मंगलबार अपराह्न काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनालाई कोरोना भाइरस संक्रमणको आशंका गरेर प्रहरीले पाटन अस्पताल पुर्यायो।
सनसिटी अपार्टमेन्ट शील गरेर भित्र बस्नेलाई बाहिर निस्कन र बाहिरकालाई भित्र प्रवेश गर्न रोक लगायो।
स्वास्थ्य मन्त्रालयका अनुसार करीब एक महीना पहिले बेलायतबाट फर्केका आमा, छोरा र बुहारीमा गरिएको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) ले नतिजा पोजिटिभ देखाएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको हो।
अस्पताल भर्ना भएका तीन जनामध्ये ८१ वर्षीया वृद्धा र उनका ५७ वर्षीया छोरामा पुनः परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो। तर बुहारीको नेगेटिभ आयो।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको तीनै जनाको कोभिड-१९ भए/नभएको यकिन गर्ने विश्वव्यापी परीक्षण विधि पोलिमेरेज चेन रियाक्सन (पीसीआर) परीक्षणमा आमा र छोरामा मात्र कोरोना भाइरसको संक्रमण देखियो। तर बुहारीको पहिलो परीक्षणमा नेगेटिभ देखिएको हो।
एन्टीबडी बेस्डको र्यापिड टेष्टमा पोजेटिभ रिपोर्ट आउनु भनेको कोरोना संक्रमण भएर उनको शरीरमा भाइरस प्रतिरोधी शक्ति विकास हुनु हो।
बेलायतबाट फर्किएका परीवारमध्ये र्यापिड टेस्टमा पोजिटिभ आए पनि बुहारीको पीसीआर भने नेगेटिभ आएपछि उनलाई बेलायतमै रहँदा संक्रमण थियो र उनीबाटै परिवारमा सर्यो या बेलायतबाट आएका परिवारलाई नेपालमा आईसकेपछि अन्य कसैबाट संक्रमण भयो भन्ने विषयमा चिकित्सक अन्यौलमा छन्।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचाररत दोस्रो र तेस्रो संक्रमितको परीक्षणलाई आधार मान्ने हो भने उनिहरू अस्पताल बसेको ३ साता भन्दा बढी भईसक्यो। उनीहरूलाई तेस्रो पटकसम्म पीसीआर परीक्षण गर्दा पनि पोजेटिभ नै देखिएको छ।
यसबाट हेर्दा पनि आमा छोरा बेलायतमै संक्रमित भएका हुनसक्ने देखिन्छ। बेलायतबाट आउनासाथ परीक्षण गरेको भए संक्रमण देखिने सम्भावना रहन्थ्यो। तर, त्यो हुन सकेन त्यसैले उनीहरूको संक्रमण आयातित हो या यतैबाट सरेको हो भन्न सक्ने अवस्था छैन।
बेलायतबाट फर्किएको सो परिवारलाई कोरोना संक्रमणको परीक्षण किन ढिला गरियो भन्ने प्रश्नमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोना संक्रमणको लक्षण देखिएपछि मात्र पीसीआर अर्थात स्वाव परीक्षण गरिने डब्लुएचआरको मान्यता भएकोले संक्रमणको जोखिममा रहेकालाई र्यापिड परीक्षण प्रविधि केही दिनअगाडि मात्र अपनाउन सुरू गरेकोले परीक्षणमा ढिलाई भएको जानकारी दिए।
प्रवक्ता देवकोटाका अनुसार कोरोना संक्रमणको पहिलो चरण पीसीआर मात्र देखिन्छ भने दोस्रो चरणमा पीसीआर र र्यापिड दुवैमा पोजेटिभ रिपोर्ट आउँछ। तर तेस्रो चरणभन्दा माथि अर्थात संक्रमित विरामी निको हुने अवस्थामा भने एन्टीवडी बेस्ड र्यापिड टेस्टमा पोजिटिभ र पीसीआर गर्दा नेगेटिभ आउँछ।
र्यापिड टेस्ट गर्दा नतिजामा ईम्यूग्लोब्युलिन–एम एण्टिबडी देखिएको हो भने यसलाई नयाँ संक्रमण भन्ने बुझिन्छ।
एन्टिबडी बेस्टको र्यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आउनु भनेको उनीहरूको शरीरमा भाईरस प्रतिरोधि शक्ति विकास हुनु हो।
र्यापिड टेस्ट गर्दा नतिजामा ईम्युनोग्लोव्युलिन एम एण्टिबडी आयो भने यो नयाँ संक्रमण भन्ने बुझिन्छ। ईम्युनोग्लोब्युलिन जी एण्टीबडी आयो भने संक्रमित मानिसमा भाईरस निस्कृय हुने क्रममा रहेको अथवा भाईरस् प्रवेश गरेको २८ देखि ३० दिन भएको हुनसक्छ।
डाक्टर देवकोटाका अनुसार बेलायतबाट आएका एकै परिवारमा परीक्षणको नतिजा फरक फरक आएकोले यो केसमा ईम्युनोग्लोब्युलिन एम एण्टिबडी देखिएको हो भने यो अनुसन्धानको विषय बन्नेछ।
‘यो केसमा ईम्युनोग्लोविन एण्डीबडी नहेरी अहिले केही भन्न नसकिने अवस्था छ। अब २ देखि ५ दिनभित्र पुनः जाँच गर्दा उनीहरूको दोस्रो रिपोर्ट नेगेटिभ आयो भने यो केस आयातित भन्ने बुझ्नुपर्छ,’ उनले भने।
बेलायतबाट फर्केको यो परिवारमा देखिएको संक्रमणको नतिजा हेर्दा अब कोरोना संक्रमणको नतिजाले आम मानिसमा झनै त्रास सिर्जना गरेको देखिन्छ। तसर्थ अबको दोस्रो परीक्षणको नतिजा आएपछि यसको विषयमा थप पुष्टि गर्न सजिलो हुने चिकित्सकहरू बताउँछन्।
हालसम्म सो अपार्टमेन्टमा बस्ने ३६ जनाको मात्र र्यापिड परीक्षण गरिएको छ।
के हो पीसीआर र आरडीटी ? यसरी हुन्छ कोभिड-१९ को नमूना परीक्षण
डा.रूना झा
कोभिड-१९ भए/नभएको यकिन गर्ने विश्वव्यापी परीक्षण विधि भनेको पोलिमेरेज चेन रियाक्सन (पीसीआर) परीक्षण नै हो।
अहिले हामीले गर्ने भनेको आरटीपीसीआर हो। यस विधिमा जुन नमूना हामीले संकलन गर्छौँ, त्यसमा भाइरसको जेनेटिक मटेरियल अर्थात जीनको टुक्रा छन् कि छैन भन्ने परीक्षण गरिन्छ। र, त्यो नमूनामा जीनको टुक्रा छ भने त्यो ठाउँमा भाइरस पनि बसेको छ भन्ने प्रमाणित हुन्छ। त्यसैले यो नमूनाबाट के थाहा हुन्छ भने त्यो समयमा नमूना लिएको व्यक्तिको शरीरमा भाइरस छ कि छैन, भाइरस छ भन्नुको मतलव संक्रमण छ भन्ने हुन्छ।
यसरी एकजना इन्फेक्सन भइसकेपछि त्यो भाइरस सम्बन्धित व्यक्तिको शरीरमा कति दिनसम्म रहने त्यो व्यक्तिपिच्छे फरक फरक हुन सक्छ। रोगविरुद्ध लड्ने शरीरको क्षमताका आधारमा ढिलोचाँडो हुन्छ। कुनै व्यक्तिमा छिट्टै भाइरसको अन्त्य हुन्छ भने कुनै व्यक्तिमा तीनदेखि चार हप्तासम्म रहन्छ।
तर, यो पीसीआर परीक्षण भनेको अत्यन्तै जटिल परीक्षण, समय लाग्ने प्रयोगशालाको सेटअप पनि विशेष किसिमको हुनुपर्छ। र, परीक्षण गर्ने व्यक्तिले पनि विशेष तालिम पाएको, विज्ञता भएको हुनुपर्ने हुन्छ। यो त नयाँ खाले रोग हो। विभिन्न वैज्ञानिकले यो रोग कुनै अर्को विधिबाट पनि परीक्षण गर्न सकिन्छ कि भनेर लगातार अनुसन्धान गरिरहनु भएको छ। अनुसन्धानको आभारभूत अध्ययन अनुसार हाल आएर शरीरले जुन भाइरससँग लड्नका लागि बनाउने एन्टीबडी हुन्छ त्यो एन्टीबडीहरू पनि परीक्षण गरेर यो रोग पत्ता लगाउन सकिन्छ कि भनेर नयाँ नयाँ विधिहरूको विकास भइरहेका छन्।
कोभिड–१९ विरुद्ध संक्रमण भएको व्यक्तिको शरीरले दुई किसिमको एन्टीबडीहरू बनाउँछ। शुरूमा बन्ने भनेको आईजीएम र त्यसपछि बन्ने भनेको आईजीजी हो। आईजीएम रोग लागिसकेपछि ३ देखि ५ दिन अर्थात एक हप्तापछि शरीरमा देखिन थाल्छ यो पनि व्यक्तिपिच्छे फरक हुन सक्छ। यो झन्डै २ वा ३ हप्ता शरीरमा रहन सक्छ।
रोग लागेको दुई हप्तापछि आईजीजी भन्ने एन्टीबडी बन्न थाल्छ। यो शरीरमा महीनौंसम्म रहन सक्छ। हामीले अरु रोगबाट यही अनुभव लिएका छौँ। शुरूमा रोग हुँदा भाइरस मात्रै भेटिन्छ। त्यसपछि पाँच दिन, सात दिन बितिसकेपछि आईजीएम भन्ने एन्टीबडी भेटिन्छ। अझ दुई हप्ता जति बितिसकेपछि आईजीजी भन्ने एन्टीबडी भेटिन सक्छ।
भाइरस हट्न एक महीनाजति समय लाग्न सक्छ। आईजीएम पनि नेगेटिभ हुन सक्छ। तर, आईजीजी धेरै लामो सयमसम्म रहिरहन सक्छ। भन्नुको मतलब हामीले परीक्षण गर्दा शुरूका दिनमा पीसीआर मात्रै पोजिटिभ आउन सक्छ। एन्टीबडीका लागि गरिने परीक्षणहरू नेगेटिभ हुन्छ। हप्ता दशदिन पछि पीसीआरबाट पनि पोजिटिभ आउने र एन्टीबडी पनि पोजिटिभ आउने हुन सक्छन्। त्यस्तै तीन हप्ता, चार हप्ता बितिसकेपछि जब शरीरबाट भाइरस हराइसकेको हुन्छ त्यसबेला पीसीआर नेगेटिभ आउने तर, एन्टीबडीको परीक्षणमा चाहिँ पोजेटिभ देखाउन सक्छ।
अहिले र्यापिड किटबाट पोजेटिभ आयो र पीसीआरमा देखिएन भन्ने जुन जिज्ञासा छन्, यी सबै यस्ता कारणले हुन सक्छन्।
एन्टीबडी परीक्षण गर्ने विभिन्न विधिहरू विकास भइरहेका छन्। यो आफैंमा कुनै नयाँ विधि होइन। डेंगु, हेपाटाइटिस, एचआईभी यी सबैको डाइग्नोसीस एन्टीबडी परीक्षणकै माध्यमबाट हुन्छ। यो एन्टीबडी परीक्षण गर्ने विभिन्न विधि छन्, त्यसमध्ये एउटा एलाइजा हो। जुन धेरैजसो प्रयोगशालामा प्रयोग गरिने विधि हो। अर्को र्यापिड टेस्ट हो। एलाइजा पनि हाम्रो ल्याबमा उपलब्ध छन्। त्यसका लागि पनि ल्याबभित्रै बसेर परीक्षण गर्नुपर्छ। एलाइजा गर्न मेसिन र दक्ष जनशक्ति चाहिन्छ। र, यो पनि एउटा, दुईवटा परीक्षण गर्दा गाह्रो हुन्छ। ४ देखि ६ घण्टा पनि लाग्ने हुन सक्छ। केही कम्पनीहरूले कोभिडको एन्टीबडी परीक्षणका लागि एलाइजा प्रविधि पनि विकास गरिसकेका छन्।
अर्काे एन्टीबडी परीक्षणको सजिलो विधि भनेको आरडीटी किट हो, जुन हाल नेपालमा पनि भित्र्याएका छौँ। नेपालसँगसँगै अरु पनि धेरै देशहरूले परीक्षण गरिरहेका छन्। अमेरिका, यूके, अष्ट्रेलिया, भारतले पनि आरडीटीबाट परीक्षण शुरू गरिसकेका छन्। र्यापिड किटको फाइदा के छ भने यसका लागि धेरै विज्ञता चाहिदैन। साधारण परीक्षण, प्रयोगशाला पनि नचाहिने, फिल्डमा गएर थोरै तालिम दिए पर्याप्त हुने र १५ मिनेटमा नै यसको नतिजा आउँछ।
आफैंमा कुनै पनि प्रयोगशाला परीक्षण पूर्ण हुँदैन। यो विभिन्न बिरामीको त्यतिबेलाको अवस्था र अरु धैरै परीक्षणसँग मिलाएर रिपोर्टको नतिजा निकाल्नुपर्ने हुन्छ। विभिन्न देशहरूले पीसीआर परीक्षण गर्ने आफ्नो मापदण्ड तोकेका छन्। हाम्रो देशको पनि आफ्नो मापदण्ड छ। भन्नुको अर्थ, कोभिड परीक्षणका लागि सबैमा पीसीआर परीक्षण नै गर्नुपर्छ भन्ने मान्यता अन्य देशहरूले पनि राखेका छैनन्। निश्चित मापदण्ड बनाएर पीसीआर गर्नुपर्नेलाई पीसीआर नै गर्नुपर्ने तर, जो व्यक्तिहरू पीसीआर परीक्षणको दायरामा आउँदैनन् उनीहरूको लागि वैकल्पिक परीक्षणको रूपमा र्यापिड टेस्ट गरिन्छ।
पीसीमारमाथि मात्र भर पर्दा जुन व्यक्ति छुट्न सक्ने त्यसमध्ये केहीलाई मात्र समात्न सकियो भने रोग नियन्त्रणका लागि फाइदाजनक हुन्छ। कुनै व्यक्ति निको भइसकेपछि पीसीआर परीक्षण नेगेटिभ आउँछ। तर, जसलाई पहिला रोग लागिसकेको छ, त्यति बेला पीसीआर हुन सकेन वा लक्षण देखिएन, परीक्षण भएन भने त्यस्ताहरूलाई पछि गएर परीक्षण गर्ने भनेको एन्टीबडी मात्रै बाँकी रहन्छ। हाम्रो समुदायमा कति व्यक्ति कुनै स्टेजमा गएर कोरोनाबाट संक्रमित भएका थिए बुझ्न पनि एन्टीबडी परीक्षणले सहयोग गर्दछ। पीसीआर भन्दा माथिका पनि परीक्षण छन्। पीसीआरमा साधारणतया भाइरसका लागि दुई वा तीन जिन हेर्ने कोशिस गर्छौँ भने यो भन्दा माथि भाइरसको पूरै जिन परीक्षण गरिन्छ।
अर्को एउटा विधि भनेको भाइरस कल्चर पनि हो। जसले प्रयोगशालामा लिएको नमूनाबाट सिधै भाइरस निकाल्ने भन्ने परीक्षण हो। यसरी प्रयोगशाला परीक्षणको साथसाथै, बिरामीको हिस्ट्री, सिटीस्क्यानको नतिजा, पीसीआर परीक्षणको नतिजा, एन्टीबडीको स्टाटस यी सबै मिलाएर एक ठाउँमा राख्दा रोगको पहिचानको दायरा बढाउन सकिन्छ। त्यसैले प्रयोगशालामा हामीले परीक्षण गर्दा एउटा मात्रै नमूना भन्दा पनि ब्याचमा नै नमूना परीक्षण गर्ने गर्छौँ। एउटा गर्दा र ब्याचमा गर्दा समय बराबर लाग्ने भएकाले त्यसो गरिन्छ। त्यस्तै नमूनाको आकस्मिकता हेरेर पनि परीक्षण गरिन्छ। परीक्षण गर्न कम्तीमा २४ देखि ७२ घण्टाको समयमा नतिजा देखिन्छ।
भिडियो पनि हेर्नुहोस्
(राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुका निर्देशक डा. झाले स्वास्थ्य मन्त्रालयमा मंगलबार आयोजित नियमित प्रेस ब्रिफिङमा व्यक्त गरेको धारणाको सम्पादित अंश)