यो। त्यतिबेला महिनामा २ दिन छुट्टि मिल्थ्यो। त्यो समय साथीसँग मिलेर घुम्न जान पाउँथ्यौं। मलाई यहाँका नयाँ नयाँ मिठाइ र परिकार असाध्यै मनपर्थ्यो। छुट्टिमा रोजी-रोजी किनेर खाने गर्थेँ।

बा-आमा सानैमा बितेकाले म र भाइ (पवन घिमिरे) लाई फुपूले हुर्काउनुभयो। सानैमा बा-आमाको मायादेखि बञ्चित हामी दिदीभाई एकआपसलाई खुब माया गर्छौ।

मोगाउँको चान्बारी गाउँमा जन्मिएका हामीलाई बा-आमाले आफ्नो जिउनी जमिन चिनोस्वरूप छोडिदिएका रै’छन्। ठूला भएपछि मात्र थाहा पायौं। जमिन ५ एकडको रै’छ। त्यहाँ फुपूका परिवारले अझैसम्म तुलफूल लगाएर जिविका चलाइरहेका छन्।

लालपुर्जा भने हामी दुईको नाउँमा लेखिएको रहेछ। फुपूले ४ कक्षासम्म धन्न पढाइदिनुभएछ। अक्षर चिन्न पाउनु म टुहुरीको लागि सौभाग्य हो। त्यसपछि घरको काम मेलापात यस्तै घरेलु काममा अल्झिएर बढेँ। कहिलेकाहीँ मिठाइ खर्च १/२ पैसा पनि दिनुहुन्थ्यो। बेलाबेलामा कसैकसैले १/२ पैसा दिएर बाख्रा चराउन पठाउँथे। यसरी पैसा मिलेकोमा म खुब खुसी हुन्थेँ।

मलाई बर्मिज (श्याङ जातिले) पकाएको ठोपु पुरै मीठो लाग्थ्यो। यसरी अरौटे कामबाट मिलेका पैसाले किनेको खानेकुरा भाइलाई पनि खुवाउँथेँ। जब थाइल्यान्ड पसेँ त्यसपछि भाइसँग मेरो ५ वर्ष भेट भएन। त्यसैले भाइलाई सम्झेर रूने गर्थेँ।

थाइल्यान्ड छिरेको लगभग २ वर्षपछि मेरी कान्छी आमाको भाइसँग आफन्तमा मेरो बिहेको कुरो चलेछ। भित्रभित्रै पक्का पनि भइसकेछ। ‘केटो टेलरमा काम गर्छ। तलब पनि राम्रै खान्छ। मान्छे खाइलाग्दो छ। पूजाको जस्तो रूप उस्तै भाग्य पनि चम्किलो रहेछ। अब पूजाले जागिर नखाए पनि हुन्छ’, बिहे हुनु अघि यस्तै कुरा भएका थिए।

उही भलाद्मी सीताराम निरौलासँग मेरो बिहे भयो। समयले कहाँबाट कहाँ पुर्‍यायो पत्तै छैन।

१.   हाल म एउटा पश्चिमी विदेशी परिवारमा जागिर खाँदैछु। हप्ताको एक दिन छुट्टि मिल्छ। छुट्टिमा छोरोले आफ्ना हप्ता दिनका क्रियाकलाप नबिसाई सुनाउने गर्छ। यसपालि त दङ्ग पार्‍यो- ‘म ठूलो मान्छे भए पछि मामा माइज्यूलाई खुब सघाउँछु ल! आफूलाई उपकार गर्नेलाई कहिल्यै भुल्न हुँदैन अरे आमा, विद्यालयमा गुरूले सिकाउनुभएको छ। उहाँहरूले दिदी र मेरा हरेक कुरामा ख्याल राख्नुहुन्छ। अझ माइज्यूले त हामीलाई कत्ति धेरै माया गर्नुहुन्छ। ल… आमा,’ भन्दै (काखमा लुटुपुटु भएर) च्वाप्प म्वाई खाँदै मेरो ८ वर्षे छोराले भन्यो।

अवोध बालकको आफ्ना उपकारी व्यक्तिप्रतिको साहनुभूति देखेर मेरो मन खुसीले भित्रभित्रै पखेटा हालेर उड्न थाल्यो। आहा! (मेरा सपनाहरू अवश्य फुल्नेछन् भन्ने तथ्य भेटे झैँ लाग्यो।) मेरो सानो छोरो आज यति बुझ्यो भने ठूलो भएपछि आफ्नो कर्तव्य कसो नबुझ्ला?  खुसीहरू आँखाभित्र आँसुसँगै पौडिन थाले। साँच्चैमा  यी मेरा अमूल्य सम्पत्ति भनौं अथवा, ईश्वरको देन २ सन्तान (छोरी रीना र छोरा राजा) का हत्केलामा उद्धेश्यका तेजिला रेखा कोरिदिने प्रयासमा छु।

छोरी भन्छे, ‘आमा मलाई बाह्र कक्षापछि अष्ट्रेलियामा खुट्टा मात्र टेकाइदिनू, म पढाइसँगै जागिर पनि खान्छु त्यसपछि घरको जिम्मेवारी उठाउन सक्छु। मामा माइजुको गुन पनि त बिर्सनुहुन्न नि हामीले। आज मामा माइजु नभइदिएको भए हाम्रो के हुन्थ्यो होला?’ छोरी कम बोल्ने प्रवृत्तिकी छे। तर सोचेर बोल्छे।

१४ वर्षे छोरी रीना उसका बुबाले अर्को बिहे गर्दा मात्र ९ वर्षकी थिईन्। उसलाई आफ्नो बुबाले अर्को बिहे गरेको कुरामा धेरै लाज लागेको छ। कुनै साथीले बुबाको बारेमा सोधेमा ऊ तीन दिनसम्म झोक्राएर बस्छे। नत कसैसँग कुरा गर्छे, नत केही चिज खान्छे। उसलाई यो बारेमा मुख खोल्न निकै गाह्रो लाग्छ।

श्रीमानले छोडेर गए पनि मेरा भाइ बुहारीले मेरो अपाङ्ग परिवारलाई सधैं आढ-भरोसा दिएर उनीहरूकै परिवारको सदस्य बनाइदिए। भाइको मन साँच्चै विशाल छ। मलाई कहिल्यै पनि ‘तँ पराईँ घर गईसकेकी होस्। तेरो हक के छ? यहाँ’ भनेर इशारासम्म गरेन।

बुहारी पनि उस्तै मिजासिली, आँखामा राख्दा पनि नबिजाउने छिन्। मलाई आफ्नै दिदी र बच्चालाई आफ्नै सन्तानलाई भन्दा कम माया दिएकी छैनन्। यिनीहरुको सहारा नपाएको भए आज म कि, आत्महत्या गर्थेँ, कित पोइल जान्थ्येँ होला!

सहाराविहिन मान्छे बाटो चिप्लिएर पछारिन केही बेर लाग्दैन। मान्छेलाई आखिर मायाले नै जिउने र भविष्यबारे चिन्तन गर्ने आशा दिलाउँछ। यी मेरा मुटुका टुक्रालाई आफ्नो उद्धेश्यमा पुर्‍याउनु छ। यहीँ जमर्कोले मलाई हिजो भन्दा आज सरसाउँद बनाएर बँचाएको छ।

छोराछोरीको उमेर जतिजति बढ्दै जान्छ उति नै उनीहरूसँगै मेरो ईच्छा बल दुगुना बढेर जान्छ। (मेरो कर्म  खै! केको झ्वाँकमा लेख्यो विधाताले पत्तै छैन)। त्यसमाथि ‘जो होचो उसैलाई घोचो’ भने झैं मान्छेले कमजोरी व्यक्तिको दिनचर्या नङ्याउँदै आफू भलाद्मी भएको अड्कल काट्छ।

संसारमा मान्छे आफ्नो अन्न पचाउनका लागिसमेत अर्काकोबारे अनावश्यक चासो लिने र कुरा काट्ने गर्छ होला! धेरैजसो फुर्सदिला म माथि प्रश्न गर्छन्, ‘तिम्रा बुढाले किन अर्को बिहे गरेका?’ तर यस बारेमा मलाई साँच्चै केही थाहा छैन। कसैकसैलाई भन्छन् अरे, ‘अर्कोसँग लागेकी थिई’ कसैलाई ‘धेरै पैसा मास्ने, हुर्दासे छे,’ अचेल यस्तै यस्तै मान्छे पिच्छेका खबर सुन्न पाइन्छ।

बुढाले आखिर किन यत्रो धोका दिए भनेर मलाई पनि चासो छ। त्यसैले हिजोआज उनले म्यासेन्जरमा केही कुरा सोधे भने जवाफ दिने गरेकी छु। ‘एक फेर उनले कुरैकुरामा छोरा मागे। सौतासँग राखेर पढाइदिन्छन् अरे।’

(अचेल मलाई बुढाका कुनै कुनै कुराले आश्चर्य लाग्छ। मैले यी भविष्यका ताराको आँखामा धमिलो जलधारा कसरी बगाउन सक्छु होला। एउटी नारीलाई जिन्दगीको दोबाटोमा कलिला बच्चासँग छोडेर पनि अझै धित मरेनछ। मेरा दु:खका पाटाहरूमा काँडा लगाउन पो सोचेर फेरि बोल्ने गरेको रैछन्)।

मेरा यी अवोध बालकले उसको कुन जन्मको ऋण तिर्नु  थियो कुन्नि आज सौतेनी आमाको हातमा सुम्पन लाउँदै छन्। म मरेको भए पनि ठिकै थियो। मेरा बच्चा हेर्ने कोही नभएकोमा सौता ल्याएर बच्चाको रेखदेख गरे भन्नू! (हे ईश्वर मसँग अझै के-के कुराको परीक्षा लिनु ? म त्यति गरीब कसरी भएँ कि! मेर बच्चा अजिङ्गरका मुखमा स्वयं बुझो लगाउनपर्ने भय।) मलाई धेरै रिस उठ्यो र भनिदिएँ, ‘के उसबाट बच्चा नजन्मने भएपछि मेरोसमेत  कोख रित्याउने सोच्यौं? सौता लिएर परिवार त भत्काएका थियौ अझै मेरो छोरो पनि दिने हक लाग्यो र सौतामाथि?’

त्यसपछि उनले भने, ‘विचारधारा उच्च राख्नुपर्छ। जे पायो त्यहीँ किन सोच्छौं। ऊ एउटी असल नारी हुन्। तिमीभन्दा धेरै पढालेखा छिन्। त्यसैले  बच्चालाई राम्रोसँग पढाउन सक्छिन्!’

'मेरा बुढाको यो कुरा सुनेपछि मलाई मान्छे लगाएर पिट्न लगाउनेसम्मको रिस उठ्यो। तर दुनियाँलाई नाटक  किन देखाउनू?। नत पिटेर यो बुढेसकालमा उनको बुद्धीले सही दिशा भेट्ने हो!

पुरूषलाई किन घरको माया लाग्दैन होला? यी बालकको दया किन नभएको होला?  आमालाई जस्तो बुबाका मनमा बच्चाको भविष्यमाथि कल्पना किन नभएको होला?  ‘म त खान्दानी छोरो हुँ नि। हाम्रो समाजमा ठूलो नाम छ। हाम्रा हजुरबाको नामले हामी अझै चिनिएका छौं,’ के, उमेर छँदा एकपछि अर्को गर्दै धेरै स्त्रीसँग सम्झौता गर्नु पुरूषको धर्म हो?

उनका हजुरबाका ३ स्वास्नी थिए रे, बाका पनि ३ जना र उनको पनि तीन जना पुर्‍याउने नै विचार रै’छ भनेर मैले यी कुरा बल्ल बुझ्दै आएँ।

वास्तवमा परिवाको जिम्मेवारी के हो भनेर थाहा पाउनेले यस्तो काम किन गर्छन्? अझ कसैले भन्छन् कान्छी बुढीले मोहनी लगाएकी रे! सुन्दा पनि कन्सिरी तातेर आउँछ। यी अबोध बालकको तोते बोलीले नलगाएको  मोहनी त्यो नकचरीले कसरी लगाई?

बाल क्रियाकलापमा उनी कहिल्यै रमाएनन्। बच्चाको चाहनालाई लात्त हान्दै हिँडे। आज सम्झिए होलान्-बुढेसकालमा सहारा त अवश्य चाहिन्छ। त्यसैले खोजी गरेका होलान्।

मेरा बुढा पनि थाइल्यान्ड आएको २२ वर्ष नाघेछ। मिचिना शहरको खिमातिरी भन्ने शाखामा सुखसयलमा हुर्केका रहेछन्। ३ गुणका परिवार भएकाले घर पनि धर्मशाला झैं ठूलो र सदस्य पनि धेरै रहेछन्।

थाइल्यान्ड आएपछि घरमा त्यतीसारो हेरचाह गर्न नपरेकाले कमाए जति सबै पैसा आफूसँगै राख्ने गरेका र बेलामौका आमालाई हातेखर्च पठाउँदा रहेछन्। मसँग बिहे हुँदै ५० हजार तलब थियो। म त जम्मा ३ हजार तलब खान्थेँ। उनको १ महिनाको कमाइ जति जम्मा पार्न म जस्तालाई २ वर्ष कुर्नुपर्थ्यो।

उनको कमाइ राम्रो भएर के भयो र मलाई चलाउन कहिल्यै मिलेन। पतिपत्नीको बन्धनमा बाँधिए पनि पैसामा आ-आफ्नो हिसाब चल्थ्यो। जसोतसो छोराछोरी जन्मँदा २ महिनासम्म कोठामा आएको हरेक खर्च टार्थे। त्यसपछि आफन्तलाई बच्चा हेर्न लगाएर आफू पनि काम गर भन्थ्ये।

मसँग बिहे भएकै १५ वर्ष भयो। आजसम्म उनको कमाइ कुन ठाउँमा ताल्चा मारेर राखेका छन् कुनै पत्तो छैन। हिजो भर्खर एउटी साथीले आश्चर्य जनाउँदै सोधी, ‘पूजा! तेरा बुढासँगै हुँदा कुन किसिमको नशा सेवन गर्थेँ हँ?’ उसको प्रश्नमा मैले छक्क पर्दै भनेँ, ‘के कुरा गरेकी अनिता! मेरा बुढा नशावान् हैनन्। उही कहिलेकाहीँ अण्डाको सितनमा वियर पिउने गर्थे।’

उसले फेरि प्रश्न थपि, ‘बिरामी भएको निहुँ पारेर कुनै आषधि त  लिँदैनथे?’ मैले पनि प्रश्नको उत्तर सजिलै दिएँ, ‘उनको पेट दुख्ने समस्या भएकाले एक किसिमको गोली सधैं सेवन गर्थे। तर किन औषधि सोधेकी?’ उसले हाँस्दै भनी, ‘तँ कति सोझी छेस् तेरो बुढाले (नं. ४) अफिन सेवन गरेको हुनुपर्छ। नत्र आजसम्म तेरा बुढाले कमाएको धनको एक झुपडी पनि के कारणले भएन विचार गर् त! दुनियाँ थाइल्यान्ड आएर ४/५ वर्ष कमाएको साना तिना तलब खानेले पनि आफ्नो ठाउँमा महल बनाउँछ। कसैले यहीँ ब्यापार तिर लगानी गरेर जग्गा जमिन आफ्नो बनाउँछन्। तेरा बुढा थाइल्यान्ड आएको २ दशक नाघ्दासम्म खाली कसरी?’

जब मेरी साथीले यसरी कुरा खोतली तब मैले बल्ल लख काटेँ ‘ऊ एक नशावान व्यक्ति रहेछन्। जुन परिवार छोराछोरीको मायामा भन्दा २४ सै घण्टा नशामा मस्त झुलेर एक्लै रमाएको! त्यसैले छोराछोरीलाई कहिल्यै मेरो नानू, मेरो बाबू भनेर काखमा राखेनन्। सधैं परैबाट बोलाउँथे। बोली फुटेदेखि ‘खै बुबालाई ठूली गरेको?’ भन्थ्ये।

छोराछोरी विचराले बाबुको माया कस्तो हुन्छ भन्ने सँगै छँदा पनि जानेका थिएनन्। उनीहरू बाबुको अगाडि सधैं थरथर काँप्थे। तर उनीहरुलाई बुबालाई नमस्ते नगर्दा थप्पड खाएको कुरा भने अझ‌ै बिर्सेका छैनन् र बेलाबेलामा त्यो कुरा खोतलेर मन दुखाउँछन्।

माया भन्ने चिज एक आपसमा साटासाट हुनुपर्‍यो नि! एकोहोरो माया कहाँ अडिग हुन्छ र! जब बुढेसकाल लाग्यो तब काजकिरिया गर्ने छोरो चाहियो होला। तब त परिवार सम्झिए।

आज आएर बल्ल परिवारमा फेरि मिसिन चाहँदैछन्। पहिला यी छोराछोरीको मायाले नरसाएको माया आज अचानक कसरी पग्लियो त्यो ढुङ्गे छाति? तर..... मलाई मिल्नु छैन। मात्र ४ वर्ष कुर्नुछ अब त्यसपछि त मेरा सपनाहरू आफ्नै आँगनमा एकएक  फुल्नेछन्।

यी मेरा थाकेका हातगोडाले पक्कै मल्हम पाउनेछन्। अनि त किन चाहियो यो उमेरमा श्रीमान। जुन बेला सहारा चाहिएको थियो त्यो बेला पिठ्यूँ फर्काएर हिँड्याथे। अब छोराछोरी ठूला भएपछि किन चाहियो ऊ....।

प्रकाशित मिति: : 2020-04-18 17:00:00

प्रतिकृया दिनुहोस्