हिन्दु धर्मभित्रको वर्ण व्यवस्थामा आधारित जात व्यवस्थाको मूलजरो मनुवादी चिन्तन कोभिड–१९ अर्थात नोभेल कोरोना भाइरसभन्दा कम छैन। कोरोनाले जसरी विश्वव्यापी रुपमा आम जनसमुदायमा डर र त्रास फैल्याएर एकान्तमा घरभित्रै लुक्न बाध्य बनाएको छ। विश्वका शक्तिशाली राष्ट्रलाई लकडाउन अर्थात बन्दाबन्दीमार्फत समाजिक दूरी कायम राख्न, कोहि नयाँ संक्रमित मानिसले आफ्नो भूमिमा नटेकाउँन, संक्रमणको जोखिम कम बनाउन कोरोनाले यो अवस्था सृजना गरेको छ।
के धनी के गरिब, के हिन्दु के मुस्लिम, मानिस मानिसबीच समाजिक तथा शारीरिक दूरी कायम राख्नुपर्ने नियम बनाइएको छ। मानव समुदायभित्र, आमा छोराबीच जीवाणुको डरले समाजिक नाकाबन्दीको अवस्था देखिएको छ।
ठ्याक्कै यस्तै लकडाउनको नियम अझ त्यो भन्दा घातक र अमानवीय नीति मनुवादी कुसंस्कारमा आधारित वर्ण व्यवस्थाको जातीय कुप्रथाभित्र देख्न सकिन्छ। मानिस मानिसबीच समाजिक दूरी रहेको छ। कथित उपल्लो जात मानिएकाको घरमा कथित तल्लो अर्थात दलित समुदायका मानिसलाई प्रवेशमा बन्देज लगाएको छ। जातको आधारमा कसैलाई प्रत्येक सामाजिक, सांस्कृतिक, धार्मिक कार्यमा स्वागत गरिन्छ त कसैलाई बहिस्कार गरिन्छ।
आज कोरोना भाइरसको त्रासमा संक्रमितबाट अन्य मानिस टाढै रहनुपर्छ। जसरी दलितका लागि गैरदलितको घरमा बन्दाबन्दीको नियम हुन्छ। दलित गैरदलितको घरमा टेक्न पाउँदैन, गैरदलितका हरेक समाजिक र सांस्कृतिक कार्यमा दलितको सहभागिता हुँदैन। अहिलेको आइसोसेलसन र क्वारेन्टाइनको अवधारणा जस्तै।
हिजोआज कोरोना भाइरसको कहरले केही नयाँ शब्द प्रयोगमा छन्। आइसोलजन र क्वारेन्टाइन, हरेक मानिसको मुखमा झुन्डिएको छ। आइसोलेसन अर्थात गुप्तबास, जहाँ कोरोना संक्रमित बिरामीलाई सबैबाट अलग राखेर उपचार गरिन्छ। आइसोलसनमा उपचारार्थ बिरामी समाज, घरपरिवारबाट टाढा बस्नुपर्छ। उसलाई मनुवादी भाषामा भन्नुपर्दा अछुत भनिन्छ। उसले छोएको, टेकेको, समातेको आम मानिसलाई चल्दैन।
दलित समुदायको भोगाइ पनि आइसोलेसनमा राखिएको कोरोना संक्रमितको जस्तै हो। सदियौंदेखि जातीय भेदभावको कुसंस्कारमा समाजिक, धार्मिक, सांस्कृतिक क्रियाकलापबाट गैरदलित समुदायले सधैं टाढा राख्यो। दलितका हरेक गतिविधिलाई अस्वीकार गरियो, उसलाई पर, उता, टाढा समाजिक दुरीमा बस्न बाध्य बनाइयो। दलितका हरेक पाइलालाई अयोग्य, अछुत, नचल्ने बनाइयो। फलतः आजको एकाइसौं आधुनिक युगमा पनि दलित समुदाय समाजिक आइसोलेसनमा बस्न बाध्य छ। मनुवादी कुसंस्कारले श्रृजना गरेको आइसोलेसनको जति निन्दा गरेपनि अपुग हुन्छ।
मानिस हप्ता दश दिन आइसोलेसनमा बस्दा कति पीडा हुन्छ त्यो कोरोना संक्रमितलाई थाहा होला। उसका घरपरिवारलाई त्यो पीडा थाहा होला। तर सयौं वर्षदेखि आइसोलेसनको पीडा सहेर बसेका तमाम दलितको मनोविज्ञान कस्तो होला? जातीय छुवाछूत तथा भेदभावबाट हुने पीडा, त्यसबाट उब्जिएका समाजिक, सांस्कृतिक यातना पिएर पुस्तौंदेखि जीवनयापन गरेका दलित समुदायको मनमा के बित्यो होला? यी यावत समाजिक र सांस्कृतिक पीडाको हेक्का गैरदलित समुदायले बिरलै राख्यो। जब मानिसलाई मानिसबाट दुरीमा राखिन्छ, कसैलाई स्वागत र कसैलाई जातकै आधारमा विभेद गरिन्छ, त्यसको पीडा, मर्म बेदना दलित समुदायलाई थाहा छ। ती पिडाको अगाडी कोरोनाको पीडा ज्यादै न्यून छ। आइसोलेसनको बसाइँ सामान्य देखिन्छ।
कोरोना भाइसको जन्म केही महिना अगाडि चीनको उहान सहरमा भयो। जन्मेको केही दिनमै यसले आफूलाई विश्वव्यापी रुपमा विस्तार गर्यो। आज कोरोना भाइसको संक्रमण विश्वका करिब २ सय ५ राष्ट्रका मानिसमा देखिएको छ। संक्रमित बिरामीको पीडा समाजिक संजालमा भाइरल भएका भिडियोमा हेर्ने सकिन्छ। पीडा, त्रास, भयबाट कोरोना कति पीडा छ, कति कठोर छ, कति निर्दही छ भन्ने कुरा पीडकका आँसुमा देखिन्छ।
मानिसहरू कोरोना भाइरसको डरले आफ्ना प्रियजनको लास छुन डराएका छन्। बिरामीको आँसु पुछ्न डराएर छन्। भेटघाट त परको कुरा अस्पतालका शैयाबाट मृत्युप्रति बेदना पोख्दै छन्। दुई महिनाको दुधे बालककी आमा रुँदै क्वारेन्टाइनमा बस्न विवश छन्। आम मानिसमा कोरोनाको कहरले मानसिक समस्या देखिएको छ। मानिस मानिसदेखि तर्सिन थालेका छन् । अवस्था निकै भयावह छ। डक्टर, पादरी, राजकुमार, राजकुमारी सबैलाई कोरोनाले डसेको छ। घरघरमा बन्दाबन्दीमा बस्न बाध्य छन्। हजारौं मानिस आइसोलेसनमा बस्न बाध्य भएका छन्।
लाखौंको संख्यामा संक्रमित छन्।एक लाख बढी मानिसको ज्यान गएको छ। समग्रमा पूरा विश्वमा त्रास फैलिएको छ। त्यस्तै मनुवादी जातीय विभेदको आतंककारी भाइरसले पनि दलित समुदायलाई कोभिड–१९ झैं गलाएको छ, तर्साएको छ, जिउँदै मारेको छ। यो विभेदकारी भाइरबाट पीडित तमाम दलित समुदाय समाजिक स्वतन्त्रता, आत्म सम्मानको पर्खाइमा वर्षाैदेखि पर्खेर बसेको छ। तर, विडम्बना मनुवादी कुचिन्तनका अनुयायीमा कहिले समाजिक सदाचार सद्भावनाको चेतना देखिएन। उही पुरातनवादी रुढिवादी बाहुनवादी सोच हावी भयो । जसबाट दलित समुदाय दलित क्वारेन्टाइनभित्र बस्न विवश छ।
मनुवादी चिन्तन तुलनात्मक रुपमा अझ बढी खतरनाक,अमानवीय र घिनलाग्दो छ। कोरोना भाइरसको मिति सिमित छ। यसबाट बच्न केही सावधानी अपनाए संक्रमणबाट जोगिने सम्भावना बढी हुन्छ। आज कोरोना कहरको रुपमा देखिए पनि विज्ञान, वैज्ञानिकको मिहिनेतले अवश्य कोरोनाको रोकथामको लागि औषधि उपचार हुनेछ।
मानिसमा भएको भयावह, डरत्रास केही दिनमा अन्त्य हुनेछ। तर मनुवादी कुसंस्कारमा आधारित उच्च जातीय अहंकारमा सदियौंदेखि पीडित दलित समुदायले जातीय कुसंस्कार कहरको अन्त्य कहिले देख्ने? कहिले मनुवादी कुचिन्तनबाट मुक्ति पाउने? देशमा संविधान बन्यो, अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा नीति नियम बने तर परिणाम आजको मितिमा दलित जातकै आधारमा कोठाबाट निकालिन्छन्। धारामा पानी छोएकै कारणले कुटपिट सहन बाध्य छन्। मठमन्दिरमा रोकिन्छन् ।
यो कहर, यो पीडा कहिलेसम्म? कोरोनाबाट मानिसले अवश्य मुक्ति पाउँछन्। यसको रोकथाम अवश्य हुनेछ। संक्रमित बिरामी आइसोलेसमा बस्नुपर्ने छैन। क्वारेन्टाइन भोलि रहनेछैन तर मनुवादी जातीय भाइरसबाट दलित समुदायले कहिले उन्मुक्ति पाउने? यसको रोकथाम कहिले हुने?
सर्सर्ती हेर्दा कोरोनाभाइरस र मनुवादी कुसंस्कारी चिन्तनमा धेरै समानता देखिएका छन् जस्तैः यी दुवै विभेदकारी भाइरस हुन्। कोरोना पीडितले पनि विभेदको सामना गर्नुपरेका घटना हाम्रो वरिपरि छन्। क्वारेन्टाइ पनि एकप्रकारको विभेद हो। आइसोलेसन झन् चरम विभेद हो।
बुटवलमा कोरोनाको आशंकामा बाबुराम थापाको शव अस्पतालबाट उठ्न सकेको छैन। भलै स्वाबको परिणाम नेगेटिभ देखिएको छ तर उनका आफन्तले छुन मानिरहेका छैनन्। दलितका कैयौं लासले बाबुराम थापाको हविगत भोगेका छन्। दलितका लासलाई छुनु हुन्न भन्ने कुमानसिकता भएका कैयौं गैरदलित हाम्रै अगाडी छन्। यो भन्दा मार्मिक के हुनसक्छ? जब आफ्नाले लास छुन मान्दैनन् । कोरोनाले जस्तै मनुवादी चिन्तनले गैर दलितलाई विभेदकारी कुसंस्कारी मानसिकता दिएको छ। फलतः नछुनु, सम्बन्ध नगाँस्नु, मर्दा पर्दा सधैं बहिस्कार गर्नु भनेर गैरदलितलाई सिकाइको हुन्छ। आज कोरोनाले त्यही पाठ आम मानिसलाई सिकाउँदैछ। मानिस मानिसबीच दुरी बढेको छ। एकअर्काको घरमा जान सक्दैनौं। सँगै खान सक्दैनौं। बस्न निषेध छ।
कोरोना र मनुवादी कुसंस्कारी भाइसको एकमात्र उद्धेश्य भनेको मृत्यु हो। समाप्त हो। कोरोना भाइरसले भौतिक रुपमा मानिसमाथि आक्रमण, संक्रमण गरेर मानिसलाई तहसनहस गर्दै, गलाउँदै मृत्यु शैयातिर धकेल्छ भने मनुवादी कुसंस्कारी भाइरसले सदियौंदेखि शुद्र अर्थात दलित समुदायलाई धार्मिक, सांस्कृतिक, मानसिक, राजनीतिक, आर्थिक र समाजिक स्वतन्त्रतामाथि अंकुश लगाउँदै पीडामा बस्न बाध्य बनाएको छ।
मानिसको स्वतन्त्रपूर्वक जिउने अधिकारलाई तहसनहस गर्दै समाजिक मृत्युको आभास दिने काम गरेको छ। जबसम्म यस्ता समाजिक भाइरस र माहाव्यादी भाइरस मानव जगतमा देखिन्छन्, मानिसको समाजिक समानता, स्वतन्त्रताको खिल्ली उड्ने हुन्छ। एकअर्काका माथि समाजिक दूरी कायम हुनेछ।
कोरोनाको लक्षण र मनुवादी कुसंस्कारका धेरै लक्षण मिलेको देख्न सकिन्छ। अहिले कोरोनाका संक्रमितलाई आम मानिसले गर्ने व्यवहारमा विभेद देखिन्छ । पर पर, उता उता, जस्ता विभेदकारी शब्दको प्रयोग भएको छ। ठ्याक्कै यही चित्र, यिनै शब्द वर्ण व्यवस्थामा आधारित जातीय कुप्रथामा ब्राम्हण, क्षेत्री, वैशबाट शुद्र वर्णलाई गरिन्छ। आजको विश्वमा कोरोना संक्रमितलाई अन्य स्वस्थ मानिसले विभेद गरिरहँदा आम दलितले त्यही विभेद सदियौंदेखि कथित गैरदलितले गर्ने व्यवहारमा झल्किन्छ।
आज पनि समाजका हरेक धार्मिक तथा सांस्कृतिक कार्यमा दलित समुदायलाई आइसोलेसनमा राखिन्छ। उसलाई पर, उता, टाढा, नछुन आदि शब्द प्रयोग गरिन्छ। ताकि दलितलाई दमन गर्न सकियोस्। ऊ नदेखियोस्, उसले नछोवस्, उसको पाइला नपरोस् भनेर। यस्ता विभेदकारी चिन्तनले समाज कुन दिशामा जाला? हाम्रो समाजिक मानसिक चिन्तनको विकास कहिले होला? अहिले अभ्यास भएको गैरदलितका गतिविधिबाट असम्भव जस्तै देखिन्छ। तत्कालै उच्च जातीय अहंकारको अन्त्य नभए नेपाली समाजले ठूलो दुर्घटनाको सामना गर्नुपर्ने देखिन्छ। धर्मको नाममा मुलुक विखण्डन भएका धेरै घटना छन्। जातीय कलहले समाज विभाजित भएर नरसंहार भएका अफ्रिकी मुलुकको के गति छ। यस्ता अव्यवस्थाको समयमै हामीले मनन गरौं। अन्यथा जातीय छुवाछूतको भाइरसले नेपाली समाजलाई तहसनहस अवश्य गर्छ।
राज्यलाई सम्भावित जातीय दुर्घटनाबाट जोगाउनुपर्छ। ताकि आम नेपालीमा भाइचारा र एकता कायम रहोस्। जसरी कोरोना भाइरसको कहरबाट आजित भएर विश्व समुदाय एक भएर आ–आफ्ना वैज्ञानिक प्रयोगशालामा मानव उत्थानका निम्ति अहोरात्र खटिएका छन्। सबै धनी गरिब राष्ट्रको साझा संकल्प छ, जसरी हुन्छ कोरोनाबाट मुक्त हुने र मानव सभ्यता जगाउने। यस्तो एक्यवद्वताले ढिलोचाडो कोरोनाविरुद्धको खोप र औषधिको अवश्य विकास हुन्छ। मानिसमा आजको त्रासदी हट्ने छ।
हामी तीन करोड नेपालीले जसरी सिङ्गो विश्व एक भएर कोरोनाविरुद्धको अभियानमा छौं, त्यसरी मनुवादी कुसंस्कारी चिन्तनको अवसानका लागि हामी पनि एक ढिक्का भएर लड्नुको विकल्प छैन। मनुवादी कुचिन्तनविरुद्ध नेपाली समाजले उचित कदम चाल्नुपर्छ। मानवलाई अमानवीय गतिविधि सिकाउने कुसंस्कारको अन्त्य गर्नुपर्छ।
आजआज भोलिभोलि भन्दाभन्दै सयौं वर्ष बितिसकेको छ। अब सबै नेपाली एक भएर जातीय भाइस विरुद्धको साझा अभियानमा लाग्नुपर्छ। ताकि हाम्रो भावि सन्ततिलाई जातीय पिडा नदोहोरियोस्। एउटै समाजभित्र समाजिक दुरीको अवधारणा नहोस्।
आजको जस्तो समाजिक लकडाउन, आइसोलेसन, क्वारेन्टाइनको अवधारणा मानिसको मानसपटलमा नआहोस्। मानिस माथिको विभेदको अन्त्यका लागि समाजिक भाइरस, मनुवादी भाइरसको अन्त्यको लागि आम नेपाली एक हुनुपर्छ। सारा विभेदकारी भाइरलाई पराजित गर्नुपर्छ। अनिमात्र स्वस्थ्य समाजको कल्पना गर्न सकिन्छ।