प्रहरीले आफ्नाे कार्यशैली सुधार्न पर्‍याे: आयोग

बिएल संवाददाता

काठमाडाै‌ं

लकडाउन पालना गराउने नाममा भएको कुटपिटले स्वास्थ्यकर्मीको मनोबल गिर्ने अवस्था सिर्जना भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको छ।

गत बुधबार ड्युटी सकेर फर्किँदै गरेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकत्रय डा‍ शम्भु खनाल, डा‍‍ तेजप्रकाश शर्मा र डा विकास शाहमाथि प्रहरीले कुटपिट गरेको थियो । घटनालगत्तै विभिन्न पेसागत संगठनसँग मिलेर अनुगमन गरेको आयोगले चिकित्सकमाथि दुर्व्यवहार भएको निष्कर्ष निकालेको हो ।

सुनसरीमा पनि स्वास्थ्यकर्मीमाथि प्रहरीद्वारा कुटपिट भएको आयोगका सचिव तथा प्रवक्ता देव भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। औषधि खरिददेखि अन्य अत्यावश्यक प्रयोजनका लागि घरबाट निस्किएका सप्तरी, दार्चुला, बैतडीलगायतका सर्वसाधारणमाथि पनि दुर्व्यवहार भएको आयोगको भनाइ छ ।

प्रहरीका एकपछि अर्का यस्ता हर्कतले स्वास्थ्यकर्मीको मनोबल खस्किने अवस्था सिर्जना भएको भन्दै आयोगले कार्यशैली सुधार्न प्रहरीलाई आग्रह गरेको छ ।

‘कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि अग्रपङ्क्तिमा रही कार्य गर्ने स्वास्थ्यकर्मीमाथि भएका यसप्रकारका कुटपिट तथा दुर्व्यवहारले जनस्वास्थ्यको हालको संकटको अवस्थामा उच्च मनोबलका साथ कार्य गर्नुपर्ने पेसाकर्मीहरुको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने भएकाले त्यस्तो कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चिता गर्न आग्रह गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।
 

प्रकाशित मिति: : 2020-04-17 17:48:24

प्रतिकृया दिनुहोस्