नेपाल सरकारले कोभिड-१९ को जोखिम रोक्नका लागि गरेको लकडाउन लम्बिँदै जाँदा नेपालगञ्जमा व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिने गरेको छ।
नेपालगञ्जका न्यूरोड, त्रिभुवनचोक, सुर्खेतरोड, अस्पताल क्षेत्र र गणेशमान चोकमा रहेका विशेषतः खाद्य वस्तुका पसलले सामानको कृत्रिम अभाव देखाएर बढी मूल्य लिने गरेको उपभोक्ताको गुनासो छ।
उपभोक्ताले बढी मूल्य किन लिएको भनेर गुनासो गर्दा व्यापारीको सहज जवाफ आउने गरेको नेपालगञ्ज—१९ का लक्ष्मण केसीले बताए।
व्यापारी भन्ने गर्छन्, ‘थोकमा माल नै पाइँदैन। हामीले पनि बढी मूल्य तिरेर ल्याउने गरेका छौँ।'
लकडाउनअघिसम्म अस्पताल क्षेत्रको अनुपम डेरीबाट रु एक हजार प्रतिलिटरमा पाइने घिउ अहिले प्रतिलिटर रु एक हजार ६० मा बिक्री गरेको उनको गुनासो छ।
उपभोक्ताका गुनासा आफुले सुन्दै आएको बताउदैं पनि सुन्ने गरेको बताउँदै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने, 'कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिने पसलको अनुगमन गरी कारवाहीको दायरामा ल्याउनेछौं।'
लकडाउनअघि बजार अनुगमन गर्दै आएका नेपालगञ्ज उपमहानगरपालिका, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता संरक्षण कार्यालयको भूमिका शून्य भएपछि पनि व्यापारीले कृत्रिम अभाव र मनपरी मूल्य लिने गरेका उपभोक्ताको भनाइ छ।