प्रदेश ५ सरकारले अलपत्र परेकालाई खाने बस्ने व्यवस्थासहित गन्तब्यसम्म पुर्‍याइदिने

प्रदेश ५ सरकारले विभिन्न ठाउँबाट घर जान भनी प्रदेश ५ को सीमाभित्र प्रवेश गरेका नागरिकलाई खाने बस्ने व्यवस्थासहित गन्तब्यसम्म पुर्‍याइदिने भएको छ।

सुरक्षा निकाय र स्थानीय तहहरुलाई पूर्वतिरबाट राजमार्ग हुँदै प्रदेशभित्र प्रवेश गरेका नागरिकलाई अलपत्र नपारी खाने बस्ने व्यवस्थासहितको अस्थायी क्वारेन्टाइनमा राख्न मुख्यमन्त्री शंकर पोखरेलले निर्देशन दिएका हुन्।

‘घर जान भनेर प्रदेश ५ भित्र आइपुग्नुभएका सबै नागरिकलाई शुक्रबारै प्रहरीको सहयोगमा नजिकै रहेको क्वारेन्टाइनमा गइदिन आग्रह गरेका छौं र खाने बस्ने व्यवस्था पनि गरिएको छ,’ उनले भनेका छन्।

प्रदेश सकारले आजैबाट पूर्वबाटआएका नागरिकलाई बस्न र खानका लागि बर्दघाटमा व्यवस्था मिलाएको छ। शुरुमा एक सय जनाको लागि व्यवस्था गरिएकोमा मान्छेको संख्या हेरेर बढाउन समेत स्थानीय तहलाई भनिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

‘विभिन्न ठाउँबाट हिडेर त्यहाँ पुगेकाहरुको प्रारम्भिक स्वास्थ्य जाँच गरी अस्थायी क्वारेन्टाइनमा राखिनेछ,’उनले भने,‘सबैको विवरण लिएर जो जुन ठाउँमा हुन् उनीहरुलाई प्रदेशभित्रका स्थानीय तहसँग समन्वय गरी गन्तव्यसम्म पुर्‍याउन पनि प्रदेश सरकारले नै समन्वय गर्नेछ।’

प्रदेश सरकारको समन्वयमा पुगेका नागरिकलाई सम्बन्धित स्थानीय तहले अस्थायी क्वारेन्टाइनमा राख्नेछन्। जहाँका नागरिक हुन् त्यहाँसम्म पुर्‍याउन आवश्यक व्यवस्था गर्ने निर्देशन मुख्यमन्त्रीबाट भइसकेको केसीले बताए।

प्रकाशित मिति: : 2020-04-17 14:24:05

प्रतिकृया दिनुहोस्