दिलबहादुर छत्याल/धनगढी
बिरा गडाल/बैतडी
अरूण बम/डोटी
चैतको दोश्रो सातातिर कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पछि भारतबाट आएका हजारौ नेपालीहरु घर घर पुगिसकेका थिए। त्यतीवेला स्थानीय तह धमाधम क्वारेन्टाइन निर्माणमा जुटे।
सरकारले लकडाउन गरेपछि सुदूरपश्चिमको धनगढीको त्रिनगर र महेन्द्रनगरको गड्डाचौकीमा जम्मा भएका १ हजार ५ सय बढी जनालाई चैत ११ गते प्रशासनले नै क्वारेन्टाइनमा अनिवार्य बस्ने भन्दै घर जान दियो। ती मध्ये धेरैजसो स्थानीय तहले बनाएका बिभिन्न क्वारेन्टाइनमा बस पनि कयौ जना घर घर गए।
लकडाउनपछि लुकिछिपी आएका र भारतबाट पहिले आएका मध्य केही व्यक्तीलाई ल्याएर पनि क्वारेन्टाईनमा राखियो। सबै गरेर अहिले सुदूरपश्चिमका ९ जिल्लामा क्वारेन्टाईनमा २ हजार ४ सय ८ जना छन्। संभावित मान्छे आफूपनि सुरक्षित होस र यदी संक्रमण भएको भए अरुलाई पनि नसार्न सकोस भनेर क्वारेन्टाइनमा राख्ने गरिएपनि याहाँका क्वारेन्टाइन र क्वारेन्टाईनमा बस्नेको कथा बेग्लै छ।
विश्व स्वास्थ्य संगठनको मापदण्डको कुरा त छोडौं कुनै कुराको सावधानी नअपानाई कोचाकोच गरेर, २/३ जनाले एउटै सिरक ओढ्ने, सामूहिक रुपमा बस्ने, खाने गरी भारतबाट फर्केकालाई क्वारेन्टाइनमा राखिएको छ। अहिले जसरी क्वारेन्टाइनमा राखिएको छ। त्यो गलत भएको र त्यसले बढी जोखिम बढाउने बिज्ञहरुले बताएका छन्।