कोरोना भाइरसको जोखिम रोक्नका लागि सरकारले लकडाउनको घोषणा गरेता पनि बर्दियाका कृषकले चैतेधान रोपेका छन्। चैतेधान रोपाइँ गर्न लकडाउनले कुनै समस्या नभएको राजापुर क्षेत्रका कृषक बताउँछन्।
राजापुर क्षेत्रका गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा आर्थिक वर्ष २०७३/०७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान जोन र ०७५/०७६ देखि निश्चित क्षेत्र बनाएर चैतेधानको खेती गरिँदै आएको छ।
राजापुर क्षेत्रमा २०७३ सालदेखि तत्कालीन कृषि बिकास कार्यालयले पकेट क्षेत्र बनाएर परीक्षणका रुपमा चैतेधान खेतीको शुरुआत गरेको थियो।
धान राम्रो उत्पादन हुने देखिएपछि धान सुपर जोन घोषणा गरी किसानको समूह बनाएरै रोपाइँ गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनामार्फत सरकारले आवश्यक सहयोग गर्दै आएको छ। परियोजनाले किसानको सहभागितामा धान सुपरजोन सञ्चालक समिति बनाएर काम गरिरहेको छ।
परियोजनामा १९५ समूह र सहकारी आबद्ध रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख टपेन्द्रबहादुर शाहले बताए। धान सुपरजोन सञ्चालक समितिको सहसंयोजकसमेत रहनुभएका राजापुर ३ का ४१ वर्षीय पहारी थारुले एक्लै १२ बिघा जग्गामा चैतेधान खेती गरेका छन्।
लकडाउनको पालना गर्दै धान रोप्ने यन्त्रको प्रयोग गरेर रोपाइँ गरिएको उनले बताए। लकडाउनका समयमा घरका परिवारका सदस्य जम्मा भएको हुँदा काम गर्न सहज भएको कृषक बताउँछन्।
हरेक किसानले आफ्नै घरपरिवारका सदस्य लगाएर रोपाइँ गरेकाले कोरोना भाइरसको जोखिमसमेत कम भएको राजापुर ४ का किसान शर्मा थारुले बताए।
गत वर्ष पाँच सय हेक्टर क्षेत्रमा लगाइएको चैतेधान २५ हजार क्वीन्टल उत्पादन भएको थियो। यस वर्ष राजापुर क्षेत्रका दुई स्थानीय तहमा चैतेधान रोपाइँ भएको छ। यस वर्ष ५० हजार क्वीन्टल धान उत्पादन हुने लक्ष्य राखिएको परियोजनाका प्रमुख शाहले बताए। कोरोनाविरुद्धको लकडाउनका समयमा चैतेधान रोपाइँ गरिए पनि धानमा राखिने मल नपाइने हो कि भन्ने चिन्ता कृषकलाई छ।