‘माया गर, युद्व होइन-अमेरिकन भनाई।’
केही त हामीबिच पक्कै थियो, जीवनको यो मोडसम्म उनलाई सम्झीरहेँ। स्कूलको त्यो समय आज फर्केर हेर्दा २७ वर्ष भएछ। तर सप्पै कुरा हिजो जस्तो। गाउँको स्कुलमा पाँच कक्षा र केही पर अर्को गाउँको स्कूलमा सात कक्षा सकेर साथीसँग मेरो तेस्रो र अन्तिम स्कूल जाँदै थिएँ। मलाई के थाहा थियो र, त्यो बाल सुलभ मस्तिस्कमा बसेको सम्झना यति परसम्म मसँगै हिँड्नेछ भनेर, गाउँबाट बजारको स्कुलमा प्रवेशिका परीक्षासम्मको अध्ययनको लागि भर्ना भएको थिएँ, जुन मेरो गाउँबाट ५ किलोमिटर टाढा थियो।
नयाँ ठाउँ, नयाँ स्कूल, नयाँ साथीभाइ सँगै बजारको प्रभावले हामी साथीभाइ उसै मखलेल थियौं। लाग्थ्यो यो अर्कै संसार हो, म अहिले पनि बजारमा चल्ने त्यो सुगन्ध अझै अनुभव गर्दैछु। नेपालको पूर्व पश्चिम सडक बजारको बिच भागबाट गएको थियो जसमा गाडी कुदिरहन्थ्यो। शुरूका केही दिन हामी साथीहरु स्कुल जाँदा आउँदा सडक किनार बसेर गाडीको नाम याद गर्थ्यौ। पछि बिस्तारै हामी बजारिया हुँदै गयौं।
स्कूलको पहिलो केही महिना रमाईलो तथा संकोचमा बिते। बजारमै घर भएका र त्यही पढिरहेका साथीको अलि बढी चमकधमक बीच हामी सुस्तरी घुलमिल हुँदै गयौं।
हामी चाडोभन्दा चाँडो उक्त अवस्थासँग परिचित भएर सहज हुने सोचका साथ आफ्ना प्रभाव छाड्न प्रतिवद्ध थियौं। हामी उक्त स्कुलमा दोस्रो दर्जाको विद्यार्थी भएर रहनेवाला थिएनौं। किनभने, हाम्रो समूह पढ्नमा निकै तेज जो थियो। हामी दह्रो प्रतिष्पर्धामा ओर्लियौं।
हामी जस्तै अन्य स्कूलबाट आएका विद्यार्थी पनि जमेर प्रतिष्पर्धामा लागेका थिए। कक्षा आठको त्यो एक वर्षको समय यस्तै द्विविधा र प्रतिष्पर्धामा बिते।
त्यहाँका धेरै आँखामध्ये उनको ती दुई आँखाले मलाई चिनेझै हेर्यो। मेरो आँखाले पनि खै किन हो, उसलाई देखेर सजिलो अनि आनन्दित महशुस गर्न थाल्यो। उनी पहिलेदेखि नै त्यहीँ पढिरहेकी एक होनहार विद्यार्थी थिइन्।
हामी कक्षा नौ मा पुग्यौं। अब पहिलेको जस्तो अवस्था थिएन। हामी पुरानो भइसकेका थियौं। परीक्षाको नतिजा अनुसार अघिल्लो रोल क्रमहरु हामी एकै स्कूलबाट आएकाले कब्जा गरेका थियौं। यद्यपी हाम्रो उक्त समूह बीच उनले एउटा स्थान लिन सफल भईन्।
हामीलाई कडा चुनौति दिएर आफ्नो स्थान सुरक्षित गरिन्। उनको यो नतिजाले म खुसी भएँ। तर मेरा साथीहरू कसरी हामीले पुरै रोल क्रममा कब्जा जमाउन सकेनौं भनेर कुरा गर्थे।
उनको र मेरो हेराहेर देखेर नजिकका केही साथीहरूले मौका पाउँदा जिस्काउनेसमेथ गर्थे। म मख्ख हुन्थे। जीवनमा पहिलो पटक केही फरक अनुभव गर्दै थिएँ। त्यो बिल्कुलै नयाँ र अनौठो थियो मेरा लागि। हाम्रो पढाईको गुणस्तर हाम्रो पहिचान बन्दै गए। हामी सम्पूर्ण स्कुलभरि चिनिन थाल्यौं।
उनी र म परिचित थियौ, तर बोलचाल खासै थिएन। यद्यपी हाम्रा आँखाहरू चुपचाप बोल्न थाले। हाम्रो बोलचालको लागि तत्कालिन नेपाली समाज र हाम्रो मानसिक अवस्था समेत कहीँ न कहीँ बाधक थियो। आखिर हामी सँगै भएर पनि हिम्मत गरेनौं।
स्कुल सकेर बेलाबखत हाटबजारमा र सिनेमा घरमा आमने सामने नभएका भने होईनौं। खै, किन उसलाई देख्दा आवाज नै हराउँथ्यो। समयसँगै उनलाई आफ्नो जीवनको एक अभिन्न अङ्ग मान्दै गएँ। उनी नियमित स्कूल आउने विद्यार्थी थिइन्। कुनै कारणले स्कूलमा नदेख्दा मलाई एक प्रकारको छटपटी र बेचैन हुने गथ्र्यो।
कहिलेकाहीँ लाग्यो उसलाई सोधौं, बोलुँ। तर समयलाई अर्कै कुरा मञ्जुर थियो। कक्षा दससम्म आउँदा हामी अझै पनि आठ कक्षामा भेट हुँदा कै अवस्थामा थियौं। हामी बीच भेटघाट बोलचाल नभए पनि एक गहिरो सहजता थियो। उनी मलाई सँधै निगरानी गरिरहेझैँ लाग्थ्यो। हामी शिक्षकले पढाईरहँदा समेत एक अर्कालाई लुकिछिपी हेर्ने गथ्र्यौँ। खै किन हामी दुई बीच प्रशस्त मौका हुँदा पनि बोल्ने वातावरण जुरेन, वा भनौ हामीले शब्दलाई त्यती महत्व दिएनौं। सायद हाम्रा आँखाले एक अर्काको अवस्था र आउने भविष्यको बारेमा पक्कै थाहा पाएको हुनुपर्छ।
त्यसैले यतिका वर्षसम्म चुपचाप आ–आफ्नो यात्रामा हिँडिरह्यौँ। हामीले कहिले एक अर्कालाई खोजेनौं, जसै प्रवेशिका परीक्षाको रिजल्ट प्रकाशित भयो, हाम्रा आँखाहरू सधैका लागि टाढिए। खै किन हो, त्यो उमेर र समयले समेत हाम्रो यो सम्बन्धमा कुनै प्रभाव पारेन।
हामी दुवै जना एकअर्कालाई कुनै प्रकारको पीडा दिने अवस्थामा थिएनौं। हामी विपरित दिशामा हिड्यौँ फरक भविष्य र जीवनको लागि। तर मनमा सधैँ मिठो सम्झनाको रुपमा उनको बलियो कब्जा रहिरह्यो।
उनीसँग छुट्टिएर संसार घुमिरहेँ। तर, मलाई सधै लागिरह्यो एक दिन हामी अवश्य कुरा गर्छौं। सायद भेट्छौँ। किन भने हामी बिच जस्तो सम्बन्ध समयले रोपेको थियो, त्यसको जवाफ कम्तिमा मलाई चाहिएको थियो। हाम्रा आँखाहरुले बुझेको भाका व्यक्त हुनु नै थियो। मलाई ठुलो विश्वास थियो समय यति कठोर हुनेछैन।
उनको हकमा म मात्र अनुमान गर्थेँ। सायद उनी पनि यस्तै सोच्दी हुन्। म निश्चित थिएँ, एक दिन समयले केही मलाई बताउनेछ। आखिर किन मलाई त्यति कलिलो उमेरमा यो सबै अनुभव गर्ने मौका दियो। चाहेको भए म उनलाई खोज्न सक्थेँ। तर कहिल्यै अधीर बनिनँ। म आफ्नो जीवनमा अगाडि बढिरहेँ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै गत वर्ष मेरो फेसबुकमा एउटा नामले साथी बन्न सन्देश पठायो। त्यो नाम देख्ने बित्तिकै मेरो शरीरमा काँडा उम्रिए। मैले पहिले उक्त नामको चियोचर्चा गरैँ। हामीसँगै प्रवेशिका परीक्षा दिएका अन्य केही साथी पनि देखेँ। म निश्चित भएँ, यो त्यही मेरो करिव सत्ताइस वर्ष पहिले छुट्टिएको साथीको फेसबुक थियो।
केही समयको लागि म सोही समयमा पुगेँ। मैले एक प्रकारको असजिलो अनि डर जस्तो अनुभव गरेँ। उक्त दिन मैले उनको फेसबुकको खुब चियोचर्चा गरेँ। उनको सम्पूर्ण परिवारलाई खुब नियालेँ। विशेषत उनलाई, छोराछोरीलाई अनि श्रीमानलाई निकै बेर हेरिरहेँ। कस्तो राम्रो मिलेको परिवार रहेछ र उनि निकै खुशी देखेँ। तर खै किन मलाई यस्तो लाग्यो यो भेटले हाम्रो सम्बन्धको केही कुराहरु खोल्नेछ।
साथी बनेको केही दिनमा उनैले पहिलो पटक मलाई हेलो भनिन्। मलाई मेरो मोबाईलामा जवाफ टाइप गर्न असजिलो भयो। सायद उनलाई पनि त्यस्तै भएको हुनुपर्छ, या भनौं मलाई साथीको लागि सन्देश पठाउन नै कति समय लागेको हुनुपर्छ। कति दिन त छटपटिमै बितेको हुनसक्छ।
उसैगरि मेरो इनबक्समा हेलो भन्न पनि कति अप्ठयारो भएको हुनसक्छ। कति पटक त उनले के के लेख्दै मेटेको हुनुपर्छ। कति हिम्मत र साहसका साथ उनले उक्त कुरा लेखेर मलाई पठाएको हुनसक्छ। यसर्थ उनको हेलोलाई मैले मायाँ र इज्जतले पढेँ। मैले जवाफमा उनको नाम नै लेखेर सोधेँ के छ तिम्रो? तिमी ठिक छौ? उनले मलाई सम्झिएको र म उनको सम्झनामा सँधै रहेको बताईन्।
मलाई एक प्रकारको छुट्टै आनन्दको अनुभूति भो। मैले पनि म थोरै मात्र साथीभाइलाई सम्झिन्छु, जसमा उनी रहेको बताएँ। तिमी मलाई सम्झन्छौ र? भनि प्रश्न गर्दै विश्वस्त हुन खोजिन्। हामीले उक्त दिन धेरै कुरा गरेनौं। कुराको अन्त्य तिर म भोलि अमेरिका उड्ने जानकारी दिएँ। उनले शुभयात्रा भनिन्। हामी बिदा भयौं।
लामो समयको मौनतालाई चिर्दै फेरि उनले हालखबर सोधिन्। हो, यस पटक उनको मनोदशा फरक पाएँ। उनले मलाई हाल खबर मात्र सोधिनन्, हामीले बताउने कुरामा ढाट्न नपाउने शर्त राखियो। मैले पनि खै किन लामो समयदेखि रोकेको अनुत्तरित प्रश्नको जवाफ पाउने आशा देखेँ। हाम्रो सामान्य कुराकानी सकियो। अब पालो थियो पुरानो त्यो अनुभवको दुवै पक्षको कुरा सुन्ने। उनी स्वीकार्दै थिईन् मेरा प्रश्नहरू। उनको स्वीकारोक्तिमा मेरो आँखाबाट हर्षका आँशुहरु पोखिदै थिए। उनी भन्दै गईन्, ‘तिमी स्कूल नआउँदा मलाई रित्तोपन महशुस हुन्थ्यो, तिमीलाई सम्झेर रोएकी छु। विवाह पश्चात पनि लामो समय त्यस्तै भईरह्यो। कहिले काहीँ त यस्तो लाग्थ्यो तिमी यतै कतै छौ। कति पटक हिँडिरहेको बेला अरू कसैलाई देखेर तिमी यहाँ कसरि भनेर झसङ्गसमेत भएकी छु’, हामी बिचको त्यो सम्बन्ध लामो समय हाम्रो अन्तरमनमा बसेर आज बाहिर निस्कँदै थिए।
उनको शब्दहरूमा मनोदशा प्रष्ट् देखिन्थ्यो। हामीले एकअर्कालाई बताउँदै थियौँ। ‘हाम्रो त्यो समय बिल्कुलै शुद्ध र जीवन्त थियो। जुन यो हाम्रो सम्पूण जीवनमा उस्तै ऊर्जा र शुद्धताका साथ रहनेछन्। मैले अन्त्यमा उनको खुशी परिवार र सुखी जीवनको लागि शुभकामना दिएँ। उनले पनि मलाई सम्मान र मायाले स्वीकारिन्।
कुराको अन्त्य तिर हाम्रो भेट हुनुनै छ, यो सम्बन्धको अन्त्यको लागि भनेर उसलाई बताएँ। ‘हाम्रो यो सम्बन्धको अन्त्य हुने गरी त भेट्नुछैन’, उनले आत्तिएर जवाफ लेखिन्। मानौं उनी आत्तिएको देखेर नजिकै बास बसेका एक जोडी परेवा भुर्र उडे। मैले उनको मायाँ अझ प्रष्ट महशुस गरेँ।
हो, हामीबीच अन्त्य गर्नुपर्ने के नै थियो र? यो त हाम्रो अनुभव र भावनाको अभिब्यक्ति मात्र थियो। ‘कुनै दिन आमने सामने भो भने के गर्छौ,’ भनेर मैले सोधेँ? उनले ‘के गर्छु थाहा छैन’ भनी। त्यहीँ प्रश्न मलाई सोधी र भनि ‘तिमी के गर्छौ?’ मैले भने, ‘म तिमीलाई एक पटक मायाले बेस्सरी अङ्गाल्छु र बिदा माग्छु।’ ‘सायद म पनि त्यस्तै केही गर्छु होला’ भनिन्। हामी दुवै हाँस्यौं।
अरू धेरै कुराको पनि बिट माररे हामीले बिदा माग्यौं। हामीले लामो समयको अनुभव सही भएको कुरा स्वीकारेर एक अर्कालाई बिदा गर्यौं।
हो, हामीले एक अर्काबाट टाढा, बेखबर चुपचाप माया गरिरह्यौ। उनलाई बिदा मात्र के भनेको थिएँ। मैले सम्झेँ–‘म त उसको आँखा देखेर मोहित भएँ, बरू उसले कसरी आफ्नो आँखा हेर्दी हो!’