आँपको राजधानी मानिने सिरहा र सप्तरीमा यो वर्ष बढी उत्पादन हुने विश्वास लिएका किसानले आँपको मजुरा (फूल)मा मधुवा किराले व्यापक क्षति पु¥याउन थालेपछि चिन्तित बनेका छन्।
आँप उत्पादनको दृष्टिकोणले यो वर्ष बढी आँप उत्पादन हुने भए पनि आँप फल्नुआगावै मधुवा किराले मजुरालाई सखाप पार्न थालेपछि किसान चिन्तित बनेका हुन्। मधुवा किरा मार्न कुन औषधि कसरी छर्किने भन्ने कुरा थाहा नपाउँदा समस्या भएको सिरहाको गोलबजार नगरपालिका– ७ का किसान श्यामसुन्दर चौधरीले बताए।
यस वर्ष आँप राम्रो फल्ने समय भए पनि मधुवा किराले आँपको मजुरालाई क्षति पु¥याउन थालेपछि अपेक्षाकृत रुपमा आँप नफल्ने चिन्ता बढेको उहाँको कथन छ। आँपको राजधानी मानिने सिरहा र सप्तरीमा फल्ने आँप मुलुकको विभिन्न शहरका साथै भारतलगायतका अन्य छिमेकी मुलुकमा निर्यात हुँदै आएका छन्।
'यसपालि पातभन्दा बढी मजुरा थियो तर मधुवा किरा लागेर कालो हुन थालेको छ', सप्तरीको सितापुरका किसान राजेन्द्र विश्वकर्माले भने, 'मधुवा किराले कमजोर पारेकाले हावा चल्नेबितिकै मजुरा झर्न थालेको छ, समयमै औषधि छर्किन पाए मजुरा बचाउन सकिन्छ।' तर यसबारे बुझ्न लकडाउनका कारण कृषि कार्यालयसम्म पुग्न नसकिरहेकाले समस्या भएको उनको कथन छ।
आँपको पकेट क्षेत्रका रुपमा पूर्वपश्चिम राजमार्गसँग टाँसिएको सिरहाको जिरोमाइल, गोलबजार, मिर्चैया तथा सप्तरीको कञ्चनपुर, रुपनगर, सितापुर, महुली, कल्याणपुर, कुशहा, लोहजार, जण्डौल, हरिपुरलगायत छन्। यस क्षेत्रमा आँपको घना बगैँचा छन्।
आँपको पकेट क्षेत्रमा मधुवा किराले मंजुरामा पु¥याएको क्षतिबारे किसानबाट गुनासो आएको र सोही आधारमा मधुवा किराबाट आँपको मजुरा जोगाउन एफएम रेडियोबाट जानकारी दिइरहेको कृषि ज्ञान केन्द्र राजविराजका सूचना अधिकारी दिनेश यादवले बताए।
'किरा हावा र माटोका माध्यमबाट एक बोटबाट अर्काे बोटमा सर्ने गरेको छ', उनले भने, 'मुलुकमा लकडाउन जारी रहेकाले एफएम रेडियोबाटै आँपलाई मधुवा किराबाट जोगाउन किसानलाई आवश्यक परामर्श दिइरहेका छौँ, यो जानकारी पाएर किटनाशक औषधि छर्किए मधुवा किराको प्रकोप धेरै हदसम्म नियन्त्रणमा आउन सक्छ।'
मधुवा किरा र सुख्खा मौसमका कारण आँपको मञ्जरीमा क्षति भइरहेकाले पानीसँगै किटनाशक औषधि छर्किए यस वर्ष बढी आँप उत्पादन हुने सूचना अधिकारी यादवको भनाइ छ। यस वर्ष मञ्जरी सप्रियो भने दुई अर्बभन्दा बढी मूल्य बराबरको आँप उत्पादन हुने सम्भावना रहेको अनुमान गरिएको छ।
सिरहामा गत वर्ष पाँच हजार १७० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर एक दशमलव पाँच प्रतिशतका दरले सात हजार ७५५ मेट्रिकटन आँप उत्पादन भएको थियो। यस्तै सप्तरीमा कूल पाँच हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर एक दशमलव पाँच मेट्रिक टनका दरले सात हजार मेट्रिक टन आँप मात्र उत्पादन भएको थियो।