बर्नीको सिफारिस वारेनलाई, बढ्यो उपराष्ट्रपति उम्मेद्वारको सम्भावना

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकी राष्ट्रपति उम्मेद्वार जो बाइडनको उपराष्ट्रपति उम्मेद्वारमा सिनेटर एलिजावेथ वारेनको सम्भावना बढेको छ। सिनेटर बर्नी स्याण्डर्सले वारेनको नाम सिफारिस गरेपछि उनको सम्भावना बढेको हो। 

बर्नीले पूर्व राष्ट्रपति बराक ओबामामार्फत् बारेनको नाम सिफारिस गरेको बताइएको छ। बाइडेनलाई समर्थन गर्नुअघि ओवामा र बर्नीबीच विभिन्न चरणमा क्लोजडोर वार्ता भएको र त्यही क्रममा उनले वारेनको नाम सिफारिस गरेको बुझिएको छ।

बर्नीले डेमोक्रेटिक भित्रको प्रगतिशील धारलाई समेट्ने र उनीहरूको विश्वास जित्ने हो भने यो एक उत्तम उपाय हुने बताएका छन्। उनले २०१६ को गल्ती नदोहोर्याउन पनि यो प्रस्ताव सही हुने बताए ।

यसैबीच वाइडेनलाई समर्थन गरिसकेकी सिनेटर वारेनले पनि मुख खोलेकी छिन्। उनले बाइडनबाट उपराष्ट्रपति उम्मेद्वारको प्रस्ताव आएमा आफूले स्वीकार गर्ने बताएकी छिन्। 

अमेरिकी टेलिभिजन च्यानल एमएसएनवीसीसँग कुरा गर्दै उनले आफ्नो मनको कुरा राखेकी हुन्। 

उता, बाइडेनको चुनावी क्याम्पेन प्रवक्ताले भने यस बारेमा अहिले नै टिप्पणी गर्नु हतार हुने बताएको छ। 

पछिल्लो चरणमा जर्जियाकी अश्वेत नेतृ स्टासी अब्राम्स र मिचिगनकी गभर्नर ग्रेचेन ह्वायटमर पनि उपराष्ट्रपति उम्मेद्वार हुने दाउमा छन्। दुबैले त्यस्तो प्रस्ताव आएमा स्विकार्ने बताइसकेका छन्। यी तीनबाहेक अरू केही थप महिला नेतृ पनि यो दौडबाट बाहिर भैसकेका छैनन्। 

बाइडनले आफ्नो उपराष्ट्रपति उम्मेद्वार महिला हुने भनेर पहिलै घोषणा गरिसकेका छन्।

 

प्रकाशित मिति: : 2020-04-17 08:17:07

प्रतिकृया दिनुहोस्