सरकारले गरेको लकडाउनका मारमा परेका आफ्ना नागरिकलाई सहज र सहुलियत दरमा तरकारी उपलब्ध गराउने उद्देश्यका साथ लहान नगरपालिकाले सहुलियत पसल सञ्चालन गरेको छ।
कोभिड– १९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनकाबेला किसानबाट उत्पादित तरकारी खरिद गरी सहज र सहुलियत दरमा उपलब्ध गराउन नगरपालिकाको कृषि शाखाले सहुलियत पसल सञ्चालन गरेको हो।
नगरवासीलाई सहजरुपमा तरकारी उपलब्ध गराउन सहुलियत पसल सञ्चालन गरेको लहान नगरपालिका कृषि संयोजक प्रदीप चौधरीले जानकारी दिए। लहान नगरपालिका– ७ स्थित राममन्दिरको अगाडिबाट शुरु गरिएको सहुलियत पसल लहानको अस्पताल चोक, शहीद चोकमा सामाजिक दूरी कायम गरिने गरी बिक्रीवितरण गरिने संयोजक चौधरीले बताए।
किसानबाट खरिद गरी प्रतिकिलो भन्टा रु १०, बन्दा काउली रु २०, हरियो खुर्सानी रु १००, साग रु ४०, काँक्रा रु २०, धनियाँ रु ४०, पालक साग रु ६०, लसुन रु १६० का दरले सहुलियत पसलबाट बिक्रीवितरण शुरु गरिएको संयोजक चौधरीको भनाइ छ।
यस्तै टोलटोलमा किरानाका अत्यावश्यक सामान शहरी र ग्रामीण क्षेत्रमा पु¥याउन उद्योग वाणिज्य सङ्घ लहान सिरहाका अध्यक्ष अशोकलाल अमात्यसहितका पदाधिकारीसँग आग्रह गरेको लहान नगरपालिकाका नगरप्रमुख मुनी साहले बताए।