काठमाडौंबाट हिँडेरै बर्दियासम्मः साहु भाग्यो, खाने पैसा छैन, भोकभोकै मर्नुभन्दा घर जाँदाजाँदै मर्नु बेस!

समयः मध्यान्हको १२ बजे।

स्थानः नागढुङ्गा, काठमाडौं।

हातमा चिउरा/भुजा र पानीका १/१ वटा बोतल।  सबै जनाले हात्तीछाप चप्पल लगाएका थिए। भने झोला भिरेका।

यो दृश्य हो भक्तपुरबाट बर्दियाको ओरालीबजार जान हिँडेका लालबहादुर थारू र उनीका साथीहरुको।

गत चैतमा भक्तपुरको ढेँचोमा घरको काम गर्न आएका उनीहरूले ४ दिन मात्र काम गर्न पाए। तराईको ठेकेदारले १ हप्ताको लागि अग्रिम पैसा दिएको थियो। तर उनीहरूले काम गरेको ४ दिनमै सरकारले कोरोना संक्रमण फैलिन सक्ने भन्दै लकडान गर्‍यो।

उनीहरुले पाएको पैसा पनि सकियो, खानलाई समस्या भयो। सरकारले दिएको राहतमा उनीहरूले ५ किलो चामल, तेल, दाल, नून पाए। तर त्यसले पनि उनीहरूलाई २०-२१ दिन मात्र खान पुग्यो।

‘आएको ४ दिनमै लकडान भयो। पैसा पनि सकियो। राहत त दिएको थियो। तर ५ किलो चामलले कति दिन नै खान पुग्थ्यो र’, थारूले बीएल नेपाली सेवासँग भने, ‘बस्ने ठाउँ पनि थिएन। बनाइराखेको छानो नभएको घरमा कति दिन बस्ने हामी। मर्नुभन्दा ८-९ दिनमा घर पुग्न पाए राम्रो लागेर हिँडेका छौं।’

लकडान भएको २१-२२ दिन पुगिसक्दा पनि खुल्ने कुनै सम्भावना नदेखिएकाले र सरकारले दिएको राहत पनि सकिएकाले यहाँ भोकै मर्नुभन्दा आफ्नै गाउँमा गए बाँचिन्थ्यो कि भनेर हिँडेको लालबहादुरका अर्का साथी व्रिजेश थारूले भने।

‘हामी कहाँ बस्ने?, अर्काको घर। त्यो पनि पुरा बनिनसकेको। खाने बस्ने ठेगान नभएपछि मर्नुभन्दा जसो तसो घर पुगौंला भनेर हिँडेका हौ,’ उनले दुखेसो पोखे।

बिहान ८ बजे भक्तपुरबाट हिँडेका उनीहरू १२ बजे नागढुङ्गा पुगेका थिए। करीब ५ सय ४० किलोमिटरको दूरी पार गर्न अघि बढेका उनीहरू घर पुग्न १० दिन लागे पनि त्यहाँ पुग्न पाए बाँच्न पाउनेमा खुसी थिए।

नागढुङ्गा पछि करिब २ किलोमिटर तल भालुखोलामा १ महिलासहित ४ जना छहारीमा घाम छल्न र थकाइ मेटाउन बसिरहेका थिए।

झोला, म्याट्रेस, पानी र चाउचाउ, चिउरा बोकेर उनीहरू पनि बर्दियाको भुरीगाउँ पुग्ने लक्ष्य साथ हिँडिरहेका थिए।

घरपुग्न कति दिन लाग्छ भन्ने पनि थाहा नपाएका उनीहरू यसअघि कलंकीमा घरको काम  गर्दै आएका थिए। ठेकेदार भागेर गएपछि उनीहरूको विचल्ली भएको बर्दिया भुरीगाउँका हरिकृण चौधरीले बताए।

‘साहु लकडान भएपछि कता गयो, गयो! भएको पैसा पनि सकियो। भोकले मर्नुभन्दा ५-६ सय किलोमिटर हिँडेरै घर जाउँला भनेर हिँडेका हौं,’ चौधरीले भने, ‘सरकारले राहत बाँडे पनि हामीले पाएनौं, कसैले हामीलाई दिएन।’

ठेकेदारले होलीको समयमा अलिअलि पैसा दिएर गएको थियो। त्यो रकम सकिएपछि उनीहरू विचल्लीमा परेका हुन्।

भोकभोकै काठमाडौंमा मर्नुभन्दा घर जाँदाजाँदै मर्नु बेस भनेर बर्दियासम्म महिला भए पनि हिँडेर जान लागेको सोही समूहकी माया चौधरीले भनिन्।

‘भोकले मर्नुभन्दा हिँडेर मरौंला भनेर हिँडेका छौं। हेरम घर त पुगिन्छ होला नि?’, माया चौधरीले भनिन्।

घर जानेलाई गाडी व्यवस्था गर्दै युवा

यसैबीच धादिङ सिक्रेखोलाका ४ जना युवाले हिँड्दै घर जाने मानिहरूका लागि पानी, चाउचाउ र गाडीको व्यवस्था गरिरहेका थिए। उनीहरूले काठमाडौंमा खाद्यान्न लगायतका सामानहरू बोकेर गएका सवारी साधनहरूलाई रोक्दै घर जान लागेका मानिसलाई सवारी साधन पुग्ने ठाउँसम्म पुर्‍याइदिने व्यवस्था गर्दै आएको सुनिल पाण्डेले बताए।

‘हामीले हिँडेर आउने मानिसलाई काठमाडौंबाट फर्किने मालबाहक ट्रक र गाडीलाई रोकेर पठाइरहेका छौं’, पाण्डेले बिएल नेपाली सेवासँग भने।

आज (मंगलबार) देखि सिक्रे खोलाहुँदै हिँडेर आउने पैदल यात्रीहरूलाई चाउचाउ र पानी दिएर पठाउने गरेको उनले बताए। बिहानदेखि दिउँसो २ बजेसम्म १५ जना दाङ र बर्दिया जान हिँडेका मानिसलाई गाडीमा हालेर पठाएको पाण्डेले बताए।

गाडी चालकलाई विपदको समयमा यात्रुसँग भाडा नलिन पनि उनीहरूले आग्रह गर्दै आएका छन्।

प्रकाशित मिति: : 2020-04-16 18:52:00

प्रतिकृया दिनुहोस्