प्रतिसोध

‘रोशना’ यो नामले अझै मेरो मुटुमा राज गरेर बसेको छ। राज गराउन नचाहँदा नचाहँदै पनि। मान्छेले चाहनु र नचाहनुमा के नै फरक हुँदोरहेछ र। तर यतिखेर केबल नाम छ मसँग उसको। मान्छे त कता छे, के गर्दै छे मलाई केही नै थाहा छैन। यतिका महिनापछि उसलाई मैले सपनामा देख्नुको के अर्थ होला त? मन त्यसैत्यसै भारी भएर आयो। विपनामा त उसलाई मैले नदेखेकै छ महिनाभन्दा बढी भईसक्यो।।

***

त्यसदिन म साथीको ‘बर्थ डे’ पार्टीमा गएको थिएँ। मन नलागेरै पनि साथीको आग्रहलाई नकार्न नसकेर म त्यहाँ पुगेँ। म पुग्दा प्रायजसो सबैजना आईसकेका थिए। तर मेरो साथी आदर्श अझै कसैको प्रतिक्षामा थियो। नभन्दै उसले प्रतिक्षा गरेकी राम्री युवती त्यहाँ आईपुगी। आदर्शको साथी त्यहाँ प्रवेशमात्रै के गरेकी थिई म त हेरेको हेर्‍यै भएँ। म एकटकले हेरेको देखेर आर्दश मेरो अगाडि आएर खोक्न थाल्यो। उसले खोकेपछि पो म झस्किएँ। आर्दशले मलाई भखैरै प्रवेश गरेकी उसको नयाँ साथीसँग परिचय गरायो। ‘मिट माई फ्रेन्ड रोशना’ मैले रोशनालाई हेर्दै भनें, ‘हाई आई एम सुनिल।’

 रोशना र मेरो बिचमा केही सामान्य औपचारिक कुराहरु भए। मैले रोशनासँगको केहीबेरको कुराकानीपछि उसको फोन नम्बर मागेँ। कति अचम्म आधा घण्टा उसँगको बसाईमै मलाई कति आत्मीय लाग्न थाली ऊ। त्यस रात पार्टी सकेपछि घर आएर निकैबेर ऊ मेरो आँखाको वरिपरी छाईरही। मनमनै त्रसित भएँ ‘यो के हुँदैछ मलाई? किन म यसरी उसको बारेमा सोचिरहेको छु, अह! हैन हैन म यसरी बहकिन हुँदैन। केटी मान्छेको सामिप्यताले बिझाउँछ मलाई। भतभती मन पोल्छ मेरो त्यही एउटा घटनाले।

***

बुवा सरकारी कर्मचारी हुनुहुन्थ्यो। कर्तव्यनिष्ट कर्मचारी। जन्मेर बुझ्ने भईसक्दा पनि बुवाले एक पैसा घुस खाएको वा कसैसँग केही कुरामा कुनै नाफा खाएको मलाई थाहा भएन। आमाको सधैं एउटै गुनासो हुन्थ्यो। उहाँ त्यो गरिबीको दलदलमा भासिन चाहनुहुन्थेन। घरमा कलह नभएको कुनै रात हुँदैन थियो। आमाले जति गुनासो गरे पनि, जति कराए पनि बुवा चुपचाप सुनिरहनुहुन्थ्यो। यदि पुरूषलाई आँशु बगाउन सहज हुन्थ्यो त सायद बुवा पनि आफ्नो मनलाई पूरै रित्याएर रुनु हुन्थ्यो होला। म  सात वर्षको हुँदो हुँ जब आमा महलको कल्पना गर्दै ती पुरूषसँग जानुभयो। बुवाको काखमा सात वर्षको म र तीन वर्षको मेरो भाइलाई छोडेर।

मैले सुनेको थिएँ आमाहरू महान् हुन्छन्। पढ्दै पनि आईरहेको थिएँ यसै बारेमा। तर मलाई यी सबैकुरा मिथ्या लाग्यो जब आमाले त्यसरी हामीलाई छोडेर अरुको साथमा जानुभयो। म अहिले अनुमान पनि लाउन सक्दिनँ बुवा एक्लैले कसरी हुर्काउनु भयो हामी दुई दाजुभाइलाई। त्यसैदिनदेखि मेरो नारीप्रतिको सम्मान मनबाट बिलाएको थियो।

तर आज यो मलाई के भईरहेछ? आर्दशको बर्थ डे पार्टीमा भेटेको त्यो केटी किन घुमिरहेकी छे मेरो मानसपटलमा अझै। अचम्म! मैले गर्नुभन्दा पहिले उसैले म्यासेज गरी मोबाईलमा। मन नलाग्दा नलाग्दै उसको म्यासेसहरुको रिप्लाई दिदैं गएँ।

त्यसपछिका दिनमा ऊ कहिले मलाई रेस्टुरेन्टमा बोलाउँथी। कहिले उसँगै सपिङ जान आग्रह गर्थी। उसले जता जता भन्यो म त्यतै गईदिन्थेँ। तर मेरो मनमा ऊप्रति कुनै भावना र माया थिएन। ऊ मेरो लागि समय बिताउने माध्यम थिई। कसैको भावनासँग खेल्दा मेरो मनमा चरम आनन्दको महसुस हुन्थ्यो। यसबाट कमसेकम मलाई आमासँग बद्ला लिएको जस्तै महसुस हुन्थ्यो।

आमाको त त्यसदिन देखि कुनै ठेगानै थिएन। तर मेरो यात्रामा म जति पनि नारीहरू देख्थेँ वा भेट्थेँ ती सबैमा म आमाको छायाँ देख्थेँ। रोशना सोझी थिई। मलाई थाहा थियो ऊ नराम्री केटी होइन। यद्यपी उसको परिवार, खानदानको बारेमा मलाई अलि अलि थाहा थियो। मैले खासै चासो पनि राखेको थिइनँ उसको परिवारमा। रोशना बारम्बार जिद्दी गरिरहन्थी, आफ्नो बुवासँग भेट्न। आमा त उसले सानैमा गुमाईसकेकी थिई। रोशनाको बुवा नाम चलेको उद्योगपति हुनुहुन्थ्यो र उहाँको नाम नसुन्ने सायद विरलै हुन्थे। त्यति थाहा थियो मलाई रोशनाको परिवारको बारेमा।

तर पनि मेरो मनले रोशनासँग विवाह गर्न खोजेन। केबल उसँग घुम्न खोज्यो। समय बिताउन खोज्यो। मनलाई बाध्दै, उसँग घुम्दै मैले एक वर्ष बिताएँ। रोशना मेरो मायामा अन्धो भईसकेकी थिई। निकै कर गरेपछि म एकरात रोशनाको घरमा डिनरको लागि गएँ। रोशनाको बुवाले मेरो राम्रै सत्कार गर्नुभयो। त्यसपछि सुरू भयो रोशनाको बुवा र मेरो अन्तवार्ता। 

‘बाबुको नाम?’ - हजुर म सुनिल, मैले सानो स्वरमा भनेँ। अनि “बुवा र आमा के गर्नुहुन्छ?”

“बुवा सरकारी कार्यलयमा काम गर्नुहुन्छ।” मैले जवाफ दिएँ।

अनि “आमा?”

अर्के अनपेक्षित प्रश्नले मुटु थरथरायो मेरो।

 ‘आमा? को आमा कस्तो आमा? भनेर भन्न मन थियो तर मनमै दबाएँ। यति भनिदिएँ कि उहाँ यो संसारमा हुनुहुन्नँ।’ झण्डै बीस वर्ष भईसकेको थियो मैले उहाँलाई नभेटेको र नदेखेको अनि कसरी थाहा होस् मलाई उहाँ कहाँ हुनुहुन्छ। मनमा गाँठो पारेर झुटो बोलिदिएँ।

 ‘हे भगवान्! जागिर खाने बेलाको अन्तावार्ता दिन पनि मलाई यति सकस भएको थिएन जति अहिले भईरहेको छ,’ मनमनै भनेँ।

यसै पनि विवाह गर्ने, कुनै केटीको नजिक हुने र घरजम गर्ने मेरो सोचाईभन्दा बाहिरको कुरा हो।

केहीक्षणपछि हातमा ट्रे लिएर एउटा महिला त्यस कोठाभित्र प्रवेस गरिन्। रोशनाको बुवाले चिनाउनुभन्दा पहिला मेरो नजर ती महिलामा पर्‍यो। त्यसपछि मैले केही देख्न सकिनँ। पूरै अन्धकार छायो। वातावरण चिसियो, सन्नाटा छायो। त्यो अरू कोही नभएर मेरै आमा हुनुहुन्थ्यो जसले मलाई र मेरो भाइलाई सात वर्षको उमेरमा छोडेर निस्किनुभएको थियो। यहीँ त थियो उहाँको चाहना, जुन पूरा भएको थियो शहरको प्रख्यात उद्योगपतिसँग विवाह गरेर।

उहाँले त मलाई चिन्न असम्भव नै थियो। म निकै परिवर्तन भईसकेको थिएँ। तर, उहाँ त उस्तै हुनुहुन्थ्यो। उमेर बाहेक केही फरक थिएन। मैले अचानक केही सम्झेँ जस्तो गरेर रोशनातिर फर्किदैं भनेँ, ‘मलाई भोलि बिहानै बीरगन्ज जानु छ। लुगाहरु केही प्याकिङ गरेको छैन। अहिले म निस्किन्छु। ‘तर खाना’ रोशनाको त्यो बोलीलाई सुनेको नसुन्यै गरेर म त्यहाँबाट निस्केँ। रोशनाको घर लाजिम्पाटदेखि मेरो घर शान्तिनगरसम्म म कसरी बाईक हुईक्याउँदै आएँ मैले थाहा नै पाईनँ।

घर पुग्नासाथ रोशनाले फोन गरी। मैले काटेको काट्यै गरेँ उसको फोन। उसले म्यासेज गरी। ‘वी निड टु टक’ मैले रिप्लाई गरिदिएँ ‘सि यू टुमारो एट फाईभ एट बानेश्वर क्याफे।’

भोलिपल्ट उसलाई भेटेर सबैकुरा भनिसकेपछि उसले आफ्नो कहानी सुनाउन थाली। ‘सायद तिमीलाई थाहा छैन होला। मेरो ड्याडीले मलाई एडप्ट गर्नुभएको थियो। मलाई त यो पनि थाहा छैन कि म कसको कोखबाट जन्मेँ र कता जन्मेँ। बेसाहरा मलाई ड्याडीले एडप्ट गर्नुभएको रे। उहाँको श्रीमती विवाह गरेको केही महिनामै क्यान्सर भएर बित्नुभएपछि मलाई ड्याडीले अनाथ आश्रमबाट एडप्ट गनुभएको रे। पछि उहाँले अहिलेको ममिसँग विवाह गर्नुभएको रहेछ।

कस्तो अचम्म दुनियाँ। यहाँ सबैको आफ्नै दुःख र आफ्नै पीडा छन्। सबैलाई आफ्नो दुःख ठूलो लाग्छ। तर दुःख ठूलो होस् या सानो यसले दिने पीडा त उस्तै हुन्छ।

मैले सुनिमात्रै रहेँ रोशनाका कुराहरु। केही भन्न सकिनँ। रोशना सुकसुकाईरही म सुनिरहेँ। न त मेरा हातले उसको आँशु पुछ्न सके न त मेरो मनले उसलाई आश्वासन दिन सक्यो।

त्यसपछि बिना कुनै सूचना म उबाट टाढिएको थिएँ। आज सपनामा देखेपछि फेरि उसको कताकता याद आयो। फोन उठाएँ, उसको नम्बर डायल गरेँ, उठेन। धेरैपटक डायल गर्दा पनि फोन नउठेपछि मैले आर्दशलाई फोन गरेँ। आर्दशसँग केहीबेर कुरा गरिसकेपछि मैले अन्कनाउँदै सोधेँ ‘रोशनाको खबर के छ?’ आर्दशले यसपटक झोक्कीदैं भन्यो, ‘यत्रो महिनापछि बल्ल तलाई याद आयो रोशनाको? रोशनाले तेरो लागि कति आँशु बगाई तर तँ त ढुंगाको मन भएको मान्छे रहेछस्। एकपटक पनि रोशनाको बारेमा जान्ने कोशिश गरिनस्। रोशनाले तेरो यादमा छट्पटिदा छट्पटिदैं सुसाईड गर्ने कोशिश गरी। अहिले हस्पीटलमा मृत्युसँग लडिरहेकी छे।’ हो त त्यही एउटा घटनाले कस्तो ढुंगा जस्तो बनायो मलाई।

मैले आर्दशलाई रोशना भर्ना भएको हस्पीटलमा लैजान आग्रह गरेँ। बाईक निकालेँ र आर्दशलाई लिन उसको घर पाटन गएँ त्यसपछि रोशना भर्ना भएको टिचिङ अस्पताल गएँ। रोशनाको बुवा एकछिन अगाडिमात्रै निस्किनु भएछ हस्पीटलबाट। म आँखा चिम्लेर बेडमा पल्टिरहेकी रोशनाको अगाडि गएर बोलाएँ। ‘रोशना म आएँ’ उसले आँखा खोली, तर बोल्न सकिन। ऊ बोल्न सक्ने अवस्थामै थिईन। ऊ मतिर आफ्नो हात बढाउँदै थिई अचानक उसको आँखा बन्द भयो। मैले उसको हात समाए हात पूरै चिसो भएको थियो। उसले छोडेर गई मलाई माफी माग्ने पनि मौका नदिईकन। मेरो प्रतिसोधको भावना आमाप्रति थियो। तर मेरो यहीँ प्रतिसोधको कारण एउटी निर्दोषले अकालमा मृत्युवरण गरी। जसको लागि म आफैंले आफूलाई सायद अब कहिल्यै माफ गर्न सक्दिनँ।

प्रकाशित मिति: : 2020-04-13 10:13:35

प्रतिकृया दिनुहोस्