कोरोना केन्द्रबिन्दुबाट २०७७ सालको शुभकामना !

विनिता तामाङ

न्युयोर्क, अमेरिका

निश्चय पनि आज यस नयाँ वर्ष घडीमा हामीले शरीरलाई घरभित्र थुनेका छौ ! तर मन भने कहीँ थुनिएको छैन। दिमाग कुनै हालतमा थुनिन पनि मान्दैन। रहरहरु अटेरी  हुन्छन् - तिनलाई दिनुहोस्, घरको गेट खोलेर बाहिर निस्कन। तिनलाई छाडिदिनुस् उदात्त, उन्मुक्त भइ सडक, गल्ली, चोक, पब अनि खुल्ला मैदानमा। तिनलाई चढाइदिनुहोस्, बस, प्लेन अनि पानीजहाजमा, जाऊन् कहाँ जान्छन् गरुन् जे गर्छन्। निस्फिक्री छाडिदिनुहोस्। बस्,  शरीरलाई मात्र घरभित्र रोकेर र राख्नुहोस् र देखिरहनुहोस् सपना, हुर्काइरहनुहोस् योजना, तिखारिरहनुहोस् क्षमता, भोलि जब चलायमान हुनेछ संसार, पँखेटा फिँजाएर उडौँला त्यसदिन। 

कहिल्यै सोचेको थिइनँ यस्तो पनि दिन आउला भनेर। यसरी कुनै अदृश्य दुश्मनदेखि डराएर घरभित्रै लुकिरहनु पर्नेछ भनेर। सोचेको पनि थिइनँ कहिल्यै, जीवनको महत्व यति हुन्छ अनि मृत्युको भय यतिबिघ्न हुन्छ भनेर। क्वारेन्टाइनमा बसेको एक महिना बितेपछि महशुस हुँदैछ आज, संसारमा आफ्नो जति प्रेम अरु कसैको लाग्दो रहेनछ। म बाँच्नु भनेको मेरा आँखाहरुमा देखाइदिएको सपना बाँच्नु रहेछ। मेरो थाप्लोमा बुवा-आमाको हत्केलाले थपक्क राखिदिएको आशिर्वाद बाँच्नु रहेछ। त्यसैले आफूलाई अनुशासनहीन बनाएर म बाहिर निस्किन सकेको छैन ।

विश्वका विकसित देशहरु, शक्तिराष्ट्रहरुले बम बनाए, बारुद बनाए, आणविक हतियार बनाए। तर, मान्छे मार्ने हतियार बनाउनु भन्दा ठूलो उपलब्धि त मान्छे बचाउने औषधि बनाउनु पो रहेछ। मान्छे मारेर भन्दा पनि मान्छे बचाएर जित्ने युद्ध महान हुने रहेछ।

क्वारेन्टाइनमा बसेको एक महिना बितेपछि महशुस हुँदैछ आज, संसारमा आफ्नो जति प्रेम अरु कसैको लाग्दो रहेनछ। म बाँच्नु भनेको मेरा आँखाहरुमा देखाइदिएको सपना बाँच्नु रहेछ। मेरो थाप्लोमा बुवा-आमाको हत्केलाले थपक्क राखिदिएको आशिर्वाद बाँच्नु रहेछ। 

कोरोना भाइरस हाम्रा लागि छोइदेउ कि रोइदेउ भएको छ। जे छोए पनि रोग सर्ला कि भनेर डराउनुपर्ने भएको छ। पैसा छुन पनि डर लाग्ने अनौठो परिस्थिति बनेको छ। मिचिमिची हात धोएर हातहरु फुस्रा भैसके अनि फेरि म सोच्ने गर्छु,  आजका सास्ती नै भोलीका लागि अनुभवका खजाना हुनेछन् !

यो दुःख, यो कहर, यो त्रास बर्षौपछि बिगतबाट उबाएर अर्को पुस्तालाई सुनाउने छु ! एकदिन कुनै रोचक कथा झैँ  हुनेछ !

आशा गरौ २०७७ सालमा भाइरस सर्ला भनेर तर्किनु पर्ने छैन। मान्छेलाई मान्छेबाट टाढा बनाउने दुश्मनलाई जितेरै छाड्ने छौँ। हाम्रा हातहरु छुटाउन खोज्ने, अँगालोहरु हटाउन चाहने शत्रुलाई परास्त गर्ने छौँ।

त्यतिन्जेल भीडहरुबाट टाढा बसेर संक्रमणको चक्र तोड्न मद्दत गरौ !!

यहाँहरु सम्पूर्णमा नयाँ वर्ष २०७७ सालको हार्दिक शुभकामना !!

प्रकाशित मिति: : 2020-04-13 21:44:26

प्रतिकृया दिनुहोस्