पुल र बाटोमा बारः गाउँले चौकीदार

रासस

गलेश्वर

कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथामका लागि सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी)लाई बेवास्ता गरी आवतजावत गर्ने मानिसहरुलाई लक्षित गर्दै म्याग्दीका स्थानीय तहले बाटा र पुलहरुमा बार लगाएर सुरक्षित हुने उपाय अपनाएका छन्।

आवतजावतलाई रोक्ने र अटेर गर्नेलाई प्रहरीको जिम्मा लगाउन स्थानीयवासीले बाटा र पुलहरुमा बार लगाएर पालैपालो गरी चौकीदारी समेत गरेका छन्। म्याग्दीका बेनी नगरपालिकासहित मालिका, धौलागिरि, अन्नपूर्ण, रघुगङ्गा र मङ्गला गरी ६ वटै स्थानीय तहका युवा, आमा समूह र जनप्रतिनिधिको सक्रियतामा आवतजावत बढी हुने बाटो र पुलमा बार लगाइनुका साथै आलोपालो गरी चौकीदारी गर्न थालिएका हुन्। 
    
बाहिरबाट आउने नयाँ मान्छेसँगै सङ्क्रमण पनि भित्रिन सक्ने भन्दै यहाँका स्थानीयवासीले बाहिरका मानिसलाई बस्तीमा प्रवेश निषेध गरेका छन्। यसका लागि उनीहरुले आलोपालो गरी चौकीदारी गरेर बस्तीमा निगरानी गर्न थालेका छन्। बागलुङ, पर्वत, मुस्ताङ र रुकुमसँग सिमाना जोडिएको म्याग्दीमा एक जिल्लाबाट अर्को जिल्ला तथा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जाने आउने क्रममा वृद्धि भएपछि बाध्य भएर यस्तो उपाय अपनाउनु परेको स्थानीयवासीको भनाइ छ। 
    
म्याग्दीको सदरमुकाम बेनीबजारसँगै सिमाना जोडिएको बेनी नगरपालिका—२ बगरफाँटमा बेनीलगायत अन्य ठाउँबाट मानिसहरु आउने क्रम बढेपछि बगरफाँटको रिभरसाइड युवा क्लवको पहलमा म्याग्दी नदीमाथिका तीनवटा पुल र पदमार्गमा बार लगाएर आउन जान नमिल्ने गरी बाटो छेकिएको क्लवका अध्यक्ष इन्द्रबहादुर जिसीले जानकारी दिए।

मङ्गलाघाटको पाती चढाउनेको पदमार्ग, बुद्ध एकेडेमी नजिकको म्याग्दी नदीमाथिको झोलुङ्गे पुल, डम्मरा बगरफाँट जोड्ने झोलुङ्गे पुल तथा चुत्रेनी र दुधेखोला जोड्ने झोलुङ्गे पुलमा बार लगाएर आवतजावतमा रोक लगाउनुका साथै निगरानीका लागि पालैपालो गरेर चौकीदारी गर्ने गरिएको अध्यक्ष जिसीले बताए।

त्यसैगरी म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरबाङ बजार प्रवेश गर्ने मूल सडकमा नै जनप्रतिनिधिको रोहबरमा स्थानीयवासीले भोटेताल्चा लगाएका छन्। कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिमबाट जोगिन मालिका गाउँपालिका–६ छ्यारछ्यारेमा सडकमा नै ताल्चा लगाएर स्थानीयवासीले आवतजावतमा रोक लगाएका हुन्। आपतकालिन बाहेक आवतजावत बन्द गरिएको मालिका गाउँपालिका वडा नं ६ दरबाङका वडा अध्यक्ष सन्तनाथ सुबेदीले बताए। लुकिछिपी आवतजावत बढेपछि म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरबाङबजार नजिकै छ्यारछ्यारेमा फलामे बार राखेर ताल्चा लगाइएको उनले जानकारी दिए।
  
पश्चिम म्याग्दीको मालिका र धौवलागिरी गाउँपालिकासँगै छिमेकी बागलुङ र रुकुम जिल्लाबाट आवतजावत नरोकिएपछि आसन्न खतराबाट बच्न सडकमा नै ताल्चा लगाएर बन्द गर्नुपरेको अध्यक्ष सुवेदीको भनाइ छ। मालिकासँगै बागलुङको तमान, लाम्मेला र रुकुमबाट समेत मान्छेहरु आउन थालेकाले बाध्य भएर सडकमा कडाइ गर्नुपरेको उनले बताए।

वडाअध्यक्ष सुवेदीका अनुसार एक गाउँबाट अर्काे गाउँ जान–आउन समेत अवरोधलाई थप कडाई गर्ने गरी प्रहरीसहित ६ जना युवालाई खटाइएको छ। छिमेकी जिल्लाहरुका कारण दरबाङ समेत जोखिममा परेपछि स्थानीयवासीले बिरामी र अति आवश्यक परेकालाई सहज हुने गरी वडा अध्यक्ष सुवेदी, इलाका प्रहरी कार्यालय र लायन्स क्लव अफ दरबाङका पूर्वअध्यक्ष हिरा पुनलाई चावी दिइएको छ।
 
त्यसैगरी बेनी नगरपालिका १ रत्नेचौरमा पनि बागलुङ र छिमेकी वडा बेनपा २ ज्यामरुककोट आउजाउ गर्ने सडकमा छेकवार लगाइनुका साथै स्थानीयवासीले पालैपालो गरी चौकीदारी गर्ने गरेका बेनी नगरपालिका १ का युवा मोहन महतले बताए। रत्नेचौरसंग सिमाना जोडिएको बागलुङको कुडुलेकी एक युवतीमा कोभिड १९ को सङ्क्रमण देखिएको र हाल ती युवती धौलागिरि अस्पताल बागलुङमा उपचाररत रहेकीले सङ्क्रमण फैलिने डरले सडकमा नै बार लगाई निगरानी गर्नु परेको स्थानीवासीको भनाइ छ। यहाँका स्थानीयवासीले बस्तीमा नयाँ व्यक्तिको प्रवेश रोक्न पालैपालो आफैले निगरानी र गस्ती गर्दै आएका छन्। कोरोनाको सङ्क्रमण भित्रिन नदिन चौकीदारी नै गरेर उनीहरुले सर्तकता अपनाएका हुन्।

यस्तै बेनी नगरपालिका, मङ्गला र रघुगङ्गाको सिमानामा अवस्थित म्याग्दीको पर्यटकीय स्थल टोड्केमा पनि लकडाउनका समयमा मानिसहरु आउनेजाने क्रम बढेपछि पूर्णगाउँको लाल युवा क्लवको पहलमा सडकमा बार लगाएर आवतजावतमा रोक लगाइएको स्थानीयवासी मोहन केसीले जानकारी दिए।

प्रकाशित मिति: : 2020-04-16 16:47:50

प्रतिकृया दिनुहोस्