आज पनि थपिएनन् कोरोना संक्रमित : र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकाको नतिजा ल्याबमा नेगेटिभ

उपचारमा रहेका १५ जना र एक जना निको घर फर्किएका गरी १६ जनाबाहेक अरू कोही पनि नयाँ कोरोना संक्रमित बिरामी फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बिहिबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै  प्रवक्ता डा. विकास देवकोटाले र्‍यापिड डाइगोनिस्टिक टेस्ट (आरडिटी) परीक्षणमा पोजेटिभ देखिएका केही नतिजा नेगेटिभ आएको जानकारी दिए।

संक्रमण फैलिने सम्भावना भएपछि अहिले ८ वटा जिल्लाबाहेक अन्य सबैमा र्‍यापिड टेष्ट गरिरहेको प्रवक्ता देवकोटाले बताए। इलाम ताप्लेजुङ, मनाङ लगायत आठ जिल्लामा टेष्ट भएको छैन।

पछिल्लो २४ घण्टामा स्वाव परीक्षण विधि र र्‍यापिड डाइग्नोष्टिक विधिबाट ३ हजार ६ सय ३२ वटा नमुना परीक्षण भएकोमा सबै नेगेटिभ देखिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वाव परीक्षण (पिसिआर) विधिबाट ३ सय ६९ जना र र्‍यापिड डाइग्नोष्टिक ( आरडिटी) विधिबाट ३ हजार २ सय ६३ वटा नमुना परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा गरिएका परीक्षण कुनै पनि पोजेटिभ नदेखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

वीरगञ्जको छपकैयामा मात्रै पछिल्लो २४ घण्टामा ४ सय  र्‍यापिड परीक्षण भएको छ । बुधबार पनि नयाँ संक्रमण देखिएको थिएन। अहिलेसम्म दुबै विधिबाट १९ हजार ३ सय ३२ परीक्षण भएका छन्। 

जसमा पिसिआर विधिबाट ७ हजार २ सय ४० र आरडिटी विधिबाट १२ हजार १ सय ९२ परीक्षण भएका छन् ।

देशभरी नै सरकारले आरडिटी परीक्षणको दायरा बढाएको छ । ८ जिल्ला बाहेक सबै जिल्लामा आरडिटी परीक्षण सुरु भएको छ । ताप्लेजुङ, इलाम, सोलुखुम्बु, डोल्पा, मनाङ, रुकुम पूर्व, ओखलढुंगा र खोटाङमा परीक्षण सुरु नभएको प्रवक्ता देवकोटाले बताए।

काठमाडौं उपत्यकाका १६ वटा नीजि अस्पतालले कोभिड क्लिनिक सञ्चालनको अनुमति पाएका छन् । यसअघि १५ हब अस्पताल, ६४ प्रादेशिक अस्पताल र २२ वटा नीजि मेडिकल कलेजहरुले सञ्चालन अनुमति पाएका थिए । 

४ हजार ९ सय १ जना अहिले क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ८ र बाहिर ९५ गरी १ सय ३ जना आइसोलेसनमा रहेका छन् । नेपालमा १६ जना कोरोना संक्रमित रहेकोमा १ जना उपचारपछि घर फर्किएका छन् । १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: : 2020-04-16 17:15:02

प्रतिकृया दिनुहोस्