जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले महाव्याधिका रुपमा संसारभर फैलिएको प्राणघातक रोग कोरोना भाइरसलाई जित्ने सबैभन्दा ठूलो औषधि आत्मवल भएको उल्लेख गरेका छन् ।
दह्रो आत्मबलकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्राणघातक राेगलाई जितेकाे, युवा अवस्थामै घाँटीको क्यान्सर भएका पूर्वप्रधानमन्त्रीहरू बीपी कोइराला वृद्धावस्थासम्म बाँचेको र गिरिजाप्रसाद कोइरालाले फोक्सोका क्यान्सरलाई पराजित गरी दीर्घायु बाँचेको दृष्टान्त उनले दिएका छन्। क्यान्सरकै कारण दुई वर्ष मात्र बाँच्ने भनिएका साहित्यकार जगदीश घिमिरे सात वर्ष बाँचेर मदन पुरस्कार पाउने कृति लेखेको उदाहरण प्रस्तुत गरेका छन् ।
आफ्नो फेसबुक पेजमा आत्मबलका कारण रोगलाई जितेका उदाहरण प्रस्तुत गर्दै उनले उल्लेख गरेका छन्, 'मनिषा कोइराला, डिप्रेसन जितेकी दीपिका पादुकोणदेखि हजारौँ र लाखौँ व्यक्तिहरु छन्, जो मृत्युको मुखबाट फर्किएर आफ्नो जीवन सार्थक बनाएका थिए।"
डा. पाण्डेले कोरोना कम प्राण घातक रोग भएको तथ्य पनि प्रस्तुत गरेका छन् । उनका अनुसार, कोरोना भाइरस लागेपनि ८५ प्रतिशत व्यक्तिलाई सामान्य लक्षण देखिएर आफैँ निको हुन्छ । ७(८ प्रतिशत अस्पताल बसेर सामान्य उपचार पछि स्वस्थ हुन्छन् भने ७(८ प्रतिशत आइसीयु तथा भेन्टिलेटरमा उपचार गर्नुपर्ने हुनसक्छ ।
अहिले संसारका पचासौं ल्यावमा कोरोना संक्रमणविरुद्धको खोप तथा औषधि पत्ता लगाउन वैज्ञानिकहरु निरन्तर लागिरहेको बताउँदै नयाँ खोप परिक्षणको चरणमा रहेको उल्लेख गरेका छन् । उनले सार्स, मर्स लगायत भाइरल रोगमा चलाइएका औषधि, मलेरिया तथा बाथमा प्रयोग हुने औषधि तथा सेकेण्डरी इन्फेक्सनको लागि एन्टिबायोटिकको सफल प्रयोग भइरहेकोले डर मान्नुपर्ने अवस्था नभएको बताए ।
डा. पाण्डेको विचारको पूर्ण पाठः
कोरोनालाई आत्मवलले जित्न सकिन्छ: डा. रवीन्द्र पाण्डे
- राजनीतिज्ञ तथा साहित्यकार बीपी कोइरालालाई युवाअवस्थामै घाँटीको क्यान्सर भयो । त्यो बेला अहिलेजस्तो परीक्षण र उपचार सुलभ थिएन । यही अवस्थामा उनले महत्वपूर्ण राजनैतीक तथा साहित्यिक उचाइ पाए । उनका सिर्जनामा कतै पनि क्यान्सरको पीडा तथा हीनताबोध देखिएन । बोली मसिनो हुँदै नसुने हुनेबेलासम्म उनी अनबरत संघर्षमा रहे । उनीसँग भएको प्रचुर आत्मवल नै उनको सुखायु तथा दीर्घायुको कारण बन्यो ।
- पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई फोक्सोको क्यान्सर थियो । तत्कालीन अवस्थामा उनी जति सक्रिय नेपाली कांग्रेसमा कोही पनि थिएन। एकपटक उनी प्रोस्टेट ग्रन्थीको अप्रेसन गर्न बैंकक गए । आज जस्ताे उनको अप्रेसन भयो । भोलिपल्ट उनी ठम-ठम हिंड्दै हाम्राे एयरपोर्टमा सलामी ग्रहण गरे । जतिसुकै बिरामी भएपनि उनी सुकिलो भएर बस्थे । यो सबै आत्मवलको कारण सम्भव भएको थियो ।
- हाम्रा प्रधानमन्त्री केपी शर्माओली जेलमा बस्दा अल्सर र आन्द्राको टीबीले ग्रस्त भएका थिए । देख्ने जो कोहिले पनि उनी बाँच्छन् भनेर कल्पना पनि गर्दैनथे । उनमा भएको विशाल आत्मवलको कारण उनी बाँच्न सफल भए । दुई दुई पटक मिर्गौला प्रत्यारोपण गरे, दर्जनौं पटक डाइलाइसिस गरे, अचानक एपेन्डिक्स फुटेर तथा पेटभरी फैलिएर निकै गम्भीर अवस्थामा पुगे । तुरुन्त शल्यक्रिया गरेर उनी बाँचे । उनको दुर्लभ कुशलताको मुख्य कारकतत्व आत्मबल नै हो ।
.
- २ वर्ष आयु तोकिएका साहित्यकार जगदीश घिमिरेले मृत्यु शैय्यामा अन्तर्मनको यात्रा लेखे । त्यो पुस्तकले उत्तम शान्ति पुरस्कार तथा मदन पुरस्कार पायो । उनी साहित्यिक सेलिब्रिटी बने । बोलाएका सबैजसो क्रार्यक्रममा गए। लेखनलाई निरन्तरता दिए। अनुजलाई प्रोत्साहन दिए । सकस उपन्यास लेखे । पुराना पुस्तकलाई पुनमुद्रण गरे । 'तामाकोशी सेवा समाज' मार्फत् उनले मन्थलीमा पुर्याएको योगदान अनुकरणीय छ । २ वर्ष पाएको आयुलाई उनको व्यस्तता तथा आत्मबलको कारण उनी ७ वर्ष बाँचे ।
क्यान्सर जितेकी यशोदाकृष्ण श्रेष्ठ भाउजू, मनिषा कोइराला, डिप्रेसन जितेकी दीपिका पादुकोणदेखि हजारौँ र लाखौँ व्यक्तिहरु छन्, जो मृत्युको मुखबाट फर्किएर आफ्नो जीवन सार्थक बनाएका थिए, बनाइरहेका छन् । ती हाम्रा रोल मोडेल हुन् । कतिपय व्यक्ति यस्ता हुन्छन् जो सानो समस्यासंग पनि डराएर, आत्तिएर मनोरोगी बनेका छन्, कमजाेर बनेका छन् तथा आत्महत्यासम्म गरेका छन्।
अहिले विश्वव्यापी महामारीको रुपमा संसारलाई मुठीमा राखेको कोरोना भाइरसको कारण सतर्क हुँदै आफ्नो काम गर्ने धेरै छन् । उनीहरुले यसको सहि जानकारी राखेका छन् तसर्थ यो समय छिटो बित्नेमा उनीहरु ढुक्क छन् । यहि फुर्सदको समयमा उनीहरुले भविष्यको खाका कोरेका छन् । अर्कोथरिका मान्छे यति धेरै आत्तिएका छन् कि उनीहरुले जीवनको अँध्यारो बाहेक केहि देखेका छैनन् । कोरोना भाइरस लागेपनि ८५ प्रतिशत व्यक्तिलाई सामान्य लक्षण देखिएर आफैँ निको हुन्छ । ७-८ प्रतिशत अस्पताल बसेर सामान्य उपचार पछि स्वस्थ हुन्छन् भनेर ७-८ प्रतिशत आइसीयु तथा भेन्टिलेटरमा उपचार गर्नुपर्ने हुनसक्छ । त्यसको आधिलाई मात्र खतरा हुन्छ ।
.
अहिले संसारका पचासौं ल्याबमा कोरोना संक्रमणविरुद्धको खोप तथा औषधि पत्ता लगाउन वैज्ञानिकहरु निरन्तर लागिरहेका छन् । नयाँ खोप परिक्षणको चरणमा छ । सार्स, मर्स लगायत भाइरल रोगमा चलाइएका औषधि, मलेरिया तथा बाथमा प्रयोग हुने औषधि तथा सेकेण्डरी इन्फेक्सनको लागि एन्टिवायोटिकको सफल प्रयोग भइरहेको छ । एक देशले अर्को देशलाई सहयोग गरिरहेका छन् । कोरोना संक्रमण शिखरमा पुगेकोले अब ओर्लने क्रममा छ । तसर्थ डर मान्नुपर्ने अवस्था छैन ।
..
हामीले आफ्नो जीवनचक्र बुझ्ने हो भने पनि डर मान्नुपर्ने कारण देखिदैन । जन्म, वृद्धि, क्षय तथा मृत्युको चक्र हामी सबैले पूरा गर्नुपर्छ । यसमा कोहि पनि अपवाद रहन सक्दैन । मृत्युको डर हो भने मृत्यु कोरोना भाइरसमा मात्र लुकेको हुँदैन । मृत्यु त हाम्रो पलपलमा रहेको छ । कसको के कारण कहिले मृत्यु हुन्छ भन्ने कुरा कसैलाई केहि थाहा छैन ।
त्यस्तै जन्म र मरण हाम्राे हातमा छैन भन्ने हो भने आफ्नो हातमा नभएको कुरामा के को डर ? हामी रंगमंचका पात्र हौँ भने आफ्नो भूमिका निभाउनु हाम्राे कर्तव्य हो । शास्त्रमा भनेको छ – आत्मा न जन्मन्छ, न मर्दछ । जसरी हामीले कपडा फेर्छौं त्यसरी नै आत्माले शरीरलाई फेर्ने हो ।
हामी सबैको आत्मवल सगरमाथा जस्तै उच्च होस् । यो उचाइ कायम गर्नको लागि पाइला पाइलामा सतर्क बनौं । चिन्ता होइन, चिन्तन गरौँ ।
त्यति सजिलै कहाँ मरिन्छ ?