सन् २०१९ को डिसेम्बरमा चीनको वुहान, हुवेमा देखिएको कोरोना भाइरस द्रुतगतिमा विश्वमा फैली रहेको छ र नियन्त्रणमा आउने लक्षण अझै देखिएको छैन । नेपालमा पनि यो भाइरस चीनको वुहानमा अध्ययनरत विद्यार्थी नेपालमा फर्केपछि जनवरी ९, २०२० मा देखिएको थियो र संक्रमित बढ्ने क्रम रोकिएको छैन । संसार नै घरभित्र बन्द छ भने यसको असर फैलिन नपाओस् र समयमै न्यूनीकरण गर्न सकियोस् भनेर अहिले हाम्रो मुलुक समेत लकडाउनको अवस्थामा गुज्रीरहेको छ । यो महामारीका कारण मानव जीवनका हरेक आयाममा नकारात्मक असर परी रहेको छ ।
यो असहज परिस्थितिमा सबैले हातेमालो गर्दै मुलुकका सामु आएका अप्ठेराहरुसंग जुध्नै पर्दछ । विश्वका विकसित तथा धनी देशहरु समेत अहिले औषधिजन्य सामग्री र व्यक्तिगत सुरक्षा उपकरणहरुको अभावमा छट्पटाई रहेका बेला नेपाल जस्तो विकासोन्मुख देशले सहज आपूर्ति गर्न सक्दछ भन्ने निश्चय नै छैन । सहज वातावरणमा जस्तो सबै अपेक्षा कसैले पनि गरेका छैनन् र गर्नु पनि हुँदैन तर मुलुकभित्रैबाट महामारीका विरुद्धमा लड्न गर्न सकिने तयारीमा हामी चुक्न हुँदैन ।
विश्व नै संकटमा फसेका बेला अन्तर्राष्ट्रिय सहयोगको अपेक्षामा बस्न कदापि हुँदैन । आफैले नै संकटसंग जुध्ने उपायहरुका बारेमा पहल कदमी लिनु पर्दछ । केही वर्षअघि मात्रै पुनःस्थापित नेपाल औषधि उद्योग लि. ले सेनिटाइजर उत्पादन गरी आशाको दियो बालेको छ । यसैबाट प्रेरणा लिँदै आफुसंग रहेका स्रोत सामग्रीहरुको अधिकतम उपयोग गर्दै स्वदेशी उत्पादनद्वारा राष्ट्र र जनतालाई सहयोग पु¥याउन देशभित्रैका उद्योगहरुलाई प्रोत्साहित गर्दै वर्तमान समस्या समाधान गर्न नेपाल सरकार तत्पर रहनु पर्ने देखिएको छ । यसै सन्दर्भमा उद्योग मन्त्रालयले तत्काल चाल्नु पर्ने कदमहरुका बारेमा केही सुझावहरु प्रस्तुत गरेको छु ।
औद्योगिक क्षेत्रका साथै अन्य अनौपचारिक क्षेत्रहरुमा कार्यरत मजदुरहरु खाद्य संकटका कारण कार्यस्थल छाडेर बाह्र पन्ध्र दिनसम्मको पैदल यात्रा गरेर घर तर्फ जानु परेको बाध्यतालाई संवेदनशीलताका साथ मनन गरेर सरकारका तर्फबाट राहतको व्यवस्थाका साथै उद्योगका तर्फबाट समेत उनीहरुको रोजीरोटीमा ध्यान दिने व्यवस्था गरी गराई मजदुरहरुको संकट तत्काल समाधान गर्ने ।
समष्टिगत रुपमा लोकतन्त्रले प्रत्याभूत गरेका नागरिक स्वतन्त्रता र मौलिक हक तथा अधिकारहरुको संरक्षण गर्नु सरकारको दायित्व हो । लोकतान्त्रिक व्यवस्थामा साना तथा ठूला एवं निजी तथा सरकारी सबैखाले उद्योगहरुले फस्टाउने अवसर प्राप्त गर्नै पर्दछ । सामान्य अवस्थामा सरकारले संविधान, ऐन, कानूनहरुले दिएका अधिकारहरुलाई स्वतन्त्रतापूर्वक उपभोग गर्ने अधिकार दिए पुग्छ भने अहिलेको जस्तो महामारीमा ती उद्योगहरुको संरक्षण, सम्बद्र्धन एवं सुरक्षा गर्ने दायित्व पनि सरकारकै हो । त्यसैले उद्योगी–व्यवसायीहरुसंग छलफल गरी तत्कालै उद्योगहरु सञ्चालन हुने, लगानी नडुब्ने र उद्योगहरु फस्टाउने वातावरण उद्योग मन्त्रालयले सिर्जना गर्ने ।
१) उद्यमशीलता, निजी क्षेत्रका लगानी र संयुक्त लगानीका क्षेत्रहरुलाई विश्वास आर्जन हुने गरी सरकारले तत्काल कार्यक्रम ल्याउनु पर्ने । अहिले रोजगारी दिइरहेका र भविष्यमा पनि रोजगारीमा वृद्धि गर्न सक्ने यस्ता क्षेत्रहरुको सुरक्षा र विकासमा सरकार संवेदनशील हुनु पर्ने ।
२) अहिले मुलुकमा मास्क र सेनीटाइजरको अत्यधिक अभाव देखिएको छ । ती सामग्रीहरु घरेलु उद्योगहरु र साना तथा घरेलु उद्योग महासंघसंग समन्वय गरी आवश्यकता अनुसार स्वदेशमै उत्पादन गर्ने र देशैभर उपलब्ध हुने व्यवस्था गर्ने । सकेसम्म निःशुल्क नसके सहुलियत दरमा पिछडिएका तथा गरिबीको चपेटामा परेकाहरुलाई वितरण गर्ने ।
३) कोरोना महामारीको उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीहरुका लागि अति आवश्यक व्यक्तिगत सुरक्षा उपकरणहरुको माग त्यत्तिकै बढेको छ । कपडा तथा प्लास्टिकका गाउन, मास्क, टाउको छोप्न प्रयोग गरिने टोपी, पञ्जा, चस्मा, बुट आदि निर्माणका लागि स्वदेशी उद्योगहरुसंग सरकारले समन्वय गर्ने र उद्योगीहरुका बीचमा समन्वय गराई अभाव पूर्तिका लागि सक्रिय रहने ।
४) संकटमा सहयोग गरेका सबैखाले ठूला तथा साना उद्योगीहरुलाई भविष्यमा कर छुट र ऋणको व्याजमा सहुलियत दिने व्यवस्था सरकारले गर्ने ।
५) महामारीका रुपमा आएको कोरोनाका विरुद्ध प्रभावकारी हुने औषधिहरु नेपालकै औषधि कम्पनीहरुले उत्पादन गरी राहत मूल्यमा उपलब्ध गराउने व्यवस्था गर्ने ।
६) नेपाल औषधि लिमिटेडले सेनिटाइजर उत्पादन गरी महामारीमा आवश्यकता परिपूर्तिमा सहयोगी भूमिका खेलेको तथ्यलाई हृदयङ्गम गर्दै यसलाई अहिलेकै र भविष्यमा समेत आइपर्ने अन्य महाविपत्तिहरुको सामना गर्न सक्ने अवस्थामा पु¥याउन सबल बनाउने र विज्ञान तथा प्रविधिका स्रोत साधनहरु जुटाउन मद्दत गर्न तत्कालै आरम्भ गर्ने ।
७) विश्वमै अभाव हुँदै गएको सिटामोल नेपालमा उच्च गुणस्तरको उत्पादन हुँदै आएको छ । यसको उत्पादन बढाई कोरोनाको चपेटामा परेका अन्य मुलुकहरुलाई समेत सहयोगका रुपमा दिने अवस्था सिर्जना गर्ने ।
८) स्वदेशकै कच्चा सामग्री प्रयोग गरी उत्पादन गर्र्न र त्यसको प्रयोग हुने ग्यारेण्टी प्रदान गरी उद्योगहरुलाई स्वावलम्बनको मार्गमा अग्रसर गराउने ।
९) अनुसन्धान र विकास (research and development) मा गरिएको लगानीले उत्पादनशील उद्योगहरुमा नयाँ पद्धतिको प्रयोग र परम्परागत उत्पादनमा नवीनता आउनुका साथै लगानीको उच्च प्रतिफल दिने भएकोले अनुसन्धान र विकास (research and development) मा सरकारले लगानी गरी उद्योगहरुलाई प्रोत्साहित गर्ने ।
१०) संकटका बेला काला बजारियाहरु सक्रिय रहने तथ्यलाई बुझेर खाद्य उद्योगहरुसंग सहकार्य गरी अभावको अनुभव नहुने गरी जनताले सहुलियतमा जीवन यापन गर्न सक्ने अवसरको सृजना गर्ने ।
अन्त्यमा, संकटका बेला सबै एकजुट हुनु अनिवार्य हुने भएकाले यदि मेरो ज्ञान, सिप, अनुभव र क्षमतालाई सरकारले उपयोग गर्न चाहन्छ भने सहयोगका लागि सदैव तयार रहेको छु ।
जय नेपाल !
(पूर्व उद्योगमन्त्री कांग्रेस नेता जोशीले उद्योगमन्त्री लेखराज भट्टलाई बुझाएको सुझाव ।)