बिछट्टको जासुस हो । कला बरफबाग, सीआईए वा केजीबी टाइपको कपटकारी र धूर्त जासुस किमार्थ होइन । कला त अन्तर्यामी जासुस हो । कला मर्मस्पर्शी जासुस हो । कला करुणामयी जासुस हो । त्यसो त कला वेदना विरेचनकारी जासुस पनि हो । कला सूक्ष्म संवेदना एवं तीक्ष्ण अन्तरदृष्टिका माध्यमले सुटुक्क मानव हृदयको अन्तस्तलमा प्रवेश गर्छ । र, त्यो अदृश्य जगत्मा जे छ– सुख वा दुःख, शान्ति वा तनाव, पट्यार वा मस्ती– त्यसलाई चुम्बकीय शब्दमा उनेर गुणग्राही लोकसामु प्रस्तुत गर्छ । र, त्यसले मानव हृदयको चहर्याइरहेको घाउमा समभावको मलम लगाउँछ ।
ट्विटे महलका मेरा नूतन मित्र सञ्जय पौडेलको गजलले मलाई ठ्याक्कै त्यही त गर्यो । यसले मलाई प्रेमले मुसार्यो र समभावले म्वाई खायो । यसले जीवनको यो सङ्कटमा तँ एक्लो छैनस्, यो विशाल संसारमा तँसँग अरू पनि अनेक छन् भनी मलाई सम्झायो । यो गजल सञ्जय बाबुको प्रत्यक्ष अनुभूतिको अभिव्यक्ति नहुन सक्छ । यो उनले सुनिजानेको वा पढिजानेको सापटी अनुभूतिको नतिजा हुनसक्छ । तर मेरो भने यो खसोखास प्रत्यक्ष अनुभूति हो । प्रत्यक्ष, कष्टकर र बीभत्स अनुभूति । भन्ने भुक्तभोगीलाई भन्न गाह्रो, सुन्ने जिज्ञासुलाई सुन्न गाह्रो । तथापि जसोतसो यो भोगियो र अब यहाँ यो भनिन्छ ।