नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन्।
चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको १९ वर्षीया प्रसिद्धि श्रेष्ठ शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन्।
काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन्। आफू पूर्ण निको भएर फर्किएको उनले सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन्।
आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् । उनले नहडबडाउन र नआत्तिन आग्रह गरेकी छिन्। आत्मविश्वास र दृढ इच्छाशक्तिले नै कोरोना भाइरसमाथि विजय पाउन सम्भव हुने बताउँदै उनले आफ्नो उपचारमा सहयोग गर्नुहुने सबै चिकित्सक र स्वास्थ्कर्मी एवं अस्पताल प्रशासनप्रति आभार व्यक्त गरेकी छिन्।
फ्रान्सदेखि कतारसम्मसँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना संक्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन्। त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।
उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन्।
गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए। उनी पनि ठीक भएर घर फर्किसकेका छन्। नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन्।