कोरोनाको माहामारीबीच थाइल्यान्डका राजा २० महिलाको साथ जर्मनीको अल्पाइन होटेलमा रमाउँदै

एजेन्सी

काठमाडौं

थाइल्यान्डका विवादास्पद राजा महा वजिरलोंग्कोर्ण संसारभर कोरोना भाइरसको त्रास बिच जर्मनीको बाभेरियास्थित एक लक्जरी होटलमा मनोरञ्जनमा व्यस्त छन्।

रमा एक्स भनेर पनि चिनिने उनको साथमा २० प्रेमिका अरु दर्जनौँ दरवारीया कामदारसमेत जर्मनी पुगेका छन्।

एक सय भन्दा ठूलो समूह उनको साथमा रहेको बताइएको छ। दक्षिणी जर्मनीको भव्य रिसोर्टमा उनी सेल्फ आइसोलेसनमा केही दिनदेखि बसिरहेको डेलीमेलले उल्लेख गरेको छ। ‘ग्रान्ड होटेल सोन्नेबबिक’ मा उनी बसेको अन्तर्राष्ट्रियय मिडियाले जनाएका हुन् ।

समाचारका अनुसार उनले जिल्ला पार्टीबाट अनुमति लिइसकेपछि सम्पूर्ण ग्रान्ड होटेल बुक गरेका हुन्।

आफ्नो मनोरञ्जनका लागि राजाले कोरोना भाइरसको माहामारी बिचमा १२ हजार माईल यात्रा गरेर आफ्नै देशको नियम र लक्डाउन तोडेका छन्।

तर ६७ वर्षीय राजाले गत वर्ष मात्रै विवाह गरेकी चौथो पत्नी भने उनको टोलीमा छन् वा छैनन् भन्ने यकिन भइसकेको छैन। रामा पाँचौंको रुपमा पनि चिनिने थाइ राजा महाको उच्च विलाशी जीवनशैली हुनुका साथै उनको विवादास्पद छवि छ ।

उनले सन् २०१९ मा आफ्नै अंगरक्षक महिलासँग चौथो पत्नीको रुपमा विवाह गरेका थिए। उनले छोरा जन्माउन्जेलसम्म आफ्नो तेस्रो बिहे गोप्य राखेका थिए ।

जर्मन ट्याब्लोइड ‘ब्लीड’का अनुसार राजाले जर्मनीको उक्त सिंगो रिसोर्ट नै आफ्ना लागि अग्रिम बुक गरिसकेका थिए।

जर्मनीमा रहेको सबै गेस्टहाउस र होटेलहरूलाई कोरोनाभाइरसको कारण बन्द गर्न आदेश दिइएको थियो। तर, थाई राजा आउने भन्ने आदेश आइसकेपछि त्यो चार तारे होटेल खोलिएको हो।

एक सय १९ सदस्यीय टोलीमा उनी सुटुक्क जर्मनी पुगेका थिए ।

थाइल्यान्डमा पनि अन्य सबै कुरा बन्द गरिएको छ। तर राजाको ठूलो दललाई जिल्ला परिषदबाट विशेष अनुमति प्राप्त भएको छ ।

आफ्नो बुबाको मृत्यु भएको झन्डै तीन वर्ष पछि उनी गत मे मा राजा भएका थिए।

थाई राजा कुनै न कुनै विवादमा परिरहेका हुन्छन्। त्यसैले उनलाई विवादास्पद राजा भनेर पनि भन्ने गर्छन्।

यसैबीच, संकटको बेला राजा जर्मनीमा गएर रमाइलो गरिरहेको खबरले थाइल्याण्डका जनतामा भने आक्रोश पैदा गरिरहेका छन्। ठूलो संख्यामा मानिसहरु सामाजिक सञ्जालमा राजाको आलोचना गरिरहेका छन् । यो देशमा राजाको आलोचना गर्नेमाथि १५ वर्षसम्मको जेल सजाय हुनसक्ने कानून छ। तर, यसको परवाह नै नगरी सर्वसाधारण उनको आलोचनामा उत्रिएका छन् । त्यहाँका १२ लाखभन्दा बढी मानिसले ‘हामीलाई यस्तो राजा किन चाहियो ?’ भन्दै ट्वीट गरिसकेका छन् ।

थाईल्याण्डले पनि आपतकालिन अवस्थालाई मध्यनजर गर्दै दुई साता अघि नै लक्डाउनको घोषणा गरेको थियो। थाईल्याण्डमा अहिलेसम्म २७ जनाको कोरोनाभाइरसको कारण मृत्यु भइसकेको छ  भने २५०० भन्दा बढी संक्रमितको उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2020-04-15 21:04:49

प्रतिकृया दिनुहोस्