सरकारले चैत १० गते बेलुका ११ गतेदेखि लागू हुनेगरी एक साताका लागि बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गर्यो । सबैतरि आवतजावत बन्द गरियो । जो जहाँ थिए त्यहीँ अड्किए । बाटो लागिसकेका पनि आफ्नो गन्तव्यमा पुग्न पाएनन् । अत्यावश्यक खाद्यान्नका पसल र अस्पतालबाहेक स्कुल, कलेज, व्यापार, व्यवसाय, उद्योग, निर्माण कार्यदेखि लिएर आर्थिक उपार्जनका र आयस्रोतका बाटा बन्द भए । यसको ठूलो असर बिहानदेखि बेलुकासम्म मजदुरी गरेर पेट पाल्नेहरुमा पर्यो । उनीहरुको ज्यालादारीका स्रोत बन्द भए । लकडाउन खुल्ने आशामा रहेकाहरु लकडाउन थपिँदै जाँदा आत्तिए । मनलाई सम्झाउँदै लकडाउनमा घरभित्रै बस्न खोजे पनि भोको पेटले कहाँ बुझ्थ्यो र ? भोको पेट न साट्न मिल्ने, न फाल्न नै । ’मर्नुभन्दा बहुलाउनु जाति’ भनेझैं जे भएको लुगाफाटो झोलामा कोचे र सुरु गरे सयौं माइलको बाटो पैदलै हिँड्न ।
केही जहाँ अध्याँरो भयो, त्यही सुते । खानेकुरा जे पाए, त्यही खाए । केही त नसुतेरै, भोकभोकै हिँडिरहे गन्तव्यतर्फ । यसरी हिँड्दै गन्तव्यमा जानेहरुमध्ये अधिकांश मजदुर छन् भने केही विद्यार्थी र केही विभिन्न कामको सिलसिलामा छोटो समयका लागि काठमाडौं आएकाहरु छन् । उनीहरुले यसरी हिँड्दै जाँदा भोगेको पीडाका कथा र व्यथा विभिन्न सञ्चारमाध्यममार्फत छापिए, बजे र देखिए ।