दश एसएसपी डीआईजी पदमा बढुवाका लागि सिफारिस

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल प्रहरीका दश जना एसएसपीहरूलाई बढुवा समितिले डीआईजीमा बढुवाको सिफारिस गरेको छ ।

शुक्रबार साँझ गृहमन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले रिक्त दश डीआईजी पदमा उनीहरूलाई बढुवाको लागि सिफारिस गरेको हो।

गृह सचिव न्यौपाने अध्यक्ष रहेको बढुवा समितिमा आईजीपी ठाकुरप्रसाद ज्ञवाली सदस्य र एआईजी शैलेश थापा क्षेत्री सदस्यसचिव छन्।

समितिले एसएसपीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धिरजप्रताप सिंह,   बसन्तकुमार लामा, रवीन्द्रसिंह  धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसीलाई प्रहरी नायव महानिरीक्षक पदमा सिफारिस गरेको छ।

बढुवाका लागि ३४ एसएसपी प्रतिष्पर्धामा रहेका थिए।

तर गत सोमबार बसेको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीमा रहेको डीआईजी दरबन्दी आधाले कटौती गरेको थियो। सरकारले यसअघि कायम रहेको २६ डीआईजी दरबन्दीलाई १४ मा झारेको थियो।

अब सरकारको निर्णय अनुसार अब सात वटा प्रदेश प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रिय अनुसन्धान ब्यूरो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (प्रहरी महाशाखा) टङ्गाल, विशेष ब्यूरो नक्साल, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार, प्रहरी प्रधान कार्यालय नक्साल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा एक(एक गरी १४ प्रहरी नायब महानिरीक्षक (डीआईजी) रहनेछन्।

 

प्रकाशित मिति: : 2020-04-11 07:28:30

प्रतिकृया दिनुहोस्