देशभर लकडाउन जारी रहेकै अवस्थामा विभिन्न परिस्थितिले रोकिएका बेलायती नागरिक स्वदेश फर्किएका छन्।
लकडाउनका कारण नेपालमा रोकिएका ४० नेपाली मुलका बेलायतीसहित २३३ जना टाइटनीक एयरबाट स्वदेश फिर्ता भएका हुन्।
लकडाउनको समयमा सबैभन्दा बढी जर्मन सरकारले एक हजार २०३ जना नागरिक फिर्ता लगेको छ। जर्मनीले चैत १४ गते ३०७, चैत १५ गते ३०५, चैत २२ गते ३०७ र चैत २६ गते २८६ नागरिकलाई स्वदेश फिर्ता लगेको छ।
त्यसैगरी फ्रान्सले चैत १५ गते र चैत २२ गते दुई उडानमार्फत ६०८ नागरिकलाई नेपालबाट फिर्ता लगेको छ। अमेरिकाले पनि चैत १८ र चैत २३ गते दुईवटा उडानमार्फत नेपालमा रोकिएका आफ्ना ६०५ नागरिकको उद्धार गरेको छ। बेलायतले चैत २६ र २८ गते दुई उडानमार्फत ५०० नागरिक लगेको छ।
अष्ट्रेलियाले नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरी २५७ नागरिक स्वदेश लगेको छ। नेपाल एयरलाइन्सको चैत १९ गतेको चार्टर उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन्। जापानले पनि नेपाल एयरलाइन्सकै वाइड बडी जहाज चार्टर्ड गरी चैत २८ गते १९३ नागरिक स्वदेश लगेको छ। क्यानाडाले कतार एयरवेजको चैत २९ गते जहाजमार्फत २०७ नागरिक लगेको छ। त्यस्तै चैत २२ गते मलेसियाले ६६ र चेक रिपब्लिकनले १०२ नागरिक घर फर्काएका छन् भने चैत २० गते नेदरल्याण्डले १२४ नागरिक स्वदेश फर्काएको छ।