नेपाली काँग्रेसद्वारा रु ४० लाख प्रदान 

रासस

जनकपुरधाम

प्रदेश नं २ को सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्थापना गरेको राहत कोषमा नेपाली काँग्रेसले आज रु ४० लाख ७५ हजार प्रदान गरेको छ।

नेपाली काँग्रेसका प्रदेश नं २ स्थित आठवटै जिल्ला कार्यसमितिकोतर्फबाट नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाराले उक्त रकम बराबरको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरणका क्रममा नेपाली काँग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादव, नेपाली काँग्रेस बाराका सभापति जयचन्द्र चौरसिया, कोषाध्यक्ष चन्द्रशेखरकुमार यादवसहितको उपस्थिति रहेको थियो।

त्यस्तै सो उपचार कोषमा आज लक्ष्मी बैंकले रु १० लाख र सिभिल बैंकले रु पाँच लाख प्रदान गरेको छ। ती दुवै बैंकका प्रतिनिधिले छुट्टाछुट्टै कार्यक्रममा मुख्यमन्त्री राउतलाई चेक हस्तान्तरण गरेका हुन्। उक्त कोषमा अहिलेसम्ममा रु एक करोड छ लाख ७५ हजार जम्मा भइसकेको छ र सोबाहेक भाटभटेनी सुपर मार्केटले सो कोषमा रु २५ लाख दिने घोषणा गरेको मुख्यमन्त्री राउतको प्रेस संयोजक आतिस मिश्रले जानकारी गराएका छन्।

प्रकाशित मिति: : 2020-04-06 17:14:17

प्रतिकृया दिनुहोस्