(कोरोना संक्रमणबाट निको भएकी बाग्लुङकी ६५ वर्षीया महिलासँग सेतोपाटीका विवेक राईले गरेको कुराकानीमा आधारित।)
अरू दिनजस्तै म मोबाइलमा दोहोरी गीत सुनेर बसेकी थिएँ। साँझ ५ बजेतिर होला, बाग्लुङ बजारमा बस्ने ठूली छोरीले फोन गरिन्।
फोन कानमा हाल्नासाथ छोरीले 'आमा रिपोर्ट नेगेटिभ आयो' भनेर सुनाइन्।
सुरूमा त मैले पत्याइनँ।
योभन्दा अगाडि पनि सबैले यसै भनेका थिए, तर पछि 'पोजेटिभ' नै भन्ने भयो।
छोरीले फोन राख्नासाथ डाक्टरहरूले पनि नेगेटिभ आयो भनेर सुनाउनुभयो। त्यसपछि बल्ल विश्वास लाग्यो। लगत्तै धेरैको फोन आयो। सबैले एउटै कुरा भन्थे, 'आमा हामी तपाईंको आत्मबल देखेर छक्क पर्यौं।'
मलाई त सुरूदेखि यो भाइरसलाई जित्छु भन्ने विश्वास थियो। दोस्रो नतिजा पोजेटिभ आउँदा पनि दुःख लागेको थिएन। जहिले भए पनि यसलाई जितेरै छाड्छु भन्ने थियो। आज जितेरै छाडेँ।
हुन त अर्को नतिजा पनि नेगेटिभ आउनुपर्छ रे। तर आज राम्रो आयो भनेपछि त्यो त झन् राम्रो आउला नि!