कोभिड–१९ ले ल्याएका चुनौती अनेक छन्। अहिलेसम्म त जीवनरक्षाकै सवालमा हामी अल्मलिइरहेका छौँ। अझैसम्म पनि सार्स कोभ–२ नाम दिइएको भाइरसबाट कसरी भाग्ने भन्नेबाहेक अरू कुनै उपाय सोच्न सकिएको छैन। यसविरुद्धको खोप आउन्जेलसम्म वा प्राकृतिक प्रतिरोध क्षमता मानव समुदायबीच व्यापक हुन्जेलसम्ममा यो भाइरस स्वयममा नै अर्को उत्परिवर्तन (म्युटेसन) आइसक्नपनि बेर छैन। भाइरसलाई नष्ट पार्ने औषधि लगायतका अन्य उपाय के निस्किएलान्, तिनले के गर्लान्, अहिले थाहा छैन। यी प्रश्नसँगै आउने अर्को ज्यादै ठूलो, महत्वपूर्ण र गाह्रो प्रश्न हो– अबपनि प्राणीजगत्का अन्य सदस्यसँग जुझेरै बाँच्ने प्रयत्न गरिरहने कितीसँग सहअस्तित्वमा बाँच्ने कौशल सिक्ने ?यसको उत्तर त यो शताब्दीको अन्त्यसम्म पनि आउला/नआउला भन्न सकिन्न। जे भएपनि ढिलो/छिटो मानिसले यसप्रकारको महामारीबाट जीवविज्ञान र चिकित्सा विज्ञानको सहारा लिएर जोगिने कुनै उपाय त पत्ता लगाउला भनौँ। तर जीवविज्ञान र चिकित्सा विज्ञानदेखि बाहिर टाढा/टाढासम्म मानव जीवनका अनेक महत्वपूर्ण क्षेत्रमा समेत यसका प्रभाव पर्न थालेका छन्।
एउटा अचम्मको विरोधाभासमा मानिस फसेको छ। एकातिर यो तहको विश्वव्यापी महामारीसँग जुझ्नका निम्ति झन् झन् बढी सूचना आदान–प्रदान अपरिहार्य भएको छ भने अर्कोतिर सूचना प्रविधिकै अत्यधिक उपयोग/दुरूपयोगका कारण मानिसको वैयक्तिक स्वतन्त्रता कुण्ठित हुने त हैनन् भन्ने त्रास झन् झन् बढिरहको छ। स्वतन्त्रतासँग अत्यन्त घनिष्टपूर्वक जोडिएका दुई अवधारणा हुन् प्रजातन्त्र र मानव अधिकार। नयाँ देखा परेका संकटका कारण यी दुवै नै किन या किसिमले परिभाषित हुनुपर्ने होला कि भने यिनलाई जोगाउन सूचना प्रविधिमा अंकुश लगाउनुपर्ने होला। तर यो अंकुशले फेरि फरक किसिमले मानवअधिकार र लोकतन्त्रलाई नै कुण्ठित पार्न सक्छ। सम्पूर्ण मानवजाति त्यो प्रेमीजस्तो भएको छ जो कुनै खतरनाक महलकी सुन्दरीसँग प्रेममा छ र कुनै पनि बेला उसको ज्यान जान सक्छ तर आफ्नी प्रेमिकाप्रति यति आशक्त छ कि ऊ त्यसबाट विमुख हुनै सक्दैन। अनेक रूपमा उसकी प्रेमिका देखा पर्छे। यतिबेला उसका दुई प्रमुख अवतार भने भौतिक ‘विकास’को कहिल्यै नमेटिने तृष्णा र सूचनाप्रविधिका अनेक रूपमाथिको निर्भरता वा दुव्र्यसनमा देखा परिरहेका छन्।