लघुकथा
यसपालिको तिहारमा सम्पन्न भएको 'जुवा-प्रतियोगितामा' दुई रात छ्याङ्गै पारेर दस हजार रूपैयाँ हारेका जेठाबाजे भाइ-टीकाको राति मस्त निदाएका थिए।
दिनमा एक मुठा बिँडी तान्न बानी परेका बाजेको राति एक बजे निद्रा खुल्यो। बाजे चक्चकाए। अर्ध-चेतमा भए पनि बिँडीको तलतल खप्नै नसक्ने बाजेले आँखै नखोली इष्ट-कोटको गोजीबाट बिँडी र लाइटर एकैचोटि झिके।
दैवको लेखा बाजेलाई के थाहा? आधा सपना आधा विपनाका रोटेपिङमा हल्लिएका अवस्थामा गोजी भित्र के के छ? ठम्याउने सुद्धि थिएन। जे भेटे पनि बिँडी सम्झने बाजेले लाइटर झ्यार्र पारेर 'बिँडी' सल्काएका मात्र थिए--बाजेका मुखमा 'पटका' पो ड्याम्म पड्कियो।
बाजेका जुँगा सहित ओठमुख झिल्सियो। पन्ध्र दिन अस्पताल बस्दा बाजेका मुखले सिलेनपानीबाहेक अरु कुनै परिकारहरू खानै सकेनन्। अस्पतालको दस हजार रुपैयाँ बिल तिरेर बाजे घर आए।
धुम्रपान स्वास्थ्यका लागि मात्र 'हानिकारक' होइन रहेछ, ओठ, मुख र जुँगाको लागि त 'खतरनाक' रहेछ भन्ने कुरा बाजेले यसैपालि थाहा पाए।