प्रिय मान्छे!
खोइ, के भनेर सम्बोधन गरौं तिमीलाई। थाहा छैन के नामले पुकारौं? कुनै शब्द भेटिरहेकी छैन। मैले त प्रिय मान्छे भनेर पो सम्वोधन गरेछु। मान्छे कुनै सम्वोधन थिएन।
कहाँबाट कसरी शुरु गरौं जिन्दगीलाई? के लेखुँ र के को लागि लेखुँ? कुरूक्षेत्रको युद्वमा वाणैवाणहरुको शैय्यामा सुतेको भीष्मजस्तै म यतिबेला प्रश्नहरूको वाणको शैय्यामा सुतिरहेकी छु। अनि खासमा के लेख्न्न खोजेकी हुँ त्यो पनि थाहा छैन आफैंलाई।
अहिलेसम्म मेरो फोक्सोले श्वास आदानप्रदान गरिरहेको छ। मुटु तिम्रै खाटा बसेका यादहरुले चस्किरहेको छ। हृदय पग्लिएर बगेका आँसुका फुस्रा दागहरू टाढाबाट देखिने नदीजस्ता छन्। मस्तिष्कभरि नाचिरहेछन् लटाइबाट छुटेर दिशाहीन उडेको चंगाजस्ता धुमिल सम्झनाहरू।
जिन्दगी भन्नू आखिर सम्झनाहरुको संग्रहालय न रहे। हृदयमा बेरङ्गी फूलजस्ता धुमिल सम्झनाका पत्रहरू मात्र बाँकी छन्। संसारभर यतिबेला कोरोनाको महामारी चलिरहेको छ। चीनबाट सुरू भएको कोरोना युद्वमा हजारौं मानिसहरुले ज्यान गुमाएका छ्न्। लाखौंमा संक्रमण देखिएको छ। अमेरिका, स्पेन, इरानहुँदै संसारभर फैलिएको छ। हाम्रो देश पनि लकडाउनमा छ यतिबेला। जसरी तिमीले मेरो दिलमा लकडाउन गरेर गयौं।
यस्तो समयमा मलाई थाहा छैन कसरी तिम्रो प्रेममा परेँ। गाउँबाट सुन्दर भविस्यको कल्पना गर्दै शहर पसेकी एउटी गाउँले सोझी केटी थिएँ म। भर्खर कलेज जोइन् गरेकी थिएँ। कति आशा र सपनाहरु मनभरि सजाएर कलेज जान्थेँ। परिवेश नयाँ थियो। मान्छेहरू बिल्कुल नयाँ थिएँ। राम्रोसँग बोल्न र हिँड्न नजान्ने म- लज्जावती झार जस्ती थिएँ!
तिमीले पहिलो पटक सिकाएको कुरादेखि प्रभावमा परेकी थिएँ। यो सम्वेदना हराएको मुर्दाको शहर हो। यहाँ ठाउँ, परिवेश र व्यक्ति अनुसार हिँड्नु, बोल्नु, खानु र संगत गर्नुपर्छ भनेका थियौ तिमीले। तिम्रा हरेक कुरा मन पर्न थाले मलाई। थाह थियो तिमी पनि माया गर्छौ भन्ने। आखिर केही महिना मै प्रेम प्रस्ताव राख्यौ— अरुले भन्दा भिन्न शैलीमा न कुनै गुलाफ, न कुनै रिङ्ग बस् एउटा किताब उपहार दिएर। सम्झिँदा नि कति अनौठो लाग्ने। तिमी भन्थ्यौ सधैं— हामी यो संसारले गर्ने प्रेम भन्दा फरक प्रेम गर्छौँ। म मख्ख पर्थेँ। एकदम भरिएको गाग्रीजस्तो !
यो बिरानो ठाउँमा आमा बा परिवार जे भन्नु उही थियो। म बिरामी पर्दा हेर्ने उहीँ थियो। मेरो भोक/अभाव, दुःख/ पीडा सब भुलाउने उही थियो। बिहेको कुरा गर्दा मन पर्थेन उसलाई। भन्थ्यो— यो सब बन्धन हो बन्धन।
मलाई बन्धन मन पर्दैन। सब स्वतन्त्र हुनु पर्छ। जसरी हावा स्वतन्त्र छ। जसरी रूखका पातहरू पवनको मीठो झोक्कामा नाँच्न स्वतन्त्र छन्। जसरी आकाशमा चराहरू गीत गाउँदै उड्न स्वतन्त्र छन्। मानिस पनि त्यसरी बाँच्नुपर्छ मेरी मायालु भन्थ्यो ऊ। हामी छुट्टिने कहिले कल्पना पनि गर्न सकिनँ मैले। उस्ले के कल्पना गर्थ्यो उसलाई नै थाहा थियो होला।
भन्ने गर्थ्यो—तिम्रा ओठमा गुराँस फुलाउँछु। कहिल्यै ओइलाउन दिनेछैन। तर झरनाजस्ता लहराउँदो केशराशी खुल्ला राख। बन्धन मन पर्दैन मलाई !
एक दिन अचानक गायब भैईदियो ऊ । न कुनै फोन, न म्यासेज, न खबर। कति फोन गरेँ उठेन। म्यसेज गरेँ रिप्लाई आएन। थाह छैन ऊ किन एक्कासी गायब भयो ? यदि छोडेर जानू नै थियो भने धेरै पहिला जानू पर्थ्यो।
यो बेला मेरो आफ्नो भन्नू कोही छैन। घरबेटीको एउटा साँघुरो छिँडीमा बन्द खामजस्तो भएकी छु।
यति बेला सारा संसारमा अन्धकार छाएको छ। मेरो यो अँध्यारो कोठाजस्तै। मेरो अँध्यारो जीवनजस्तै। के खादै छु। के पिउँदै छु। म जिउँदै छु कि मरी सकेँ आफैलाई थाहा छैन।
भनिहालेँ तिमीलाई सम्वोधन गर्न जानिनँ। अहिले त म आफैंलाई पनि सम्वोधन गर्न जान्दिनँ। बिरामी छु। एउटा मृत प्राणीको शरीरमा हिडिरहेको कुनै अर्को जीवझै यतिबेला बिल्कुल यतिबेला तिम्रो सम्झनामाथि हिँडिरहेकी छु।
उही तिमीले छाडी गएको प्रेमिका!