सहरमा बस्न मुश्किल भएकालाई घर पुर्‍याइदिन माग गर्दै सर्वोच्चमा रिट

बिएल संवाददाता

काठमाडाै‌ं

लकडाउनको प्रभावमा घरदेखि टाढा बस्न मुश्किल भएकालाई घर पुर्‍याइदिनु भन्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ता लक्ष्मी थापा र सञ्जय अधिकारी लगायतले टाढा भएको घर जान पैदलै हिँडेका मजदूरहरू, सहरमा पढ्न आएका विद्यार्थीहरू घर पुर्‍याइदिनु भन्ने आदेश माग गर्दै आइतबार रिट हालेका हुन्।

उपत्यका लगायतका सहरमा बस्न गाह्रो भए पनि जान नसक्ने गरी बिरामी परेका, शारीरिक दुर्बलता भएकालाई भने सुरक्षित र स्वस्थ स्थानमा राख्न पनि रिटमा माग गरिएको छ।

रिट निवेदकहरूले कोरोनाको डरका बेला घरबाट टाढा बस्न परेकाहरूलाई मनोसामाजिक परामर्श दिने व्यवस्था गर्न माग गरेका छन्।

‘पालिकामा मनोसामाजिक परामर्शकर्ताको सेवा कम्तीमा हप्ताको एक पल्ट दिने व्यवस्था गर्नूर गराउनू भनि नेपाल सरकार तथा नोबेल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र नेपाल सरकारमार्फत् स्थानीय सरकारहरूको नाममा समेत परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाऊँ’, रिटमा भनिएको छ।

प्रकाशित मिति: : 2020-04-12 16:56:10

प्रतिकृया दिनुहोस्