न्यूजील्यान्डका स्वास्थ्यमन्त्री डा डेभिड क्लार्कले देशव्यापी लकडाउनका नियमलाई उल्लंघन गर्दै परिवारलाई लिएर घरबाट २० किलोमिटर परको समुद्री किनार गएको पाइएपछि पद घटुवा गरिएको छ ।
अघिल्लो साता क्लार्कलाई डुनेडिनस्थित घरबाट दुई किलोमिटर पर माउन्टेन बाइक चढेर गएको देखिएको थियो । उनले सबै न्युजील्यान्डवासीलाई घरैमा बस्न भनिएको बेलामा आफूले गलत काम गरेको भन्दै घटनाको पश्चात्ताप गरे ।
त्यससँगै आफूले मूर्खतापूर्ण निर्णय लिँदै परिवारलाई कारमा राखेर २० किलोमिटर परको डक्टर्स पोइन्ट किनारमा लगेको खुलासा पनि उनले गरे ।
लकडाउन नियमअनुसार, सरकारी कारहरू खानेकुरा वा औषधि जस्ता अत्यावश्यक वस्तु खरिद गर्नका लागि मात्र उपयोग गर्नुपर्छ । अनि व्यायाम पनि आफूवरिपरिको क्षेत्रमा मात्र गर्नुपर्छ ।
आफूले लकडाउनको उल्लंघन गरेको भन्दै उनले प्रधानमन्त्री जासिन्दा आर्डर्न समक्ष राजीनामा दिएको भए पनि उनले स्वीकार गरिनन् ।
अहिले कोभिड–१९ विरुद्ध एक्यबद्ध भएर लड्नुपर्ने भएकाले स्वास्थ्यमन्त्रीको राजीनामा स्वीकार नगरिएको उनले बताइन् ।
तर स्वास्थ्यमन्त्रीलाई पद घटुवा गरेर मन्त्रिपरिषद्को सबभन्दा कनिष्ठ दर्जामा झारिएको छ ।